कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलुमा आत्मनिर्भर बन्दै जुम्लाको रिनी

डीबी बुढा

जुम्ला — जुम्ला पातारासी ७ रिनी गाउँकी देवकी थापा ५० केजीको आलुको भारी बोकेर बिहानै सदरमुकाम खलंगा आइपुग्छिन् । प्रतिकेजी २० रुपैयाँमा आलु बेचेर घर फर्किने उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन् ।

आलुमा आत्मनिर्भर बन्दै जुम्लाको रिनी

वर्षमा न्यूनतम ५० क्विन्टल आलु फलाउँदै आएकी देवकीको परिवार आलु बेचेर घर खर्च चलाउँदै आएको छ । आलु बेचेको वार्षिक कमाइ एक लाख रुपैयाँ हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘गाउँमा आलु उत्पादन धेरै हुने गरेको छ । तर नजिकै बजार नहुँदा समस्या छ ।’

रिनी गाउँको आलुले सदरमुकाम खलंगा धानेको छ । आलुको मूल्य निकै सस्तो छ । भने जस्तो मूल्य पाइँदैन । तर आलुको मूल्य कम भए पनि उत्पादन धेरै हुने भएकाले यहाँका किसानहरु आलुखेतीमा हौसिएर लागिरहेका छन् ।

आलु लगाएर कुनै पनि जमिन बाँझो राखेका छैनन् । रिनी गाउँकै लछिमान खड्का आलु बेचेर वार्षिक ५० हजार कमाइरहेका छन् । आलुको कमाइले घरमा मिठो मसिनो खानेकुरा किन्ने गरेका उनले बालबालिकाको पठनपाठन खर्चसमेत आलु बेचेरै गर्छन् । उनका अनुसार गाउँलेहरुले अधिकांश जमिन आलु खेती गरेर चलाइरहेका छन् । कुल १ सय ९२ परिवार रहेको रिनी गाउँका प्रत्येकले आलु खेति गरिरहेका छन् । प्रत्येक घरमा न्यूनतम ५० क्विन्टल देखि १ सय क्विन्टलसम्म आलु उत्पादन भइरहन्छ ।

रिनीका किसानहरुको अहिले पनि खाडलमा आलु राखिएको भेटिन्छ । आलु भण्डारण केन्द्र नभएकोले परम्परागत खाडल खनेर आलु राख्ने विधिको प्रयोग किसानहरुले गरिरहेका छन् । उनीहरुले भण्डारण गरेको आलुको अवस्था नियाल्दा वर्षभर जुम्लाको लागि आलुको अभाव हुँदैन । जुम्ला आलुमा आत्मनिर्भर नै रहेको बताइन्छ ।

कोदो, मकै लगाउने बारीहरु आलु खेतिले ढाकिएका छन् । आलु खरिद गर्न ब्यापारी गाउँमै पुग्छन् । उनीहरु सिजनमा रिनीबाट आलु खरिद गरेर सुर्खेत नेपालगञ्जका बजार सम्म लैजान्छन् । सुर्खेत, नेपालगञ्ज, काठमाडौं, बुटवल, नारायणघाटदेखि कर्णाली प्रदेशको कालिकोट, दैलेख, मुगु, डोल्पा, सल्यान, जाजरकोटमा समेत जुम्लाबाट आलु निर्यात हुने गरेको छ ।

बागवानी अनुसन्धान केन्द्र राजीकोटले अनुसन्धान गरेर निकालेको डेजिरे जातको आलु किसानको खेतबारीमा रोपिने गरिएको छ । आलुको तरकारी मात्र बनाइरहेका किसानहरु आलु चिप्स बनाएर बजारमा ल्याउन थालेका छन् । उनीहरुले आलु चिप्स बनाउने मेसिन गाउँमै राखेका छन् । गाउँभरको आलु संकलन गरेर चिप्स बनाएर चिप्स उद्योगका रुपमा रिनी गाउँलाई परिचित बनाउन लागिएको किसान माया खड्काले बताइन् ।

उनले भनिन्, ‘उत्पादन भएको सबै आलु बजारसम्म लैजान सकिन्छ भन्ने छैन । सानो आकारको आलुको चिप्स बनाएर प्याकेजिङ भइरहेको छ ।’ प्रति पाकेट १० रुपैयाँसम्म आलुको चिप्स सदरमुकाम खलंगासम्म आइपुग्छ ।

चिप्स बनाउन उनीहरुले तालिम लिइसकेका छन् । चिप्स बनाउने मेसिन गाउँमा जडान भइसकेको छ,' उनले भनिन्, ‘अब आलु खेर जाने छैन् । आलुबाटै गाउँको आर्थिक समृद्धि हासिल गर्ने कार्य चलिरहेको छ ।’

आलु बेचेर रिनी गाउँले वर्षेनि एक करोडभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भिमप्रकाश शर्मा रिनी गाउँमा पुगेर किसानहरुको आलु खेतीप्रतिको जागरुकता प्रशंसनीय भएको बताए ।

उनले भने, ‘आलुखेती यो गाउँको आर्थिक समृद्धिको आधार हो । गुणस्तरीय आलु फलाएर बजारमा लैजानुस् । जसकारण बजार खोज्ने कार्यमा प्रदेशसरकारले साथ दिन्छ ।’ उनले आलुका विभिन्न परिकार बनाउने मेसिनहरू समेत खरिद गरेर आलु उद्योगका रुपमा रिनी गाउँलाई चिनाउन आग्रह गरे ।

पातारासी गाउँपालिकाले पनि रिनी गाउँलाई आलु पकेट क्षेत्रका रुपमा अघि बढाएको छ । जहाँ जुन वडामा जस्तो अन्न उत्पादन भइरहेको छ । त्यही अनुसार पकेट क्षेत्र बनाइएको पातारासी कृषि शाखा प्रमुख रुपक बुढाले बताए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी आलु उत्पादनका हिसाबले पातारासी गाउँपालिका अब्बल रहेको बताउँछन् । 'आलुको उत्पादन राम्रो भइरहेको छ । तर भण्डारण गर्ने रसिक स्टोर बनाउनुपर्ने देखिन्छ । यहाँको आलुले १२ महिना नै धान्ने निश्चत छ,' उनले भने ।

प्रकाशित : जेष्ठ १०, २०८० २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?