घरबाट खसेर एक जनाको मृत्यु

विप्लव महर्जन

सल्यान — काम गर्ने क्रममा घरबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्लीबजार चनाराको मृत्यु भएको हो । 

शारदा नगरपालिका १ श्रीनगरस्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर खसेका उनको जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

उनका अनुसार चनाराको टाउको गहिरो चोट लागेको थियो । टाउकोमा चोट लाग्दा उनी बेहोस भएका थिए । छतबाट खस्नेबित्तिकै स्थानीयले उनलाई परोपकार अस्पताल श्रीनगरमा उपचारका लागि लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

घरबाट खसेर मृत्यु भएका चनारालाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ९, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

संग्रौलाको नयाँ कृति ‘सङ्ग्रामबहादुर सार्की’

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार खगेन्द्र संग्रौलाद्वारा लिखित दलित विषयक कथाहरूको संग्रह ‘सङ्ग्रामबहादुर सार्की’ प्रकाशित भएको छ । नेपाली समाजमा विद्यमान जात व्यवस्था, दलित समुदायमाथि हुने विभेद‚ जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिबिम्बित गरेको लेखक संग्रौलाले जनाएका छन् ।

‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारुप वा भ्रूण टिपें र त्यो प्रारुप वा भ्रूणलाई विस्तार गरी कथानकमा ढालेर यी कथाको रचना गरेको हुँ’, साहित्यकार संग्रौलाले भने, ‘विपन्न, वञ्चित र दलितहरुलाई जगाउन, हौस्याउन र मानवोचित जीवन प्राप्त गर्ने हेतुले संघर्षमा डट्न प्रेरित गर्ने ससाना जमघटमा मैले यी कथाका पात्रहरूलाई भेटेको थिएँ ।’

संग्रौलाले नयाँ कथा सञ्चयनलाई आफ्नै अरु कथाहरुको विशाल चाङमुनि चेपिएर पाठक र समीक्षकका दृष्टिबाट ओझेल परेका कथाहरुको पुस्तक भनेका छन् । ‘मेरै कथाहरुको विशाल चाङमुनिको चेपबाट मैले यी कथालाई बाहिर निकालेको हुँ, यो बाहिर निकाला वास्तवमा यी कथाहरुको मुक्ति हो ।’

‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा तीन दशक अवधिमा (२०२७ देखि २०५५ सालसम्म) लेखिएका आठ फुटकर कथा संकलित छन् । संकलनबारे लेखक तथा नागरिक अधिकारकर्मी जेबी विश्वकर्माले दलित जीवनको वास्तविकतालाई अत्यन्त मार्मिक भाकामा बोलिएको टिप्पणी गरेका छन् । विश्वकर्माले भनेका छन्, ‘जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरुद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्नो कथालोकमा समेटेका छन् ।’

पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।

प्रकाशित : चैत्र ९, २०७९ १४:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×