कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

हेलिकोप्टरबाट नुन ढुवानी

कान्तिपुर संवाददाता

हुम्ला — साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका गाउँगाउँमा हेलिकोप्टरमार्फत नुन ढुवानी गर्न थालेको छ । कर्णाली करिडोरअन्तर्गत दुल्लीकुनादेखि लालीबगर खण्डमा सडक निर्माणको काम भइरहेकाले स्थलमार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगार्ड गाउँपालिका–६ को ग्युसीबाट हेलिकोप्टरमा नुन ढुवानी गर्न थालिएको हो ।

हेलिकोप्टरबाट नुन ढुवानी

नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै ग्युसीसम्म गाडीमा ल्याइएको हो । ग्युसीबाट खार्पुनाथका ५ वटा वडा र सदरमुकाम सिमकोटसम्म कैलाश एयरको हेलिकोप्टरबाट ढुवानी भइरहेको छ । सरकारले ढुवानी अनुदानमा हुम्लामा नुन बिक्रीवितरण गरिरहेको छ । साल्ट ट्रेडिङका शाखा प्रमुख राजबहादुर लामाले माथिल्लो हुम्लाका ३ वटा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका लागि चालु आर्थिक वर्षका लागि आएको २ हजार २ सय क्विन्टल नुन हेलिकोप्टरमार्फत ढुवानी भइरहेको बताए । उनका अनुसार अहिलेसम्म १ हजार ५ सय १२ क्विन्टल नुन ढुवानी भएको छ । ५ वटा वडा रहेको खार्पुनाथ गाउँपालिकाका सबै वडामा हेलिकोप्टरबाटै ढुवानी गरि १ हजार १ सय ९७ क्विन्टल नुन वितरण गरिएको उनले बताए । उनका अनुसार पालिकाका २१ वटै बस्तीमा नुन वितरण गरिएको छ ।

गाउँमै नुन पुगेपछि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएको स्थानीय अगुवा भीमबहादुर रावलले बताए । हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गरिरहेको छ । सिटमा भन्दा झुन्ड्याएर बढी नुन ढुवानी गर्न सकिने भएकाले हेलिकोप्टरमा झुन्ड्याएर नुन ओसार्ने काम भइरहेको शाखा प्रमुख लामाले बताए । ‘भित्र राख्नुभन्दा झुन्ड्याएर ल्याउादा ५० केजी बढी ढुवानी हुने रहेछ,’ उनले भने, ‘सरकारले नै ढुवानी भाडा तिर्ने भएकाले प्रतिकेजी ९ रुपियाामा नुन बिक्री गरिरहेका छौं ।’

प्रकाशित : फाल्गुन २४, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×