विकासका नाममा खोला दोहन बढ्यो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासका नाममा खोला दोहन बढ्यो

मापदण्डभन्दा बढी गिट्टीबालुवा निकाल्दा नदी र खोलाको गहिराइ बढेकाले खेतीयोग्य जग्गामा सिँचाइको समस्या
विप्लव महर्जन

सल्यान — पक्की भवन, सडक स्तरवृद्धि, कालोपत्र, पुल, पर्खालजस्ता विकास निर्माणको नाममा सल्यानमा खोला दोहन बढ्दै गएको छ । स्थानीय तहले आर्थिक स्रोत जुटाउने नाममा टेन्डर गरेर गिट्टीबालुवा र ढुंगा उत्खनन गर्ने जिम्मेवारी ठेकेदारलाई जिम्मेवारी दिएका छन् । ठूला योजनाका लागि कम्पनीले सम्बन्धित निकायको सहमतिमै उत्खनन गर्न पाउने भएपछि खोला दोहन बढ्दै गएको हो ।

सल्यानस्थित शारदा नदीको बीचबाटै डोजर लगाएर गिट्टीबालुवा उत्खननले परेका खाल्डाखुल्डी । तस्बिर : विप्लव/कान्तिपुर

दोहनका कारण जिल्लाको प्राकृतिक सम्पदाको रूपमा चिनिने शारदा, बबई नदी, बन्गाड, त्रिवेणी, मास खोला, संग्रहीलगायत जिल्लाभरिका अधिकांश खोला मात्र नभई खेतीयोग्य जग्गा र बस्तीसमेत जोखिममा परेका छन् । हिजोआज कतिपय खोलामा ढुंगा, बालुवा पाउनै मुस्किल हुन थालेको छ ।

स्थानीय तहबाट ठेक्का लिएका ठेकेदारले आईईईमा तोकेभन्दा बढी गिट्टीबालुवा निकाल्दा शारदा नदी, बन्गाड, त्रिवेणीलगायत खोलाको गहिराइ बढेकाले खेतीयोग्य जग्गामा सिँचाइको समस्या देखिएको छ । खोलाबाट माछासमेत हराउँदै गएका छन् ।

संरक्षण गर्ने जिम्मेवारी पाएको स्थानीय तहले नै स्थानीय स्रोतका नाममा टेन्डर गर्दै आएका छन् । विकास निर्माणको काममा गिट्टीबालुवा उत्खनन गर्न पाउने व्यवस्था मिलाएपछि कालीमाटी गाउँपालिकाभित्र पर्ने शारदा, बबई नदीलगायत अन्य खहरेखोलामा दोहन बढेको कालीमाटी गाउँपालिका ५ का स्थानीय तथा माओवादीका नेता पुरुषोत्तम भट्टराईले बताए । सम्बन्धित निकायले कहाँबाट उत्खनन गर्ने/नगर्ने मापदण्ड बनाए पनि विकासको काममा निर्माण कम्पनी, उपभोक्ता समितिलगायत अन्यले मापदण्डबाहिर गएर खोलाजन्य वस्तु उत्खनन गरिरहेको उनको भनाइ छ । ‘खोला दोहन तथा गिट्टीबालुवा उत्खननले गर्दा खेतीयोग्य जग्गा सिँचाइको अभावमा पाखोमा परिणत हुँदै आएका छन्,’ उनले भने, ‘केही स्थानमा नजिकै नदी भए पनि खोलाको गहिराइ बढेकाले खेतमा सिँचाइ गर्न कुलो नहुँदा पम्प सेट जडान गर्नुपर्ने अवस्था छ ।’ नदीको बीचभागबाट डोजर लगाई उत्खनन गर्न नपाइने भए पनि अहिले खुलेआम विकास निर्माणको काम गर्ने कम्पनीले डोजरले गिट्टीबालुवा तान्दै आएकाले शारदा नदीमा भएका ढुंगाहरू देखिन छाडेका छन् ।

जसका कारण खाल्डाखुल्डी भएकाले डुबेर ज्यान जान सक्ने अवस्था रहेको त्रिवेणी गाउँपालिका १ तल्नो काभ्राका खड्कबहादुर बस्नेतले बताए । दोहनका शारदाको गहिराइ बढ्दा वर्षात्को समयमा आउने भेलले विभिन्न किसिमको क्षति पुर्‍याउँदै आएको र नदी वारपार गर्न गाह्रो हुने उनले जनाए । जथाभावी खोला दोहन नगर्न बारम्बार आग्रह गर्दै आए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको उनको गुनासो छ । ‘विकास निर्माणका नाममा भएको दोहनले अहिले कसैले घर, शौचालय निर्माण गराउनुपर्दा सजिलै बालुवा पाइँदैन, धेरै तल पुग्नुपर्छ । उस्तै परे धेरै रकम खर्च गरेर भेरी नजिकैबाट टेक्टरमा घरसम्म ल्याउनुपर्छ,’ बन्गाड कुपिण्डे नगरपालिका १० ढोरपिपलका वर्ष ४५ का हेरम घर्तीले भने, ‘पहिला खोलामा प्रशस्त ढुंगा थिए । घर नजिकैको खोलामा माछा पाइन्थे । अहिले न ढुंगा छ, न माछा ।’

