अझै बनेनन् इजलास

तृप्ति शाही

वीरेन्द्रनगर — स्थानीय सरकारको अवधारणा आएको ६ वर्ष बढी भइसक्यो । स्थानीय तहका जनप्रतिनिधिको पहिलो ५ वर्षे कार्यकाल सकिइसकेको छ । अहिले दोस्रो कार्यकालका जनप्रतिनिधिहरूले हाँकिरहेका छन् । तर अझै स्थानीय तहले न्यायिक इजलास बनाउन सकेका छैनन् ।

न्यायिक समितिमा इजलास कक्षसँगै कानुनी परामर्श दिने व्यक्ति पनि चाहिन्छ । तर अहिलेसम्म हुम्लाका स्थानीय तहका न्यायिक समितको इजलास कक्ष समेत बनेका छैनन् । अहिलेसम्म न्यायिक समितिको इजलास कक्ष निर्माण नभएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए । ‘हाम्रो कार्यालयको भवन समेत बन्न सकेको छैन,’ उनले भने, ‘गाउँपालिकाको कार्यालय भाडाको घरमा बसिरहेको छ । कार्यकक्षको जोहो गरिएको छ । न्यायिक समितिको इजलास कक्ष बनाउन सकिएको छैन ।’

इजलास कक्ष नहुँदा आउने मुद्दाहरूलाई कार्यकक्षमै छलफल गरेर मेलमिलाप गराउने गरेको उनको भनाइ थियो । अहिलेसम्म न्यायिक समितिमा ३ वटा मुद्दा आएका र सबैलाई छलफलबाटै मेलमिलाप गराएको उनले बताए । न्यायिक समितिमा मुद्दाहरू धेरै आए पनि अहिलेसम्म इजलास कक्षको स्थापना गर्न नसकिएको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले बताइन् । निर्वाचित भएर आइसकेपछि २२ वटा मुद्दा आएका छन् । उनले भनिन्, ‘११ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी छन् । २ मुद्दालाई अदालत पठाएकी छु । अन्यलाई मिलापत्र गरेर पठाए ।’ धेरै मुद्दाहरू न्यायिक समितिमा आउने गरेको भए पनि छुट्टै इजलास कक्ष नहुँदा सेवा प्रवाहमा असहज भइरहेको उनको भनाइ थियो । भवन अभावले गर्दा इजलास कक्षको स्थापना गर्न नसकिएको उनले बताइन् । कार्यकक्षमै मुद्दाहरूबारे छलफल गराएर टुंगोमा पुग्ने गरेको उनको भनाइ छ । इजलास कक्षको निमार्णका लागि तयारी भने थालेको उनले बताइन् ।

न्यायिक समितिमा इजलास कक्ष मात्र होइन, कानुनी परामर्श दिने कर्मचारी पनि छैनन् । पहिले प्रदेश सरकारले कानुनी सहजकर्ता भनेर पठाए पनि अहिले म्याद थप नभएकाले कोही नभएका उपाध्यक्ष रोकायाले बताइन् । कानुनी परामर्श गर्ने मान्छे नहुँदा न्यायिक समितिमा आउने मुद्दाहरू हेर्न गाह्रो हुने गरेको छ । उनले भनिन्, ‘हामीलाई धेरै समस्या छन् । जिम्मेवारी धेरै दिएको छ । जिम्मेवारी अनुसार सहयोग गर्ने मान्छेहरू छैनन् । यही अवस्थामा काम भने गरिरहेकी छु ।’

यस्तै, जिल्लाको खार्पुनाथ गाउँपालिकामा पनि अहिलेसम्म इजलास कक्ष स्थापना गरिएको छैन । इजलास कक्ष स्थापनको तयारीमा भने रहेको गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह बताउछन् । कानुनी सल्लाहकारका रूपमा भने जिल्लामा भएका कानुनी व्यक्तिबाट सहयोग लिने गरिएको उनले बताए ।

चंखेली गाउँपालिकाले पनि न्यायिक समितिको इजलास कक्ष स्थापना गरेको छैन । आएका मुद्दाहरू कार्यकक्षमै छलफल गरिएको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले बताइन् । कार्यकक्षमै मुद्दाको विषयमा छलफल गर्दा असहज हुने गरेको छ । उनले भनिन्, ‘हामीले भवन अभावमा इजलास कक्षको स्थापना गर्न सकेका छैनौं । पालिकाको आफ्नो भवन छैन । भाडाको घरमा कोठाको अभाव छ ।’

