२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

जोखिम मोलेर पुल तर्न बाध्य

पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन्, तारजाली खियाले चुडिएको छ
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो ।

जोखिम मोलेर पुल तर्न बाध्य

मुगु कर्णाली नदीमा २०३९ सालमा निर्मित कुलाहा झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ । खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए । उनका अनुसार पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुडिएको छ । ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जनाभन्दा बढीले पुल तर्न सकिँदैन,’ उनले भने, ‘हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’ छेदविच्छेद भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए । उनका अनुसार हिँउद लागे पनि कर्णाली नदीको बहाब नघटेकाले अहिले पनि नदी तर्न सकिँदैन ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्छन् । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए । उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ । ‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’ उनले भने, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पुर्‍याउन सकिएको छैन ।’

सोरु गाउँपालिकास्थित नेरघाट झोलुंगे पुल पनि लामो समयदेखि जीर्ण छ । गत वर्षायाममा माथिबाट ढुंगा खस्दा पुलमा क्षति भएको हो । २०५२ सालमा निर्माण गरिएको उक्त पुल झन्डै ८ महिनादेखि मर्मत गरिएको छैन । उक्त पुल जीर्ण भएपछि नेर र हुम्लाको जैर गाउँका स्थानीयलाई वारिपारि गर्न समस्या भएको छ । बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भए पनि कम बजेट हुँदा समस्या भएको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उनका अनुसार पालिकाभरि कति पुल जीर्ण भएका छन् र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्नेबारे तथ्यांक संकलन भइरहेको छ ।

गत असोज महिनामा भएको वर्षाका कारण जिल्लाभरिका १३ पुल तहसनहस भएका भएका थिए । पञ्चायतकालदेखि अहिलेसम्म जिल्लाका ४ स्थानीय तहमा रहेका विभिन्न खोला र नदीहरूमा ६५ वटा झोलुंगेपुल निर्माण गरिएको जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्कीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?