४ दिनदेखि एक वृद्ध बेपत्ता- कर्णाली - कान्तिपुर समाचार

४ दिनदेखि एक वृद्ध बेपत्ता

महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका ३ का ६१ वर्षीय लोकबहादुर खत्री हराएको ४ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेको उनका आफन्तले बताएका छन् । बुहारी पार्वती केसीका अनुसार गत चैत १ गते बुधबार बिहान साढे ७ बजेतिर घाँस काट्न भनेर वनतिर गएका खत्री घरमा नफर्किएका हुन् ।

बोल्न नसक्ने खत्री त्यस दिन सधैं झैं घाँस काट्न गएको तर दिउँसो १ बजेसम्म पनि घर नआएपछि खोजी गर्दा अहिलेसम्म नभेटिएको बुहारी केसीको भनाइ छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमा समेत खबर गरेका छन् ।

रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले खोजीकार्य जारी रहेको बताउँदै प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘बेपत्ता व्यक्तिको खोजीका लागि हामी लागिपरेका छौं । शंका लागेका सबै ठाउामा खोजी जारी छ । तर, अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।’

बेपत्ता खत्रीको परिवारमा उनकी श्रीमती, एक छोरा, एक छोरी, बुहारी र २ नातीनातिनी रहेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन : दार्चुलाका ४ क्याम्पसमा मतदान सुरु

मनोज बडू

दार्चुला — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सुरु भएको छ । आइतबार बिहानैदेखि क्याम्पसहरूमा मतदान सुरु भएको हो । दार्चुलाका राष्ट्रिय क्याम्पस दत्तु, शंकरपुर क्याम्पस पस्ति, लटिनाथ क्याम्पस मार्मा र कृष्ण स्नातक क्याम्पस लालिमा मतदान सुरु भएको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ५ क्याम्पसमध्ये एउटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ भने ४ वटा क्याम्पसमा नेतृत्व तथा पदाधिकारी चयनका लागि मतदान हुँदै छ । बिहानैदेखि विद्यार्थीहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मतदान आइतबार दिउँसो ४ बजेसम्म हुनेछ ।

दार्चुलाको स्ववियु निर्वाचनमा मुख्यतः २ वटा गठबन्धन बनेको छ । नेपाल विद्यार्थी संघ भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच गठबन्धन भएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×