प्रकाशित : चैत्र ९, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

सेती अस्पतालमा बिचौलियाको ‘सेटिङ’

विशेषज्ञ चिकित्सक र अत्याधुनिक ल्याब भएको अस्पताल सुदूरपश्चिमको प्रमुख सरकारी स्वास्थ्य केन्द्र हो , तर बिचौलियाको चंगुलमा फसेको अस्पतालबाट बिरामीले थप सास्ती भोगिरहेका छन्
अर्जुन शाह

धनगढी — धनगढीका २१ वर्षीय चक्र भट्टको पेट असाध्यै दुखेपछि अभिभावकले केही दिनअघि नजिकैको निसर्ग अस्पताल पुर्‍याए । चिकित्सकले एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताए । निजी अस्पतालमा महँगो हुने भन्दै अभिभावकले तत्काल नजिकैको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरे । चिकित्सकहरूले जाँचपछि भोलिपल्ट शल्यक्रिया हुने भन्दै बिरामीलाई खाली पेट बस्न लगाए । तर, भोलिपल्ट बिहान बिरामीका कुरुवालाई जानकारी गराइयो– ढिलो हुने भएकाले निजीमा लैजानू ।

त्यसपछि बाध्य भएर बिरामीलाई फेरि निसर्ग लगियो र उनको शल्यक्रिया भयो । ‘एक दिनसम्म खाली पेट बस्न पनि भनेका थिए तर दोस्रो दिन अचानक प्राइभेटमा लैजाऊ पो भन्न थाले,’ बिरामीका काका भरत भट्टले भने, ‘सेतीमा यतिसम्म मनपरी देख्नु र भोग्नुपर्दा साह्रै मन दुख्यो । १०/१५ हजारमा हुने उपचारलाई निजीमा ५० हजारभन्दा बढी तिर्नुपरेको छ ।’

कैलालीको धनगढी उपमहानगरपालिका–४ की २७ वर्षीया गोलरानीदेवी चौधरी पेट दुखेपछि गत माघ १९ गते सेतीमै पुगिन् । जाँचपछि पित्तथैलीमा ढुंगा देखियो, चिकित्सकले शल्यक्रिया गर्न भने । तर पालो तोकियो– २०८१ वैशाख ५ गते । ‘प्राइभेटमा अप्रेसन गरौं भने पैसा छैन । दुखाइ सहेर पनि सेतीले दिएको पालो कुर्दै छु,’ गोलरानीले भनिन् ।

सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरसमेत रहेको सेती प्रादेशिक अस्पतालमा सहज सेवा पाउन नसकेर सास्ती भोग्ने सयौं बिरामीमध्ये यी प्रतिनिधि हुन् । केही भौतिक पूर्वाधार अपुग भए पनि विशेषज्ञ चिकित्सक र अत्याधुनिक ल्याब भएको अस्पताल सुदूरपश्चिमका बासिन्दाले उपचारका लागि आशा राख्ने प्रमुख सरकारी स्वास्थ्य केन्द्र हो । तर, बिचौलियाको चंगुलमा फसेको अस्पतालबाट सेवा प्रवाहमा भने अपेक्षित सहजता छैन । पछिल्ला दिन अधिकांश पहुँचविहीन बिरामीले सेवा पाउनै कठिन रहेको गुनासो गरेका छन् ।

कोभिडका बेला राम्रो सेवा प्रवाह गर्दै सेवा सुधारमा आशा जगाएको सेती अहिले फेरि भताभुंग भएको धनगढीका नागरिक अगुवा प्रमोद पाठक बताउँछन् । अस्पतालमा नियोजित रूपमा बिरामीलाई सास्ती दिने र प्राइभेटमा जान बाध्य पार्ने गरिएको गुनासो बढेको उनको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्षसमेत रहेका धनगढीका धनपति ढुंगेल सेतीमा कार्यरत चिकित्सक र ल्याबका कर्मचारीका प्राइभेट संस्था रहेको सुनिएको बताउँछन् । ‘बिचौलियाको सेटिङमा सरकारीमा सेवा दिन ढिलासुस्ती गरेर सर्वसाधारण बिरामीलाई प्राइभेटमा जान बाध्य पारिन्छ,’ उनले भने, ‘सरकारीमा काम गर्दै गरेको ब्रान्ड मात्र चाहिने भएकाले त्यहाँका कर्मचारीको ध्यान र समय भने प्राइभेटमा देखिन्छ ।’

