२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

मुगुको दलित बस्ती पहिरोको जोखिममा

३५ घर रहेको रावलबाडा बस्ती पहिरोको उच्च जोखिममा छ । स्थानीय सरकारले भने बस्तीलाई सुरक्षित स्थानमा सार्न चासो देखाइरहेको छैन ।
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकास्थित रावलबाडा गाउँका ३५ दलित परिवारका घर पहिरोको उच्च जोखिममा छन् । कर्णाली नदीले बर्षेनि गाउँको तलबाट कटान गर्दै लगेपछि जमिन भासिँदै जाँदा माथि रहेका ३५ परिवारका घरसहित खेतीयोग्य जमिन जोखिममा परेका छन् ।

मुगुको दलित बस्ती पहिरोको जोखिममा

पहिरोले ३५ घर उच्च जोखिममा रहेको रावलबाडा गाउँका जाड नेपालीले बताए । वर्षा लागेपछि त्रासले राति निद्रा नलाग्ने र जाग्राम बस्ने गरेको नेपालीको दु:खेसो छ । बर्षेनि तलबाट जमिन भासिँदै जाँदा पहिरो गाउँसम्मै पुग्न थालेपछि दलित परिवारहरू पुर्ख्यौली थलो नै छाडेर बसाइँ सर्न थालेका छन् ।

रावलबाडा गाउँको मुनितिरबाट पनि जमिन भासिँदै गएको र गाउँको वरपर पनि खहरे खोलाले जमिन कटान गर्न थालेपछि आफूहरूको बिचल्ली हुने अवस्था आएको भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

'गाउँ नै बग्न थालिसक्यो । अन्यत्र जाने ठाउँ पनि छैन । जोखिममा बस्नु परेको छ । तलबाट जमिन बग्न थालेपछि धान गहुँ उत्पादन हुने खेतीयोग्य जमिन पनि चिरा परेर काम नलाग्ने भएको छ । अर्कोतिर गुल्मा सिँचाइ आयोजनाको नहरले पनि रावलबाडा गाउँ उच्च जोखिममा पारेको छ,' रावलबाडाका बुद्धिसिंह नेपालीले भने ।

यसैबीच बस्ती नै अन्यत्र सारेर ज्यानको सुरक्षा गरिदिन स्थानीय सरकारसँग बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ । 'हाम्रो मागको सुनुवाइ भएन । कहिले बगेर कर्णाली नदीमा मिसिने हो थाहा छैन,' स्थानीय दानसिंह नेपाली भन्छन् । यसअघि नेताहरू गाउँमा पुगेर बस्ती सारिदिने आश्वासन दिए पनि बिर्सिने गरेको गाउँलेहरू बताउँछन् ।

यस्तैमा पछिल्लो समय पहिरोको त्रासले अधिकांश दलित परिवारहरू गाउँ छाडेर पलायनसमेत हुन थालेका छन् । वडाध्यक्ष गोर्खबहादुर मल्लले भने जोखिममा रहेको रावलबाडा बस्तीलाई अन्यत्र स्थानान्तर गर्नु आवश्यक रहेको बताउने गरेका छन् । तर उनले पनि ठोस् पहल गर्न तत्परता नदेखाएको स्थानीयको गुनासो छ ।

प्रकाशित : भाद्र २५, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?