कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

शिक्षक माग्दै बागचौरका चार विद्यालय र वडा कार्यालय विद्यार्थीद्वारा तालाबन्दी 

अनुदानका शिक्षक हटाएको नगरपालिकाले शिक्षकको नयाँ भर्ना अघि बढाउन अलमल गर्दा एक महिनादेखि पठनपाठन प्रभावित
विप्लव महर्जन

सल्यान — शिक्षक अभावमा पढ्न नपाएको भन्दै आक्रोशित विद्यार्थीले बागचौर नगरपालिकाका चार विद्यालय र एउटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बानपा–३ चोरपानीको  अमरज्योति मावि, वडा ६ जामुनेचौरको  सरस्वती मावि,  ११ नम्बर वडा कार्यालयसँगै त्यहाँका शिशु कल्याण मावि र सहिद भरत स्मृति विद्यालयमा सोमबार ताला लगाइदिएका हुन् । 

शिक्षक माग्दै बागचौरका चार विद्यालय र वडा कार्यालय विद्यार्थीद्वारा तालाबन्दी 

नगरपालिकाले अनुदानमा भर्ना गरेको शिक्षक हटाएको छ । नयाँ नियुक्तिका लागि पदपूर्तिको प्रक्रियालाई तीव्रता नदिँदा धेरै विद्यालयमा शिक्षक अभाव छ । धेरै विद्यालयमा विषयगत शिक्षक अभाव छ ।

विद्यार्थीले केही दिनअघि विद्यार्थीले टाटकेस्थित बालकल्याण मावि समेत तलाबन्दी गरेका थिए । सहिद भरत स्मृति विद्यालयमा भने नगरपालिकाले शिक्षक उपलब्ध गराउन नसकेको भन्दै विद्यार्थीअघि विद्यालय व्यवस्थापन समितिले नै तालाबन्दी गरेको थियो ।

नगरपालिकाले शिक्षक पदपूर्तिका लागि परीक्षासमेत नगर्दा पढ्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् । नगरपालिकाले शिक्षकको व्यवस्था नगरेसम्म विद्यालय खोल्न नदिने उनीहरुले बताएका छन् ।

विद्यार्थीहरुका अनुसार सरस्वती माविमा अनुदान र निजी स्रोतका ६ जना, अमरज्योति माविमा नेपाली, गणित र सामाजिक गरी ३ र शिशु कल्याण माविमा ३ जना शिक्षक अभाव छ । शिक्षक नभएर एक महिनादेखि पठनपाठन नभएको विद्यार्थीको गुनासो छ । सरस्वती माविका विद्यार्थी दुर्गाराम ओलीले अझै ढिला गरे नगरपालिकासमेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

सरस्वती माविका प्रधानाध्यापक धनवीर ओलीले विद्यालय व्यवस्थापन स्थानीय तहको काम भएकाले विषयगत शिक्षक अभाव हटाउन जनप्रतिनिधिले चासो राख्नुपर्ने बताउँछन् । ‘नगरपालिकाले शिक्षक पदपूर्ति गरेन, विद्यालयले चाहेर पनि निजी स्रोतबाट राख्नसक्ने आयस्रोत छैन,’ उनले भने । पठनपाठन प्रभावित भएका कारण विद्यार्थीले तालाबन्दी गरेपछि अभिभावक भेला बोलाएर समस्या समाधानको प्रयास गरे पनि सफल नभएको उनले बताए ।

सहिद भरत स्मृति विद्यालयका अभिभावक बलबहादुर ओलीले नगरपालिकाले अनुदानका शिक्षक हटाउँदा विकल्प नसोचेका कारण अहिलेको समस्या आएको बताए । ‘विद्यालय तालाबन्दी समाधान होइन,' उनले भने, 'बरु नगरपालिकामा गएर शिक्षक भर्नाका लागि दबाब दिँदा ठिक हुन्थ्यो ।’

बागचौर नगरपालिका प्रमुख जनकराज गौतम भने अनुदानका शिक्षकलाई तलब खुवाउन गाह्रो भएपछि हटाइए पनि ‘एक कक्षा एक शिक्षक’को अवधारणा ल्याएर अभाव पूर्तिको प्रयास भइरहेको बताउँछन् । शिक्षक भर्नाका लागि पहिलो चरणको छनोट परीक्षा सम्पन्न गरेर दोस्रो चरणको परीक्षा बाँकी रहेको उनले बताए ।

‘परीक्षाका प्रक्रिया पुरा गरेर छिटै शिक्षक पदपूर्ति गर्न गम्भीर छौं,’ उनले भने । दबाब दिनका लागि विद्यालय नै बन्द गरिनु अनुचित भएकाे उनले बताए । आफूखुसी नभइ राजनीतिक हस्तक्षेपका कारण बालबालिकालाई विद्यालय बन्द गराउन अघि सारिएको आरोप उनले लगाए । ‘विद्यालय खोलेर पठनपाठन सुरु गर्न आग्रह गरेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ११, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×