कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

हुम्लामा ब्लड बैंक नहुँदा रक्तदानमा सेना-प्रहरीको भर

जनकबहादुर शाही

हुम्ला — जिल्ला अस्पताल हुम्लामा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा सेना र प्रहरीको भर पर्नुपर्ने भएको छ ।

हुम्लामा ब्लड बैंक नहुँदा रक्तदानमा सेना-प्रहरीको भर

हुम्ला जिल्ला अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुनु र रगत आवश्यक परे सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने अवस्था रहेको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहका अनुसार बिरामीलाई रगत चाहिएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रगतको भर पर्नुपर्ने बाध्यता छ ।

पछिल्लो साता मात्रै सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँकी ४८ वर्षीया ल्वारनी रावललाई आकस्मिक रगत चडाउनु पर्ने भएपछि रक्त समूह मिल्ने उनको गाउँवासी र सिमकोटवासीलाई आग्रह गरियो । तर रक्तदानका लागि कोही पनि तयार नभएपछि अन्तिम अवस्थामा प्रहरी जवानबाट रगत पूर्ति गर्नुपरेको बिरामीका श्रीमान डबले रावल बताउँछन् ।

रावलका अनुसार रगत आवश्यक पर्नेबित्तिकै कोही तयार नभएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले नेपाल प्रहरीलाई खबर गर्दा बिरामीसँग रक्त समूह मिल्ने प्रहरी आएर रगत दिएका थिए ।

हुम्लामा यसपटक मात्रै हैन, वर्षेनि अस्पतालमा आवश्यक रगत जिल्लाकै सुरक्षाकर्मीहरूले उपलब्ध गराउँदै आएका छन् । अस्पतालमा यस वर्ष हालसम्म तीन जना बिरामीलाई रगत आवश्यक परेकोमा सबै जिल्लामा कार्यरत सुरक्षाकर्मीहरूबाटै उपलब्ध गराइएको प्रमुख सिंहले बताए । हुम्ला जिल्ला अस्पतालको रगत व्यवस्थापनको भरपर्दो माध्यम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएको उनको भनाइ छ ।

अस्पतालमा ब्लड बैंक नभएका कारण रगत संकलन गर्न नसकिने भएकाले अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई रगत आवश्यक परेमा तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरी आवश्यक रगत पूर्ति गर्नुपर्ने अवस्था रहेको सिंह बताउँछन् ।

अस्पतालका मेसु डा. कैलाश लामा भन्छन्, 'बिरामीलाई रगत अभाव हुँदा अस्पतालले सेना र प्रहरीलाई ब्लड बैंकको रुपमा लिनु हाम्रो बाध्यता छ । बिरामीलाई आवश्यक पर्ने रगत पूर्तिको एक मात्र उपाय जिल्लामा कार्यरत सुरक्षाकर्मी मात्रै बनेका छन् ।'

प्रकाशित : फाल्गुन २४, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×