कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बृहत् लिफ्ट योजनामा ढिलाइ

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–१४ र १५ मा खानेपानी सुविधा पुर्‍याउने गरी विश्व बैंकको सहयोगमा सुरु गरिएको बृहत् लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती भएको छ । निर्माणको ठेक्का लिएको सगरमाथा ड्रिलिङ निर्माण सेवाले पर्याप्त उपकरण, निर्माण सामग्री प्राविधिक र कामदार पुर्‍याउन नसक्दा योजनाको काममा ढिलासुस्ती भएको हो । ठेकेदार कम्पनीले २०७६ असारदेखि निर्माणको काम थालेको थियो ।

बृहत् लिफ्ट योजनामा ढिलाइ

उक्त योजनाको अवधि दुई वर्षको रहेको र आगामी असारमा म्याद सकिने भए पनि मुस्किलले आधा मात्र काम सकेको छ । निर्माणको काममा भएको ढिलाइ हुँदा निर्माण सामग्रीसमेत लथालिंग अवस्थामा छन् । शारदा नगरपालिका–१४ र १५ का ७ सय ५० परिवारलाई घरघरमै पानी पुर्‍याउने गरी योजनाको काम सुरु गरिएको हो । जसमा विश्व बैंकले ११ करोड रुपैयाँ अनुदान दिएको छ । ७ सय ५० स्थानीयले प्रतिघर ४ हजार ५ सयका दरले ३३ लाख ७५ हजार रुपैयाँ संकलन गरेका थिए ।

लिप्ट खानेपानी योजनामा करिब डेढ किलोमिटर तल पर्ने शारदाबाट पानी तान्न थालिएको छ । काममा ढिलाइ हुँदा आफूहरुको समस्या जहाँको त्यही रहेको स्थानीय कमला विकले बताइन् । उनका अनुसार अहिले पनि वस्तीदेखि एक घन्टा तलको मुहानमा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । ‘योजनाको काम आधा पनि सकिएको छैन, निर्माणको अवधि मुस्किलले ३ महिना छ,’ उनले भनिन्, ‘काममा यस्तै ढिलासुस्ती भए अबको २ वर्ष पनि गाउँमा खानेपानी पुग्दैन ।’

शारदा नगरपालिका–१४ की वडा सदस्य चन्द्रावती बुढाथोकीले योजनाको काममा भएको ढिलाइले महिलाले विगतदेखि अहिलेसम्म खानेपानीको लागि सास्ती भोग्दै आएका बताइन् । २०४४ सालमा एसियाली विकास बैंकको सहयोगमा बनेको खानेपानी योजना एक दशकअघि तहसनहस भएपछि महिलाहरुलाई बिहानै उठेर मुहानमा पालो कुरी पानी ल्याउनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

‘२ वडामा वर्षायामका ३ महिनाबाहेक सधैं खानेपानीको हाहाकार हुन्छ,’ उनले भनिन्, ‘वस्ती आसपासका मुहान सुकेपछि एक गाग्री पानीका लागि एक घन्टा हिँड्नुपर्छ, बिहान झिसमिसेमै मुहानमा नपुगे पानी भर्न पाईदैन, उकालो बाटो भएकाले पानी ल्याउन पनि ठूलो सास्ती भोग्दै आएका छौं ।’

ठेकेदार कम्पनीका इन्जिनियर रमेश शर्माले निर्माण सामग्री र भनेको समयमा प्राविधिक तथा कामदार उपलव्ध नहुँदा काममा केही ढिलाइ भएको सुनाए । खानेपानी योजना निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानदेव घर्तीले सुरुमा निर्माण कम्पनीले राम्रो काम गरे पनि ६ महिनायता कामै नगरेको बताए । उनका अनुसार कछुवा गतिमा भएको कामले स्थानीय निरास बनेका छन् । समितिसँग ठेकेदार कम्पनीले कुनै समन्वय नगरेको उनले बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका इन्जिनियर उमेश शर्माले ठेकेदारले अरु काम झण्डै ५० प्रतिशत र पाइप लाइन जडानको काम करिब ८० प्रतिशत सकेको बताए । उनका अनुसार विद्युतीकरणको समस्याले गर्दा पनि काममा ढिलाइ भएको छ । ‘लिफ्ट आयोजना भएकाले पानी तान्नका लागि ट्रान्सफर्मर जडान गर्नुपर्ने हो, त्यसको विद्युत् प्राधिकरणका इन्जिनियरले अध्ययन पनि गरिसकेका छन्,’ उनले भने, ‘यो असारसम्ममा घरघरमा पानी पुर्‍याउन नसके पनि मुख्य टंकीमा भने पानी झारिसक्ने हाम्रो योजना छ ।’

प्रकाशित : चैत्र ८, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?