कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

दुर्गमका पालिकामा बस्न मान्दैनन् अधिकृत

विकास निर्माणको चापले गति लिने बेला अधिकृत सरुवा हुँदा नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन्
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा लामो समयदेखि विकास निर्माणको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लको एक महिनाअघि सरुवा भएपछि अहिले पनि निमित्तकै भरमा कामकाज भइरहेको छ ।

दुर्गमका पालिकामा बस्न मान्दैनन् अधिकृत

कार्यालय प्रमुख नहुँदा योजना कार्यान्वयन, बजेट भुक्तानी, पालिका बैठक, मन्त्रालयमा अपुग बजेट माग, कर्मचारी अनुगमन, प्रगति प्रतिवेदनको काममा बाधा भएको गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उनका अनुसार यो वर्ष पालिकाले १ सय ८६ वटा योजनामा ४५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । तर ४४ वटा योजनामा मात्र काम सुरु भएको छ । ती पनि सबै टुक्रे योजना हुन् ।

गाउँपालिकामा कार्यालय प्रमुख र लेखापाल बस्नै नमान्ने समस्या रहेको स्थानीय अगुवा कर्णजंग शाहीले बताए । ‘यहाँ त कर्मचारी सरुवा कहिल्यै निको नहुने रोगजस्तै भयो,’ उनले भने, ‘न हेर्न लायक कुनै विकास भएको छ, न सेवा प्रवाह नै छिटोछरितो ।’ उनले कार्यालय प्रमुख नहुँदा अन्य कर्मचारीहरू गैरजिम्मेवार बन्न थालेको बताए । ‘कार्यालय प्रमुख भए पो कर्मचारीको निगरानी हुन्थ्यो, सेवाग्राहीले छिटोछरितो सेवा पाउँथे,’ उनले भने, ‘जसका कारण सेवाग्राही सानो कामका लागि २/३ दिन धाउन बाध्य छन् ।’ धयसअघिका गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीको कार्यकाल अधिकृत खोज्दैमा बितेको उनको भनाइ छ । राजनीतिक खिचातानीले सोरुमा कर्मचारी आउन नचाहने समस्या देखिएको एक कर्मचारीले बताए । ‘जनप्रतिनिधिले सानासाना काममा पनि दबाब दिने, तर ती काम गर्दा आफूले रिक्स मोल्नुपर्ने,’ उनले भने, ‘जनप्रतिनिधिका सबै काममा राजनीति स्वार्थ हुन्छन्, हामीले निश्चित कानुनमा टेकेर काम गर्नुपर्छ ।’ उनले सोरुमा अघिल्लो कार्यकालमा अल्पमत र बहुमतका कारण कार्यपालिका बैठक र गाउँसभा लामो समय अनिर्णीत भएकाले पनि कर्मचारीलाई काम गर्ने वातावरण नबनेको बताए । अहिले पनि गाउँ कार्यपालिकामा कुनै पनि पार्टीको स्पष्ट बहुमत छैन । जसका कारण पनि अधिकृतहरूले सोरुलाई आकर्षक स्थानीय तह नमानेको उनको भनाइ छ ।

पालिका स्थापना भएपछि सुरुमा सुन्दर वान्तवा गाउँपालिकामा आए भने उनीपछि तीर्थराज शाही र पशुराम उपाध्याय फेरिए । केही समय नायब सुब्बा धान्ने बुढाले निमित्तको जिम्मेवारी सम्हाले भने भीमराज सेजुवाल, वीरेन्द्र मल्ल, लालबहादुर मल्ल, तीर्थराज शाही, पूर्णबहादुर सेजुवाल, प्रवेश बडुवाल, पूर्णबहादुर सेजुवाल र हरिशचन्द्र शर्माले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेको गाउँपालिकाले जनाएको छ । विकास निर्माणको चापले गति लिने बेला अधिकृत सरुवा हुँदा स्थानीयले स्थानीय सरकारको अनुभूति गर्न नसकेको वडा नं. ९ का अध्यक्ष सागरशमशेर शाहीले बताए । बारम्बार अधिकृत फेरिँदा वडादेखि पालिकाका अधिकांश पूर्वाधार अधुरै रहेको उनको भनाइ छ । उनका अनुसार डब्लूएफपीको सहयोगमा आरआरडीसी नामक संस्थाले सोरुकोटमा दुईतले भवन निर्माण गरिदिएपछि पालिकाको कार्यालय स्थापना गरिएको छ । आफैं जग्गा खरिद गर्ने र भवन निर्माण गर्ने प्रक्रिया भने अझै सुरु नभएको उनले बताए । ‘११ वटै वडा कार्यालय भाडामै छ, संस्थाले बनाइदिएको भवनमा पालिकाको कार्यालय राखिए पनि पर्याप्त नहुँदा कर्मचारी बस्न र सेवा प्रवाहमा समस्या छ,’ उनले भने, ‘विकास निर्माणका काम भद्रगोलजस्तै छन्, अधिकांश स्वास्थ्यचौकी र विद्यालय भवन जीर्ण छन् भने ५ वडामा अझै सडक पुगेको छैन ।’

गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही पनि कसरी अधिकृत टिकाउने भन्ने चिन्ता सधैं हुने बताउँछन् । उनका अनुसार गाउँपालिका झन्डै ९ महिना लेखापालविहीन बन्यो । पुसदेखि बल्ल पुरानै लेखापाल जेठबहादुर बुढा गाउँपालिकामा फिर्ता भएका छन् । ‘लेखापाल त आए, प्रमुख प्रशासकीय अधिकृत गए,’ उनले भने, ‘सामान्य प्रशासन मन्त्रालयमा ताकेता गरिरहेको छु, अझै कोही आउँदैनन् ।’ अधिकृत नहुँदा योजना सम्झौता, बजेट भुक्तानी, अनुगमन, पालिका बैठकलगायतको काममा समस्या भएको उनले गुनासो गरे ।

प्रकाशित : फाल्गुन २१, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×