मौसम खराब हुँदा हुम्लामा हवाई सेवा अवरुद्ध

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो ।

नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् ।

हुम्लालाई अन्तरजिल्ला जोड्ने एक मात्र माध्यम हवाई सेवा भए पनि जिल्लाको मौसम बिग्रिँदा नेपालगन्ज र सुर्खेतदेखि सिमकोटका लागि उडेका जहाज सिमकोट विमानस्थल वरपर बाक्लो कुहिरो लागेपछि गन्तब्यमा नपुगी बीचबाटै नेपालगन्ज फर्किएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए ।

जिल्लाको मौसममा फेरबदल भएपछि शुक्रबार सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट यात्रुसहित कार्गो सामान आउन सकेको छैन । उडान नहुँदा जिल्ला बाहिर जाने यात्रु पनि सिमकोटमै रोकिएका छन् ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । रातिबाट एक्कासी मौसम परिवर्तन हुँदा दिनहुँ उडान भर्ने निजी विमान कम्पनीका जहाज फर्किनुपरेको विमानस्थल प्रमुख गिरीले बताए ।

हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जिल्ला सदरमुकाम नजोडिँदा ढुवानी पनि जाहजबाटै गराउनु परेको छ । जसकारण मौसम बिग्रिँदा यात्रुलाई आवतजावत गर्न पनि कठिन हुने गरेको छ ।

प्रकाशित : चैत्र १७, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

यूएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको सुरुवात

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र यूएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले सोमबार मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा यूएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको सुरु गरेका छन् ।

दुई करोड अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ) बजेटसहितको उक्त पाँच–वर्षे कार्यक्रमले नेपालका मधेश र लुम्बिनी प्रदेशहरूमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

यस क्रियाकलापमार्फत यूएसएआईडी र नेपाल सरकारले राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीहरूलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्ने उल्लेख छ । उक्त कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरहरूसहित मधेसप्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो ।

कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले भने,‘लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् र नागरिकले आफ्ना नेताहरूको ध्येय र सीमा बुझ्छन् । पारदर्शिता र समुदायको पैसाको संकलन, लगानी र खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाजको दुरुस्त सञ्चालनमा महत्त्वपूर्ण छ ।’

यूएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले भनिन्,‘हामी पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकताहरूलाई प्राथमिकतामा राखुन् भन्ने चाहन्छौं । यसमा महिलाहरूको सीपमूलक तालिम, व्यवसायका अवसरहरू र किशोरी तथा आमाहरूका निम्ति शिक्षा र स्वास्थ्य कार्यक्रमहरू पर्दछन् ।’

प्रकाशित : चैत्र १७, २०७९ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×