कर्णालीमा उत्पादन हुन्छन् १० प्रकारका आयुर्वेदिक औषधि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
वीरेन्द्रनगर — कर्णालीमै १० प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अश्वगन्धा, सितो पलादी, आमलकी, अविपतिकर, अमृत चिया, पिडाहर तेललगायत औषधि उत्पादन गरिरहेको छ । अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ सालबाटै ती औषधि उत्पादन गरिरहेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कर्णालीमा उत्पादन हुन्छन् १० प्रकारका आयुर्वेदिक औषधि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/miscellaneous/0502kaimg71d250c119422e9f3b440bde6892e363v-0722023084838-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उत्पादित औषधिहरू अस्पताल र कर्णालीका अन्य जिल्लाका आयुर्वेद संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गरिँदै आएको छ । यसरी उत्पादन हुने औषधिहरू बनाउन कार्यालयले कृषकहरूबाट सिधै जडीबुटी खरिद गर्ने अस्पतालका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । उनका अनुसार कर्णालीका किसानहरूबाट जडिबुटीहरू किनेर औषधि उत्पादन भइरहेको हो । कर्णालीमा उपलब्ध नभएका जडीबुटीहरू भने नेपालगन्ज, काठमाडौं र भारतसम्मबाट ल्याउने गरिएको छ ।
औषधि उत्पादनका लागि अस्पताललाई प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ । जसका लागि वार्षिक १० देखि १५ लाखसम्म बजेट प्रदेश सरकारले व्यवस्था गरिरहेको डा. रिजालले बताए । उनका अनुसार यो वर्ष ७ लाख रुपैयाँ प्रदेश सरकारले दिएको छ । प्रदेश सरकारबाट बेच्ने अनुमति पनि नलिएकाले बिक्री भने हुन नसकेको उनको भनाइ छ । ‘अहिले स्रोतसाधन पर्याप्त नहुँदा कम मात्रै औषधि उत्पादन भइरहेको छ,’ उनले भने, ‘बजेट र जनशक्ति पर्याप्त भए आयुर्वेद औषधिहरूको बजारीकरण गर्न सकिन्छ ।’ उनका अनुसार औषधि उत्पादनका लागि कार्यालयकै जनशक्ति प्रयोग भइरहेको छ । आवश्यक स्रोत र जनशक्ति भए देशबाहिर पनि औषधि पठाउन सकिने उनी बताउँछन् । ‘यस्तो भयो भने करोडौं पर्ने जडीबुटीहरूलाई कौडीको मूल्यमा बेच्न पर्दैन,’ उनले भने, ‘कर्णालीको आर्थिक कारोबार बढाउन पनि सहयोग पुग्थ्यो ।’ उनका अनुसार कार्यालयमा कर्मचारीको पनि अभाव छ । डा. रिजालका अनुसार २६ जनाको दरबन्दी भएको संस्थालाई १० कर्मचारीले मात्र धानिरहेका छन् ।
कार्यालयको कार्यक्षेत्र धेरै भए पनि कर्मचारीको संख्या कम हुँदा काम गर्न समस्या भएको उनले गुनासो गरे । अस्पतालमा दैनिक १ सय बिरामीसम्मले उपचार सेवा लिइरहेका छन् । अध्ययन–अनुसन्धानका लागि पनि कार्यालयबाटै काम भइरहेको उनले बताए । ‘आयुर्वेद औषधि उत्पादन र प्रशोधन गर्ने काम पनि संस्थाले गरिरहेको छ,’ उनले भने, ‘एकै संस्थाले धेरै काम गर्दा धेरै लोड पर्यो ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)