२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सल्यानको त्रिवेणीमा विपन्नलाई बाख्रा र बंगुरका पाठापाठी वितरण

विप्लव महर्जन

सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिकाले बिहीबार पालिकाका ३० किसानलाई उन्नत जातका बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको छ । विपन्न, एकल महिला तथा लक्षित वर्ग विशेष कार्यक्रमअन्तगत पालिकाले किसानलाई बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको हो ।

सल्यानको त्रिवेणीमा विपन्नलाई बाख्रा र बंगुरका पाठापाठी वितरण

पालिकाले शतप्रतिशत अनुदानमा विपन्न, एकल तथा लक्षित वर्गमा पर्ने २१ किसानलाई प्रतिव्यक्ति १ बाख्रा र ९ किसानलाई प्रतिव्यक्ति बंगुरका २ पाठापाठी वितरण गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । वितरण गरिएका बाख्रा र बंगुरका पाठापाठी ३ लाख रुपैयाँ बराबरको रहेको उनले जनाए ।

अध्यक्ष रावतका अनुसार बेरोजगारीका कारण विपन्न तथा लक्षित वर्गका पुरुष कमाई गर्न भारत जान बाध्य छन् । उनीहरुले आउँदा दिनमा घरमै रोजगारी पाउन र बाहिर जान नपरोस् भन्ने उद्देश्य पालिकाको रहेको अध्यक्ष रावतले बताए ।

पालिकाभित्रका किसानलाई पशुपालनमा आत्मनिर्भर बनाउन तथा पशुपालनतर्फ उत्प्रेरित गर्न प्रत्येक वर्ष बाख्राका पाठापाठी वितरण गर्दै आएको उनले जानकारी गराए ।

पालिकाका पशु शाखा प्रमुख वसन्त रावतले विपन्न, एकल तथा लक्षित वर्गलाई वितरण गरिएको बाख्रा र बंगुरका पाठापाठी सबैको बिमा गरिएको बताए । उनले पशुपालनमा आत्मनिर्भर बनाउन किसानलाई अनुदानमा भैँसीसमेत उपलब्ध गराउँदै आएको बताए । अनुदानमा बाख्रा, बंगुर र भैँसी दिन थालेपछि त्रिवेणी गाउँपालिकामा पशुपालनमा किसान उत्साहित भएको उनको भनाइ छ ।

प्रकाशित : माघ १९, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?