असिनाले स्याउ र तरकारी नष्ट

कान्तिपुर संवाददाता

जाजरकोट — आइतबार र सोमबार परेको असिनापानीले जाजरकोटका पहाडी भूभागमा अन्नबाली, तरकारी र फुलेका स्याउबारी नष्ट गरेको छ । चैतको सुरुवातसँगै झन्डै ६ महिनापछि माटो भिज्ने गरी वर्षा हुँदा खुसी भएका जाजरकोटका किसान आइतबार परेको असिनापानीले अन्नबाली र फलफूल नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको गहुँ र जौं हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित छन् । जाजरकोटका पश्चिम कुशे, छेडागाड र उत्तरी भेक बारेकोट गाउँपालिकामा असिना परेको थियो । कुशेको ढिमे र दम्दाला, बारेकोटका ९ वडा असिना प्रभावित भएको प्रदेशसभा सदस्य वेदराज सिंहले बताए ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको बारेकोट सिर्पाचौरका किसान तिलबहादुर थापा बताउँछन् । आइतबार र सोमबार अपराह्न हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको थापाको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौं, उवालगायत भित्र्याउने समय भइसकेका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रँदै गरेको बेमौसमी तरकारी सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र अन्न बालीका बिरुवासमेत क्षति पुगेको दम्दालाका किसान कृष्णबहादुर मल्लले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भइरहेको छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले बताए । कुशे गाउँपालिका प्रमुख हरिश्चन्द्र बस्नेतले जिल्लाको पश्चिम भेकमा अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको बताए ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

मधेस : स्ववियुमा मिश्रित नतिजा

प्रदेश ब्युरो

जनकपुर — जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मनीषकुमार यादव निर्वाचित भएका छन् ।


सभापतिमा यादवले १ हजार १ सय ४७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतमकुमार यादवले १ सय १८ मत मात्र प्राप्त गरे ।

स्ववियुको नेतृत्व चयनका लागि आइतबार मतदान भएको थियो । क्याम्पसमा ७ हजार २ सय १५ विद्यार्थी मतदाता रहेकामा २ हजार ६ सय ६२ जनाले मतदान गरेका थिए । यस क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित ८८ जनाले उम्मेदवारी दिएका थिए । क्याम्पसको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट चुनिएका छन् ।

महोत्तरीको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको लक्ष्मीनारायण विद्यापीठ मटिहानी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविस) का सर्वेशकुमार झा निर्वाचित भएका छन् । उनीसहित संघको प्यानल नै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । झाले ७१ मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी नेविसंघका भूपेन्द्रकुमार झाले ५९ मत प्राप्त गरे । सचिवमा लोविसका गौतमकुमार मण्डल ६४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका जितेन्द्र साहले ४६ मत प्राप्त गरे । विद्यापीठमा १ सय ५५ मतदाता रहेकामा १ सय ३६ मत खसेको थियो ।

सर्लाहीका तीन क्याम्पसको स्ववियु निर्वाचनमा मुख्य विद्यार्थी संगठनले जित हात पारेका छन् । लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको संयुक्त प्यानलै विजयी भएको छ । नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका थिए । प्यानलबाट नेविसंघका अभिमन्यु चौधरी ४ सय ४१ मत ल्याई विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सन्दीप बरालले २ सय ४९ मत प्राप्त गरे । ९ सय ९६ विद्यार्थीमध्ये ७ सय ३ जनाले मतदान गरेका थिए ।

यस्तै हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वले बाजी मारेको छ । यहाँ सचिवबाहेक सबै प्यानल नै अखिलका विजयी भएका हुन् । सभापतिमा अखिलका प्रेमराज दाहालले ३ सय ५० मत ल्याई विजयी भए । प्रतिस्पर्धी अनेरास्ववियुका सन्दीप थापाले ३ सय ४९ मत ल्याए । ९ सय ७० विद्यार्थीमध्ये ७ सय ११ जनाले मतदान गरेका थिए । सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय विजयी भए । रायले ३ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका सुजित यादवले ३ सय ३१ मत पाए । २ हजार २ सय ३७ विद्यार्थी मतदाता रहेकामा यहाँ १ हजार १२ मत मात्र खसेको थियो । रौतहटको चन्द्रपुरस्थित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका संगम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार ३ मत ल्याए भने प्रतिस्पर्धी प्रगतिशीलका राधेश्याम बैठाले १ सय ६५ मत प्राप्त गरे । क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको हो ।

निर्वाचन सकिएको २४ घण्टा बितिसक्दा पनि सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियुको मतगणना सोमबार साँझसम्म पनि सुरु हुन सकेको छैन । केही विद्यार्थी संगठनले मतदानमा धाँधली भएको आरोप लगाउँदै पुनः मतदान गर्नुपर्ने अडान लिएका छन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहित सुरक्षा निकायका प्रमुख, क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिसहित छलफल गरिए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

आइतबार भएको निर्वाचनमा कुल १ हजार ९ सय १४ मतदातामध्ये ८ सय २९ जनाले मतदान गरेका थिए । मतगणना हुनुपर्ने र रोक्नुपर्ने माग राखेका दुई समूहले राजविराज–कुनौली सडकमा टायर वालेर प्रदर्शन गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×