बीउ उत्पादकलाई बजारको चिन्ता- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीउ उत्पादकलाई बजारको चिन्ता

बीउ उत्पादन र बजारीकरणमा स्थानीय, प्रदेश र संघका सम्बन्धित कार्यालयले तदारुकता देखाउनुपर्नेमा जोड
महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१४ का केशव ओलीले दुई दशकयता तरकारीको उन्नत बीउ उत्पादन गर्दै आइरहेका छन् । करिब १० रोपनी जग्गामा प्याज, काउली र चम्चुरको बीउ खेती गरिरहेका केशवको खेतबारी यतिबेला हेर्न लायक छ । बीउमा फूल लागेर मगमग घरसम्मै फैलिएको छ ।

अर्का किसान लालबहादुर ओलीले पनि आफ्नो करिब ७ रोपनी जग्गामा काउली, प्याज, केराउ र लसुनको उन्नत बीउ उत्पादनमा जुटेका छन् । मुसीकोट–३ माछिमी, १३ साधनचौर, १४ चौतारा र लोरिबाङ क्षेत्र यतिबेला उन्नत बीउमा लागेको फूलले मनमोहक देखिएको छ । यहाँका प्रायः घरका किसानले कम्तीमा १ रोपनीदेखि १५ रोपनीमा तरकारीको उन्नत बीउ उत्पादन गर्ने मुसीकोट–३ का किसान नारायण खड्काले बताए ।

मुसीकोट–४, ६ र २ का किसानले पनि बीउ उत्पादन गर्दै आएका छन् । चौरजहारी नगरपालिका–१०, ११ र १३ को खोलागाउँ क्षेत्र, त्रिवेणी गाउँपालिकाको ९ र १० तथा सानीभेरी गाउँपालिकाको ३, ८ र ९ का किसानले पनि विभिन्न तरकारीको उन्नत बीउ उत्पादन गरिरहेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले यो वर्ष जिल्लाको करिब ४ सय १४ हेक्टर क्षेत्रफलमा तरकारीको उन्नत बीउ खेती भएको बताए । उनले भने, ‘विभिन्न जानतको प्याज, मुला, काउली, रायो, चम्सुर, सिमी, केराउ र सलगमको उन्नत बीउ किसानले उत्पादन गरेका छन् ।’ समुद्री सतहबाट ७ सय ५४ देखि ६ हजार ७२ मिटर उचाइमा रहेको रुकुम पश्चिममा समशीतोष्ण हावापानी भएकाले बीउ उत्पादनका लागि उपयुक्त रहेको केसीको भनाइ छ ।

कृषि विकास कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न तरकारी बालीको गरेर आर्थिक वर्ष २०७६/०७७ मा २ सय २१ मेट्रिक टन, २०७७/०७८ मा १ सय १८ मेट्रिक टन र २०७८/७९ मा १ सय १७ मेट्रिक टन तरकारीको उन्नत बीउ उत्पादन भएको थियो । बीउ उत्पादनमा आफूले ठूलो लगानी गरेको बताउँदै त्यसअनुसारको प्राविधिक सहयोग भने नपाएको गुनासो किसानको छ ।

चौरजहारी नगरपालिका–१० खोलागाउँमा रहेको समशीतोष्ण उन्नत बीउ उत्पादन सरकारी संस्थाका अध्यक्ष गोपा बीएमले किसानहरूले परम्परागत शैलीमा बीउको खेती गरिरहेका कारण बजारमा प्रतिस्पर्धा गर्न हम्मे परिरहेको बताइन् । अर्का किसान मुसीकोट–१४ का लालबहादुर ओलीले पनि बीउ उत्पादन भनेको धेरै गम्भीर विषय भएको बताउँदै यसमा दक्ष प्राविधिकको अभाव भएको बताए ।

तरकारीको बिउ झुलेका रुकुम पश्चिमका खेतहरु । तस्बिरः महेश केसी/कान्तिपुर

बीउ उत्पादन र गुणस्तर वृद्धि तथा बजारीकरणका लागि स्थानीय सरकार, प्रदेश र संघका सम्बन्धित कार्यालय तथा सरकोवालाले तदारुकता देखाउनुपर्नेमा किसानको जोड छ । बीउ संकलन तथा बिक्रीमा बिचौलिया हाबी हुँदा आफूहरूले भनेको मूल्य नपाउने र पाए पनि पैसा ढिलो पाउने समस्या रहेको त्रिवेणी १० का किसान बलराम पुनले बताए ।

उत्पादन तथा बजारीकरणमा सहजीकरण गरिरहेको बताउँदै कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख केसीले जनशक्ति अभाव, बजारीकरणमा बिचौलिया हाबी र स्थानीय सरकारले अपनत्व नलिएका कारण बीउ उत्पादन घटिरहेको बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