खोलाजन्य वस्तु उत्खननले जिल्लाका खेतीयोग्य जग्गामा सिँचाइका लागि किसानले विभिन्न किसिमका समस्या झेल्नुपरेको छ । सिँचाइका लागि बाँध बनाउनुपर्ने अवस्था आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले बताए । उत्खननले गर्दा केही खेतीयोग्य जग्गासमेत मासिएको उनले जनाए । जथाभावी उत्खननले खोलामा पानी पातलिने समस्या पनि आउने उनको भनाइ छ । विकास निर्माणको काम गर्दा निर्माण कम्पनीले खोला जन्य वस्तु उत्खनन गर्दा कतै कुलो, कतै खोलै पुरिए पनि अहिलेसम्म त्यस्तो गम्भीर खालको समस्या नआएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले सुनाए । केही वर्षअघि पालिकामा एक योजनाका लागि क्रसर सञ्चालन गर्दा केही समस्या आएको र अहिले बन्द भएकाले त्यत्ति समस्या नभएको उनको दाबी छ । पालिकाले गिट्टीबालुवा उत्खननका लागि प्रत्येक दुई वर्षमा आईईई गरेर मात्र टेन्डरको आह्वान गर्दै आएको उनको भनाइ छ ।

ठूला योजनाका लागि सम्बन्धित निकायबाटै गिट्टीबालुवा उत्खनन गर्न पाउने इजाजत आउने भएकाले पालिकाले त्यसमा कुनै रोक लगाउन नसकेको बताउँदै त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले उत्खनन गरेबापत कर मात्र लिँदै आएको सुनाए । पालिकाले सञ्चालन गरेको योजनाका लागि खोलाजन्य वस्तु उत्खनन गर्दा शुल्क नलाग्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रजिअी थमन खड्काले मापदण्ड नपुर्‍याई उत्खनन गरेकालाई कारबाही हुने बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

श्रीनगर डाँडालाई डढेलोबाट जोगाउन अग्निरेखा

कान्तिपुर संवाददाता

पाल्पा — पर्यटकीयस्थल श्रीनगर डाँडालाई डढेलोबाट जोगाउन बुधबारबाट अग्निरेखा बनाउने अभियान सुरु भएको छ । बजार क्षेत्रको माथिल्लो भागमा पैदल मार्ग रहेको स्थानमा अग्निरेखा बनाइएको हो । सदरमुकाम तानसेन नजिकैको श्रीनगर डाँडाको वन क्षेत्रमा सल्ला प्रजातिका रुख छन् । गर्मी याम सुरु भएपछि पटक–पटक यस क्षेत्रमा डढेलो लाग्दै आएको छ ।

तानसेन नजिकैको श्रीनगर डाँडा सल्लेरी वन क्षेत्रमा अग्निरेखा बनाउँदै सेना । तस्बिर : माधव अर्याल/कान्तिपुर

डढेलोले साना बिरुवा मार्ने र हुर्कन नदिने भएकाले त्यसलाई जोगाउन अभियान थालिएको डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले बताए ।

वन डढेलो जनचेतना सप्ताहअन्तर्गत कर्मचारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ता सहभागी भएर पैदल हिँड्ने क्षेत्र र बजार क्षेत्र पर्ने स्थानमा अग्निरेखा सरसफाइ गरेका छन् । नेपाली सेनाको दी फेमस महिन्द्र दल, सशस्त्र प्रहरी बल ३५ नम्बर गुल्म, प्रहरी, प्रशासन, रेडक्रस, डिभिजन वन, स्थानीय उपभोक्ता सहभागी छन् । पहिलो दिन तीन किलोमिटर क्षेत्रमा अग्निरेखा निर्माण गरिएको छ । तानसेन श्रीनगरडाँडाका साथै जिल्लाका सबै सबडिभिजनमार्फत जंगलमा अग्निरेखा निर्माण, सचेतना अभियान, झाडी सरसफाइ, अग्निरेखा निर्माण लगायतका काम भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले बताए ।

जिल्लाभित्रका वन जंगललाई डढेलोबाट जोगाउन अग्निरेखा र डढेलो व्यवस्थापनमा समुदाय परिचालन अभियान थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । समुदायको पहलमै जंगलमा लागेको डढेलो निभाउने, वन संरक्षण गर्ने अभियानसमेत चल्ने डढेलो व्यवस्थापन टास्कफोर्सका संयोजक तथा सहायक वन अधिकृत उपेन्द्र अर्यालले बताए ।

आगलागीबाट ठूलो जोखिममा भएकाले अग्निरेखा र डढेलो व्यवस्थापनमा जुट्न समुदायलाई बाध्य गराइएको समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले बताए । ‘वन डढेलो सप्ताहअन्तर्गत पनि समुदाय परिचालन भएको छ,’ उनले भने, ‘डढेलोसम्बन्धी जनचेतना जगाउन लोक कलाकारमार्फत पनि वनसभा गर्ने योजना छ ।’ सामुदायिक वनले आकस्मिक रूपमा हुने आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रण दलसमेत गठन गरेर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघका निरञ्जन भुसालले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×