बझाङ — खसआर्यहरूको कुल देवताका रूपमा चिनिने मष्टाको मूल मन्दिरमा महापूजा मेला सुरु भएको भएको छ । मष्टा गाउँपालिकाको ढाडारमा रहेको मष्टा देवताको मुख्य मन्दिरमा सप्ताहव्यापी चल्ने पूजामा सहभागी हुन विभिन्न जिल्लाबाट श्रद्धालुको ओइरो लागेको छ ।
चैत्र शुक्लपक्ष (घोडेजात्राको भोलिपल्ट) देखि रामनवमीका दिनसम्म हुने यो पूजामा सहभागी हुन बझाङ, बाजुरा, अछाम, जुम्ला, हुम्ला मुगु, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, मुगु, हुम्ला लगायतका जिल्लाबाट मष्टाका आलीपाली (आस्थावान) श्रद्धालु आउने गर्छन् । यहाँ काठमाडौंमा हुने इन्द्रजात्राको दिन पनि भव्य मेला लाग्ने गर्छ । जसलाई ढाडारको जात भनिन्छ ।
यस वर्ष शक्ति सिंह सन्तान मष्टापूजन मूल समितिले मष्टा मन्दिरमा लक्ष्य होम, चण्डीपाठ र ६४ भोगसहितको पूजा आयोजना गरेकोले देशैभर छरिएर रहेका तत्कालीन बझाङी राजा शक्ति सिंहका सन्तानहरू पनि ठूलो संख्यामा मष्टा मन्दिरमा भेला भैरहेका छन् । ‘हामी बसेको ठाउँमा मष्टाको पूजा त सधैं गरिरहेका थियौं । यो वर्ष मूलथली (मुख्य मन्दिर) मै पुगेर भाकल पूरा गर्ने अवसर जुर्यो,’ सुर्खेतबाट आएका गोपालबहादुर सिंहले भने, ‘वर्षौंदेखिको सपना पूरा गर्न पाएकोमा धेरै खुसी लागेको छ ।’ उनले सुर्खेतबाट मात्रै दर्जनौंको संख्यामा श्रद्धालु यहाँ आएको बताए ।
मष्टो देवता इन्द्रपुत्र जयन्तको अर्को रूप मानिन्छ । रामायणकालमा इन्द्रको राज्य सुरक्षाका लागि उनले दानवहरूसँग युद्ध गरेको जयन्तले दानवसँग बहादुरीपूर्वक लडेर परास्त गरेको हुनाले उनलाई मष्टोको पदवी दिइएको किंवदन्तीहरूमा उल्लेख छ । पूजाका दौरान स्थानीय भाषामा इन्द्रपुत्र मष्टो भएको र उनी इन्द्रको दरबारबाट मर्त्यलोकमा आएका कथाहरू मंगलको रूपमा गाउने गरिन्छ ।
भातेखोलाको ढाडार गाउँमा मष्टोको पहिलो पटक उत्पत्ति भएको विश्वास गरिन्छ । यसर्थ मष्टो पुजकहरूले ढाडारको मष्टो मन्दिरलाई मष्टोको राजधानीको रूपमा मान्ने गरेका छन । ‘मष्टो मान्ने सबै समुदायका मानिसहरू आइरहेका छन् । यो वर्ष शक्ति सिंहका सन्तानहरूको सामूहिक पूजा भएकोले सबै जिल्लामा रहेका सिंहहरू बढी संख्यामा आएका हुन्,’ शक्ति सिंह सन्तान मष्टा पुजन मूल समितिका अध्यक्ष गगनबहादुर सिंहले भने, ‘अष्टमीको दिनसम्म विभिन्न जिल्लाबाट श्रद्धालुहरू आउने क्रम जारी रहन्छ ।’ उनले समितिले यस वर्ष मष्टा मन्दिरमा २५ किलोको घण्टी चढाउने कार्यक्रम रहेको बताए ।
मष्टाको पूजा गर्दा व्रत बसेर बेलुका भवानीको विशेष पूजा गरिन्छ । दियोबत्ती गरेर, शंखघण्ट बजाई पहिले भवानी, लाकुडा र लाटाहित पूजा गरिन्छ । शंख र घण्टको आवाजका साथै बाजाहरूका तालमा देवताको पोसाक लगाई धामीहरू काँप्ने गर्दछन् ।
२०६४ सालसम्म ढाडार मष्टाको पुजाका बेला नारायणहिटी राजदरबारबाट कालो बोका, भेटी र वस्त्रसहित दरबारका प्रतिनिधि पूजामा आउने प्रचलन थियो । देशमा गणतन्त्र स्थापना भइसकेपछि दरबारबाट भेटी आउन रोकिएको मष्टाका मूल पुजारी बल धामीले बताए ।
देशभरि छरिएर रहेका खस आर्यहरूले मष्टोलाई विभिन्न नाममा पूजा गर्ने गर्छन् । मष्टो देवताका बाह्र स्वरूप र तेह्र भाइ रहेको विश्वास गरिन्छ । दुधेमष्टो, लडेमष्टो, सत्वगुणी मष्टो, दाह्रे मष्टो आदि मष्टाका स्वरूप हुन् । बढमष्टो, थार्पा मष्टो, बाबिरा मष्टो, लिउडी मष्टो, कामत मष्टो, सिम मष्टो लगायत चाहिँ मष्टोका भाइ हुन । मष्टोलाई दुर्गा भवानीको भाइ मानिन्छ । यसर्थ हरेक मष्टोको मन्दिरनजिकै भवानीको स्थापना गरिएको हुन्छ ।
माटोका मालिक भएकाले मष्टोलाई मट्टे देवता, भूमि देवता वा भूमिया पनि भनिन्छ । डडेलधुरा, डोटीको केही भाग र बैतडीतिर मष्टोलाई भूमिराज देवता अथवा भूमेश्वरको नाममा पूजा गरिन्छ । भारतको उत्तराखण्ड क्षेत्रका गढवाल, पिथौरागढको चण्डाक लगायतका स्थानहरूमा मष्टा देवताका नामबाट मष्टोको पूजा हुने गरेको मष्टो संस्कृतिका अध्येता श्यामबहादुर खड्काको भनाइ छ । ‘पाकिस्तानमा रहेको हिउलादेवीको मन्दिर र त्यसको आसपासमा बस्नेहरूले पनि मष्टोलाई बिबियानीका नामबाट पुज्ने गरेको उल्लेख पाइन्छ,’ उनले भने ।
आर्य संस्कृतिमा ऋषिको मूलथलो कैलाश मानसरोवर क्षेत्रलाई लिइन्छ र मष्टोको उत्पत्ति त्यही भएको जनविश्वास छ । मष्टो देवता शान्त, दयालु, क्षमाशील र चाँडै खुसी हुने शिव अंश मानिने मूलतः सात्विक देवता हुन् । तर पनि रक्तबलि मागे दिने र दुर्गा भवानीका सान्निध्यमा रहने हुनाले यिनलाई रक्तबलि भोग लिने गरेको बताइन्छ । पूजाका दौरान दाह्रे मष्टोका धामीले दाँतले काटेर बोकाको बलि लिने गर्छन् भने दुधे मष्टोलार्ई अक्षता, फूलपाती, दूध, दशी, घिउ र बाबर चढाइन्छ ।
प्रकाशित : चैत्र १३, २०७९ ०९:४८