कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

पत्रकारको घोषणापत्रमा स्थानीय विकासको माग

तुलाराम पाण्डे

सुनथराली, कालीकोट — नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको दोस्रो साधारणसभाले जारी गरेको घोषणापत्रमा स्थानीय विकास, पर्यटन र सुशासनको विषयलाई पनि समेट्दै तिनलाई सम्बोधन गर्न आग्रह गरिएको छ । ३८ वर्षपछि निर्माण सम्पन्न भएर पनि जहाज नचलेको कोटवाडा विमानस्थलमा तत्काल नियमित उडान गर्न साधारण सभाले सरकारलाई आग्रह गरेको हो ।

पत्रकारको घोषणापत्रमा स्थानीय विकासको माग

साधारणसभाद्वारा जारी २१ बुँदे सुनथराली कोटवाडा घोषणापत्रमा पेसागत सुरक्षा र हकहितसम्बन्धी १६ बुँदा र स्थानीय पर्यटन प्रवर्द्धन, विकास निर्माण र सुशासनसम्बन्धी ५ बुँदा छन् । सशस्त्र द्वन्द्वको बेला विमानस्थल खन्न गएका ३५ कामदार मारिएको कोटवाडामा महासंघको साधारण सभा आयोजना गरिएको थियो । सभाले योगी नरहरिनाथको व्यक्तित्व, कृतित्व र योगदानको खोजी गर्दै अन्वेषण केन्द्र स्थापना गर्न पनि माग गरेको छ । योगी नरहरिनाथको जन्मस्थल कालीकोट हो । सभाले कोटवाडा विमानस्थल सञ्चालनको लागि मान्म कोटवाडा केबुलकार र पक्की सडकमा पनि जोड दिएको छ ।

त्यस्तै, कालीकोटमा ब्याप्त छाउपडी, बालविवाह, जातीय विभेदको अन्त्यका लागि पनि सभाले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । ‘आर्थिक समृद्धि र सुशासन कर्णाली प्रदेशमा कमजोर छ,’ महासंघका अध्यक्ष देवीराम देवकोटाले भने, ‘व्यवस्था बदलिए पनि जनताको अवस्था उस्तै भएकाले सरकारको ध्यानाकर्षण गर्न कालीकोटमा प्रदेश साधारणसभा गरिएको हो ।’ साधारणसभा मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने नाराका साथ मंगलबार भएको भएको थियो । सभाले संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकारले निर्माण गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्ने प्रावधानहरू खारेजीको माग गरेको छ । प्रस्तावित मिडिया विधेयकमा उल्लेख गरिएका प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचन पार्ने प्रावधानहरूलाई सच्याउन पनि सभाले भनेको छ ।

विमानस्थल र कर्णाली राजमार्ग कालिकोटबासीका वर्षौ पुराना सपना हुन् । ढिलै भए पनि डेढ दशकअघि कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक निर्माणसगै कालिकोटबासीको सडक सपना पुरा भएको छ । तर वर्षौ पुरानो हवाई सपना अझै पुरा भएको छैन । निर्माण सुरु भएको ३ दशकपछि ०७३ माघमा यहाको कोटवाडा विमानस्थलमा तारा एयरले परिक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको पहलमा परीक्षण उडान भएको थियो । हाल विमानस्थलको कालोपत्रे सकिए पनि नियमित उडान सुरु नहुँदा स्थानीय निराश छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आउने वैशाख १ गते कोटवाडामा विमान अवतरण गर्ने बाचा गरेको पत्रकार महासंघ कर्णाली प्रदेश महासचिव खगेन्द्रप्रसाद भट्टराईले बताए ।

प्रकाशित : चैत्र २४, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×