आधा दर्जन वनमा डढेलो

राजकुमार कार्की

सिन्धुली — चैत लाग्नासाथ सिन्धुलीका जंगलमा डढेलो लाग्ने क्रम बढेको छ । सदरमुकाम नजिक कमलामाई नगरपालिका—२ को चियाबारी–पिपलभन्ज्याङबीचको जंगलमा दुई दिनदेखि डढेलो लागेको छ ।

सिन्धुलीको कमलामाई–२ चियाबारी–पीपलभन्ज्याङको जंगलमा बुधबार राति बीपी राजमार्ग घेरेर लागेको डढेलो। तस्बिर : राजकुमार /कान्तिपुर

डढेलोले बीपी राजमार्गलाई घेराबन्दी गरेपछि सवारीसाधन तथा यात्रुले समेत सास्ती बेहोरेका छन् । दनदनी लागेको डढेलो आगाको लप्काले गाडी कटाउनै मुस्किल परेको यात्रु ईश्वरीलाल श्रेष्ठले सुनाए ।

सुनकोशी गाउँपालिकाको महाभारत वनमा चारैतिर घेरिएर डढेलो लागेको छ । डढेलोले वनको सबै रुख बुट्यान, जडीबुटी सखाप भएका छन् भने पशुपक्षी संकटमा परेका छन् । आगो निभाउने प्रयास कसैले गरेका छैनन् । ‘सालिन्दा जंगलमा डढेलो लागेको देखिन्छ,’ उनले भने, ‘जंगल नजिकका बस्तीमा त्रास छाउँछ । डढेलो लगाउने पत्तै लाग्दैन ।’ डढेलोका कारण संरक्षित वन नष्ट हुन थालेका छन् । जंगल नजिकका बस्तीका घरगोठमा आगलागी हुन थालेपछि स्थानीय त्रसित छन् । सदरमुकामको जलदेवी, च्याउकोट, कमलामाई, खाडीखोला र कोप्चेखोला सामुदायिक वनमा समेत डढेलो सुरु भएको छ । गोठाला तथा धाँसीले आगो सल्काइदिने भएकाले स्थानीयले नियन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घरबस्ती आगलागी भएमा मात्र कोकोहोलो हुने गरेको छ ।

डढेलोले संरक्षित साल तथा अन्यजातका रुख, वनस्पति, चराचुरुंगी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रका जंगलमा समेत दिनरात जंगलमा डढेलो लागेको प्रस्टै देखिन्छ । ‘बस्ती नजिक डढेलो आए अलिअलि चासो दिन्छन्, नत्र कसैलाई मतलब नै हुँदैन,’ सुनकोशी मुलकोटका मनोज श्रेष्ठले दुखेसो पोखे । डढेलोले महाभारत जंगलमा पाइने लोपोन्मुख पशुपक्षी र जडीबुटी बर्सेनि खरानी हुने गरेको उल्लेख गर्दै उनले भने, ‘डढेलो नियन्त्रण नभए लोप नै हुने खतरा हुन्छ ।’

डढेलो लागेको खबर दिँदासमेत वन डिभिजनले बेवास्ता गरेको कमलामाई–४ का सन्तोष श्रेष्ठले आरोप लगाए । उनले भने, ‘डढेलो नियन्त्रणका लागि कर्मचारी भर्ना गरेर र सेमिनार गोष्ठीमा लाखौं सकिन्छ तर वन आगोबाट जोगाउने पहल भएको छैन ।’

डढेलो नियन्त्रणका लागि वन कार्यालयमा १० जना अग्नि नियन्त्रक टोली छ । डढेलो लागेको खबर पाएमा तत्काल टोली परिचालन हुने डिभिजन वन प्रमुख कृष्णराज न्यौपाने बताउँछन् । ‘डिभिजन वन, सेना, प्रहरी, सशस्त्र गरी ४० जनाको अग्नि नियन्त्रक संयुक्त टोली छ,’ विपत्ति नपरी डढेलो लागेको खबर स्थानीयले नदिएको उल्लेख गर्दै उनले भने, ‘जानकारी हुनेबित्तिक्कै हामी परिचालन गर्छौं ।’

‘सदरमुकाम घेरिने गरी डढेलो लागेको वन कार्यालयबाट प्रस्ट देखिन्छ,’ स्थानीय लाभग्राही श्रेष्ठ भन्छन्, ‘वन कार्यालयले जानकारी भएन भन्नु मूर्ख बनाउनु मात्रै हो ।’ देशभरि साल जातको रूख पाइने दस जिल्लामध्ये सिन्धुली पनि पर्छ । जिल्लाको ९ वटा स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकामा चुरे क्षेत्रको जंगल पर्दछ । सिन्धुलीमा पाँच सय पाँचवटा सामुदायिक वन समूह रहेका छन । १ लाख ५० हजार हेक्टर जंगल उपभोक्तालाई संरक्षणको जिम्मा दिइएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×