सेतीको प्रयोगशालामा पर्याप्त प्राविधिक छन्, अत्याधुनिक उपकरण छ । तर सेवा प्रभावकारी छैन । एमडी प्याथोलोजिस्टसहित २४ ल्याब टेक्निसियन रहेको सेतीमा कुनै पनि परीक्षण हुन नसकेर बाहिर पठाउनुपर्ने अवस्था नहुनुपर्ने हो । तर, अवस्था ठीक उल्टो छ । विभिन्न रोगको ल्याब परीक्षणका लागि आवश्यक अत्याधुनिक उपकरण थन्काइएका छन् । यहाँ कार्यरत अधिकांश प्राविधिक नाम चलेका डाइग्नोस्टिक सेन्टरका सञ्चालक रहेका छन् ।

सुदूरपश्चिम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा काजमा कार्यरत रेडियोलोजिस्ट डा. निरज अर्याल धनगढीमा नाम चलेको निजी अस्पताल नवजीवन अस्पतालका सञ्चालक हुन् । सेतीले भिडियो एक्सरेका लागि दैनिक ४० जनाको मात्र टिकट काट्छ । तर भिडियो एक्सरे गर्नुपर्नेहरू भने दैनिक एक सयभन्दा बढीको संख्यामा हुन्छन् । सेतीमा साढे चार सयमा हुने भिडियो एक्सरे उनै डाक्टरले प्राइभेटमा गर्दा सात सयदेखि एक हजारसम्म शुल्क लाग्छ । सेवा व्यवस्थित नहुँदा बिरामीहरू शोषणमा परिरहेका छन् ।

अस्पतालको सीमित क्षमताका कारण बिरामीले पालो कुर्नुपर्ने अवस्था आएको जनरल सर्जरी विभाग प्रमुख डा. ललित विक बताउँछन् । सेतीमा एउटा मात्रै अप्रेसन थिएटर र २८ बेड क्षमताको सर्जरी वार्ड छ । जसअन्तर्गत जनरल सर्जरी विभागले साताको दुई दिन शल्यक्रिया सेवा सञ्चालन गर्छ । आकस्मिक केसबाहेक एक दिनमा १४ जनाको शल्यक्रिया हुने डा. विकले बताए । ‘बाहिरबाट आउने गुनासोबारे हामी जानकार छौं । तर भित्री व्यवस्थापन र बाध्यताबारे पनि थाहा पाए हुन्थ्यो,’ उनले भने, ‘हाम्रो क्षमता एक दिनमा १४ जना मात्र छ तर अप्रेसन गर्नुपर्ने बिरामी दोब्बरभन्दा बढी हुन्छन् ।’ निजीमा २५ हजार लाग्ने एपेडिसाइटिसको शल्यक्रिया गर्न सेतीमा अढाई हजार मात्र पर्छ, त्यही भएर पनि बिरामीको चाप अत्यधिक छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे विगतका तुलनामा धेरै सुधार भए पनि बिरामीको अत्यधिक चापले सेवाप्रति असन्तुष्टि बढ्दै गएको स्विकार्छन् । ‘सबैले बिरामीको उपचार गर्नुपर्‍यो, अझ निःशुल्क गर्नुपर्‍यो भन्ने दबाब मात्र दिन्छन्,’ उनले भने, ‘सात/आठ सय कर्मचारी चाहिने ठाउँमा एक चौथाइ पनि छैनन् ।’ अस्पताल प्रदेश सरकार मातहत आए पनि सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ । ‘छात्रवृत्तिका २५ मेडिकल अधिकृतले त आठ महिनादेखि पारिश्रमिक पाएका छैनन् । अस्पतालले बिमाको साढे चार करोड भुक्तानी पाएको छैन,’ उनले गुनासो गरे ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×