कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२५

मुगुमा एक सातादेखि हवाई सेवा अवरुद्ध

राजबहादुर शाही

मुगु — जिल्लामा एक सातादेखि हवाई सेवा अवरुद्ध हुँदा सर्वसाधारण यात्रुदेखि बिरामीलाई सास्ती भएको छ । बिहान खराब मौसम र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणको प्रतिबन्धले गर्दा मुगुमा एक सातादेखि हवाई उडान हुन नसकेको हो ।

मुगुमा एक सातादेखि हवाई सेवा अवरुद्ध

हवाई उडान नहुँदा मुगुदेखि नेपालगन्ज जाने यात्रु र नेपालगन्ज-सुर्खेतदेखि मुगुतर्फ आउने यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

'जहाज कुर्दै एक साता बितिसक्यो,' तेजबहादुर मल्लले भने, 'वर्षाले सडक यातायात जोखिम छ। बिहान एयरमा कुहिरो लाग्छ । दिउँसो प्राधिकरणको नियम लाग्छ । कसरी हामी गन्तव्यमा पुग्ने ।' जहाज उड्ने आसले यात्रुहरु झोवा बोकेर एयरमा जाने १२ बजेसम्म जहाज नआएपछि फेरि घर फर्किने गरेका छन् । वर्षात्‌ले गमगढी नाग्मा सडक जोखिम भएकोले नेपालगन्ज जाने यात्रुदेखि मुगु आउने यात्रु जहाज प्रतिक्षामै दिन बित्ने गरेको छ ।

नेपालगन्जदेखि दैनिक तीन/चार वटा उडान हुने रारा विमानस्थल एक सातादेखि सुनसान छ । जिल्ला अस्पताल मुगुले रिफर गरेका बिरामीहरु जहाज कुर्दै एयरपोर्टमा बस्न बाध्य छन् । एक सातादेखि हवाई उडान नहुँदा यात्रु मारमा परेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

'मुगु रारा विमानस्थलमा दिउँसो १२ बजेपछि मौसम खुल्छ, प्राधिकरणको नियमले उडान हुन सक्दैन,' विमानस्थल प्रमुख रुमन भट्टराईले भने । बर्खाको बेला खराब मौसम र प्राधिकरणको नियमले मुगुमा हवाई उडान गर्न मुस्किल हुने उनले जनाए ।

कर्णाली पर्यटन उद्यमी समाजले प्राधिकरणको नियमप्रति सांकेतिक विरोध गर्न कर्णालीवासीलाई आग्रह गरेको छ । 'प्राधिकरणको गलत निर्णयले कर्णालीवासीलाई सास्ती भयो, बिरामीको ज्यान जान थाल्यो,' समाजका अध्यक्ष देवीकृष्ण रोकायाले भने, 'प्राधिकरणले यो नियम खारेज गर्नु पर्छ ।'

प्रकाशित : श्रावण २८, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×