प्रसाद खाँदा सल्यानमा झन्डै २ सय जना बिरामी

विप्लव महर्जन

सल्यान — पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका झन्डै २ सय जना बिरामी परेका छन् । जिल्लाको बाग्चौर नगरपालिका–५ धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै दुई सय जना बिरामी भएका हुन् ।

बिरामी भएकामा झाडापखाला, पेट दुख्ने, चक्कर लाग्ने, ग्यास बढ्ने समस्या देखिएको थियो । 'फुड प्वाइजन'का कारण स्थानीय बिरामी परेको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी भुवन पुनले बताए । फुड प्वाइजनका कारण बालबालिका, बढाबूढी तथा वयस्क सबै प्रभावित भएको उनले जानकारी दिए ।

उनका अनुसार बिरामी परेकालाई उपचार गरेपछि झाडापखाला ठीक भएको तर पेट दुख्ने, ग्यास बढ्ने र चक्कर लाग्ने समस्या भने पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । बिरामी भएका पाँच जनालाई स्वास्थ्य संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पठाइएको थियो । उनीहरुको अवस्था पनि सामान्य छ ।

बाग्चौर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिबहादुर कठायतले बिरामी भएका सबैलाई उपचारको लागि नगरपालिकाले स्वास्थ्यकर्मी लगायत औषधिको व्यवस्था गरेको बताएका छन् । बिरामी भएका सबै अहिले खतरा मुक्त रहेका उनले जानकारी गराए । केहीमा अलिक बढी समस्या देखिए पनि उनीहरु घरमै बसेर उपचार गराइरहेका उनको भनाइ छ ।

प्रकाशित : चैत्र १४, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्

करिब १० किलो चरेससहित एक जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले पर्साको कालिकामाई गाउँपालिकास्थित एक घरबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ । सोमबार बिहान प्रहरीले कालिकामाई गाउँपालिका–१ तिनडुबियाका ३८ वर्षीय बृजेशप्रसाद कुर्मीको घरबाट ९ किलो ८ सय ग्राम चरेस बरामद गरेको हो । 

कुर्मीले घरमा चरेस लुकाइराखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमान्डमा खटिएको टोलीले खानतलाशीपछि उक्त चरेस बरामद गरेको हो ।

कुर्मीको घरकोठा खानतलासी गर्ने क्रममा घरको अगाडि बरन्डामा खाटमुनि पहेलो र कालो प्लास्टिकले बेरिएको ५ सय ग्रामको २० पोकामा गरी ९ किलो ८ सय ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । कुर्मीलाई मंगलबार जिल्ला अदालतमा पेस गरी अदालतबाट ४ दिनको म्याद थप लिई अनुसन्धान भई रहेको गिरीले बताए ।


प्रकाशित : चैत्र १४, २०७९ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×