कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सोरुकोट खाद्य डिपोमा चामल अभाव 

राजबहादुर शाही

मुगु — जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएको छ । चामल नपाएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा नै १ हजार ५ सय भएकोले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् ।

सोरुकोट खाद्य डिपोमा चामल अभाव 

गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेवित्तिकै स्थानीयले लुछाचुडी गर्ने स्थानीय बताउँछन् । 'गोदाममा चामल जगेडा रहँदैन गमगढीबाट आउनेवित्तिकै बिक्री भइहाल्छ,' डिपोका कार्यालय सहायक सिंह रोकायाले बताए ।

दिनमा ५० देखि १ सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्‍याउनै धौधौ भएको उनको भनाइ छ । डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरा समेत नपाउने अवस्था छ ।

गरिब तथा विपन्न परिवारको घरमा कार्तिके अन्नबाली चैत वैशाखमै सकिने र गहुँ, जौ बाली नपाक्दासम्म खाने अन्न नुहने हुँदा खाद्यमा चामल किन्न धाउने गर्छन् ।

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताए । उनले आउँदो आर्थिक वर्षदेखि कोटा वृद्धिको माग गरिएको बताए ।

भोकमरीले गर्दा भीई, नार्थपु, जिमा, सिप, फोतु, नेरलगायत बस्तीका स्थानीय हिजोआज खाद्यन्न लिन सोरुकोट डिपो पुग्छन् । सोरु गाउँपालिकाको केही बस्तीमा गत असोज १९ देखि २३ गतेसम्म आएको बाढीपहिरोले अन्नबाली नष्ट गरेको थियो ।


प्रकाशित : जेष्ठ ५, २०८० १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×