सिमकोटमै थन्किए लिमीका पाठ्यपुस्तक

जनकबहादुर शाही

हुम्ला — हिमाल पारिको गाउँ लिमीका विद्यालयमा लगिने पाठ्यपुस्तक सदरमुकाम सिमकोट थन्किएका छन् । लिमी जाने ५ हजार मिटर अग्लो न्यालु लेकमा हिउँ जमेकाले लिमीका विद्यालयका लागि सदरमुकाम सिमकोटसम्म पुगेका पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउन समस्या भएको नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । 

लिमीका सुनखानी र भृकुटी आधारभूत विद्यालयका १ सय २ जना विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्नैलाग्दा पनि पाठ्यपुस्तक नपाएको स्थानीयले गुनासो गरेका छन् । भौगोलिक विकटताले गर्दा लिमीका विद्यालयमा पाठ्यपुस्तक नपुगेको हो । विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक नपुगेकाले तिब्बतीय भाषाका पुस्तक र पुराना च्यातिएका पुस्तकबाट विद्यार्थीलाई पठनपाठन गराउनु परिरहेको वडाध्यक्ष तामाङले बताए ।

लिमी जाने बाटोमा हिउँ जमेकाले पाठ्यपुस्तक ल्याउन नसकिएको भृकुटी आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले बताए । बालविकासदेखि ५ कक्षासम्म पठनपाठन हुने भृकुटी आविमा ५१ जना विद्यार्थी छन् । सबै कक्षाका पाठ्यपुस्तक विक्रेताबाट आफूले बुझेको भए पनि बाटो नखुल्दा विद्यालयमा पुर्‍याउन नसकिएको प्रअ बुढाको भनाइ छ । लिमी जाने बाटो खुलाउन वडा र गाउँपालिकासँग अनुरोध गर्दा पनि अहिलेसम्म कसैले चासो नदेखाएको बताए ।

सुनखानी आधारभूत विद्यालयका ५१ जना विद्यार्थीले पठनपाठन गर्ने ५१ सेट पाठ्यपुस्तक बाटो बन्द हुँदा बुझ्न कोही नआएकाले गोदाममै रहेको पाठ्यपुस्तक बिक्रेता रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले बताए ।

लिमी जाने बाटो खुलाउने प्रयास भइरहेको र बाटो खुलेपछि मात्र पाठ्यपुस्तक लिमी पुर्‍याउन सकिने नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए । उनका अनुसार जिल्लाका अन्य विद्यालयमा भने पुस्तक पुगिसकेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० २१:२२
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी अधिकारी पुरस्कृत

कान्तिपुर संवाददाता

विराटनगर — यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कोशी प्रदेशस्तरीय उक्त पुरस्कार बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा अधिकारीलाई हस्तान्तरण गरिएको हो । चौतारीको वार्षिक साधारणसभाको अवसर पारेर पत्रकार अधिकारीलाई सम्मान गरिएको प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदीप कोइरालाले जनाए । उनलाई प्रतिनिधिसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डेलगायतले सम्मानपत्र, दोसल्लासहित नगद २१ हजार रुपैयाँबाट सम्मान गरेका थिए ।

करिब तीन दशक पत्रकारिता पेसामा सम्लग्न अधिकारी कान्तिपुर दैनिकका उपसम्पादकको रुपमा कार्यरत छन् । अधिकारीले श्रमजीवी पत्रकारको रुपमा निरन्तरता दिएको कारण आफू सम्मानित हुन पाएको उल्लेख गरे । उनले पेसागत मर्यादा र आवाजविहीनका आवाज उठाउने जिम्मेवारी वहन गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

२०७७ सालदेखि सुरु गरिएको पुरस्कार पहिलो वर्ष मोरङका पत्रकार यज्ञ शर्मा र अघिल्लो वर्ष सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई प्रदान गरिएको थियो । प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा आठ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० २१:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×