२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

नलगाडमा १० बालीको पकेट क्षेत्र

हरिहरसिंह राठौर

जाजरकोट — नलगाड नगरपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर हुन १० वटा बालीलाई प्राथमिकता दिएको छ । नगरपालिकाले १, २ र ४ नम्बर वडालाई मौरीपालन, ३ नम्बर वडालाई सुन्तला, ९, १० र ११ वडालाई लसुन र ७ र ८ नम्बर वडालाई धानको पकेट क्षेत्र बनाएको छ । त्यस्तै ५ नम्बर वडालाई मकै, वडा नं. ३ र ६ लाई आलु, १३ नम्बर वडालाई फलफूल तथा २, ४, ५, ७ र ८ वडामा तरकारी खेतीमा प्राथमिकता दिएको छ ।

क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ६ सय हेक्टरमा हिउँदे आलु, १० हेक्टरमा गहुँको बीउ उत्पादन, १ सय ९० हेक्टरमा तोरी, ६ हेक्टरमा प्याजको बीउ र १० हेक्टरमा लसुनको बीउ लगाइएको कृषि शाखाका प्राविधिक बालकृष्ण आचार्यले बताए । उनका अनुसार प्याज, रायो र मुलाको उन्नत बीउ वडा नं. ५ को रानीखेतमा उत्पादन भइरहेको छ । नलगाडको उत्पादन सुर्खेत, नेपालगन्ज, काठमाडौं र डोल्पासम्म बिक्री हुने गरेको छ । पकेट क्षेत्र बनाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधा, कृषिमा यान्त्रिकीकरण र उपयुक्त समयमा मल उपलब्ध गराइएको उनले जानकारी दिए ।

‘भेरी करिडोरसँग अधिकांश भू–भाग जोडिएका कारण यहाँको उत्पादन बाहिर लैजान सहज छ,’ उनले भने, ‘हामीले १० वटा बालीलाई निर्यातमुखी बनाइरहेका छौं ।’ स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कृषिमा लगानीसँगै नलगाडको उत्पादनको माग बढ्दै गएको र भाउ पनि बढिरहेको युवा किसान अर्जुन सिंहले बताए । उनले झन्डै ५ रोपनीमा लसुन खेती गरिरहेका छन् ।

आयातित कृषिजन्य उत्पादन रोक्न पनि पकेट क्षेत्रको अवधारणा अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वताए । उनका अनुसार मह, लसुन, मकैलगायत कृषिजन्य उत्पादन जिल्लाबाहिर जान थालेको छ । पालिकाको ३८ हजार ७ सय हेक्टरमध्ये २ हजार ४ सय खेतीयोग्य जमिन छ, जसमध्ये २७ सय ५६ हेक्टरमा खेती गरिएको उनले बताए । खेतीका लागि २३ वटा महिला र २ वटा पुरुष कृषक समूहलाई सक्रिय बनाइएको छ । पालिकाको तथ्यांकअनुसार गत वर्ष ३ मेट्रिक टन मह, २५ टन सुन्तला र १ सय ५० टन लसुन उत्पादन भएको थियो । पालिकाले यो वर्ष कृषि क्षेत्रका लागि झन्डै ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×