चउरमै राखेर वार्षिक परीक्षा

मुगु — जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी चउरमै बसेर वार्षिक परीक्षा दिन बाध्य छन् । विद्यालयमा पर्याप्त डेस्कबेञ्चको सुविधा नहुँदा विद्यार्थीले चउरको धुलोमै बसेर परीक्षा दिइरहेका हुन् । मुगुका सबै स्थानीय तहका विद्यालयमा आइतबारदेखि वार्षिक परीक्षा चलिरहेको छ ।

पूर्वाधार अभावका कारण चउरमै परीक्षा गराउनुपरेको शिक्षकहरूको भनाइ छ । वार्षिक परीक्षाजस्तो संवेदनशील विषय चउरमा गराउनु लापरबाही भएको स्थानीय अभिभावक कमानबहादुर शाहीले बताए । ‘एक त विद्यार्थीले नयाँ पुस्तक नआउँदा पुराना पुस्तक पढेर परीक्षा दिएका छन्, त्यसमा पनि अधिकांश विषयको कोर्स पूरा भएको छैन,’ उनले भने, ‘झन् लापरबाही परीक्षा गराउँदा भयो, चउरको धूलोमा बसेर चारैतिरको होहल्लामा विद्यार्थीले जानेकै कुरा पनि कसरी लेख्न सक्छन् ?’
कक्षाकोठा र फर्निचरको अभावका कारणले गर्दा एसईईबाहेक सबैखाले परीक्षा चउरमै गराउनुपरेको शिक्षकहरूको गुनासो छ । छायानाथरारा नगरपालिकास्थित महाकाली नमुना विद्यालयमा अहिले कक्षा ५, ६, ७ र ९ का करिब ४ सय ५० जना विद्यार्थीलाई चउरमै परीक्षा गराएको छ । बालबालिका धुलोमा बसेर हावाहुरी र घामको वास्ता नगरी परीक्षा दिइरहेका छन् ।
विद्यालयले कक्षा ८ का १ सय ८२ विद्यार्थीको वार्षिक परीक्षा भने कक्षाकोठाभित्र सञ्चालन गरिरहेको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा भएकाले कोठामै सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाले बताए । ‘विद्यार्थीहरू हावाहुरी र पानी छेक्दै परीक्षा दिन बाध्य छन्,’ उनले भने, ‘जिल्लाकै नमुना घोषणा गरिएको विद्यालयको अवस्था त यस्तो छ, अरू दुर्गमका विद्यालयको समस्या झन् हाम्रोभन्दा बढी छ ।’
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्य खत्रीका अनुसार जिल्लाभरि १ सय ४१ सामुदायिक विद्यालयमध्ये झन्डै १ सय विद्यालयमा वर्षौंदेखि चउरमै परीक्षा सञ्चालन हुने गरेको छ । मुगुमा यसपालि अधिकांश विद्यार्थीले पुरै सेट किताब पनि पाएनन् । कालैस्थित विजय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रिता बमले अर्थशास्त्र, शिक्षा र कम्प्युटर विषयको किताब नपाएको बताइन् । ‘दाइदिदीले पढेका च्यातिएका किताब पढेरै वार्षिक परीक्षा दिँदै छु,’ उनले भनिन्, ‘कुनै पनि विषयको कोर्स पूरा भएन, अधिकांश विषयको आधा पाठ पढेर परीक्षामा सामेल भइरहेका छौं ।’
आगामी शैक्षिक सत्रमा पनि फेरि पुस्तक अभावको समस्या दोहरिने भन्दै विद्यार्थी चिन्तित भएका छन् । महाकाली माध्यमिक विद्यालयका कक्षा ९ का छात्र विनय मल्लले अर्को शैक्षिक सत्र आउन मुस्किलले १ महिना बाँकी भए पनि अझै किताब नआएको बताए । विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाले सरकारले शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिनाअघि पाठ्यपुस्तक ढुवानी गर्ने नीति लिए पनि त्यो कागजमै सीमित भएको बताए ।
उनका अनुसार असारअघि जिल्लामा कहिल्यै पुस्तक ढुवानी हुँदैन । इकाइ प्रमुख खत्रीले जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयमै किताब नआएकाले आगामी शैक्षिक सत्रका लागि पुस्तक ढुवानीमा समस्या भएको बताए ।
प्रकाशित : चैत्र ८, २०७९ ०८:४७