अनधिकृत संरचना भत्काउँदै शारदा नगरपालिका- कर्णाली - कान्तिपुर समाचार

अनधिकृत संरचना भत्काउँदै शारदा नगरपालिका

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू शारदा नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ । आधुनिक बसपार्क निर्माणका लागि ती संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरे पनि सबै स्थानीयले घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाई भत्काउन सुरु गरेको हो ।

अस्थायी बसपार्क वरिपरि ३५ रोपनी ऐलानी जग्गा अतिक्रमण गरी स्थानीय तथा आसपासका व्यक्तिहरू ८५ घरटहरा निर्माण गरी झन्डै तीन दशकदेखि बसोबास र ब्यापार व्यावसाय गर्दै आएका छन् । तिनै घरटहरा हटाउन शारदा नगरपालिकाले एक स्काभेटर र दुई डोजर प्रयोग गरेको हो ।

घरटहरा हटाउन केहीले नमानेपछि उनीहरूलाई नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले तीन दिनभित्र खाली गरेर हटाउन फेरि अल्टिमेटम दिएका छन् । ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउँदा विवाद हुनसक्ने भन्दै नगरपालिकाले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीका अनुसार आइतबार मात्रै दुई दर्जनभन्दा बढी घरटहरा भत्काइएको र बाँकी घरटहरा पनि डोजर लगाई भत्काउने काम भरहेको छ । कतिपय स्थानीयले भने आफैंले घरटहरा भत्काएर घरका सामग्री लिएर अन्यत्र गएका छन्।

साथै नगरप्रमुख भण्डारीले श्रीनगरमा आधुनिक बसपार्क निर्माणका क्रममा कुनै पनि विवाद नभएको र केही व्यक्तिले मात्र अटेर गरेको दाबी गरेका छन्। ‘घरटहरा भत्काएर सामान व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गरेको छ,’ उनले भने ‘जग्गा तथा घर नभएकालाई कोठाभाडा उपलब्ध गराएर बस्ने व्यवस्था मिलाइएको छ ।’


नगरपालिकाका अनुसार आधुनिक बसपार्क निर्माणका लागि तीन पटक प्रत्येक वर्ष ६० करोडभन्दा बढी बजेट आएको छ । तर स्थानीयले यसअघि विरोध गरेका कारण निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । ‘अहिले बजेट आएको छैन । फोहर तथा अन्य व्यवस्थापनका लागि नगरपालिकाले ११ औं नगरसभाबाट १ करोड बजेट बिनियोजन गरेको छ । उक्त बजेट पर्याप्त नभएकाले प्रदेस तथा संघमा माग गरेका छौ,’ उनले भने ‘शारदा नगरपालिका १ को श्रीनगर जिल्लाकै प्रमुख ब्यापारिक क्षेत्र हो । बजार क्षेत्रभित्रै रहेको अस्थायी बसपार्कलाई आधुनिक मात्र नभई सुन्दर तथा समृद्ध बनाउने सबैको दायित्व हो । बजारका साथै आधुनिक बसपार्क बनाउन सबैको सहयोग चाहिन्छ । सबैले साथ दिए मात्र आधुनिक बसपार्क सम्भव छ ।’

जिल्लाका १० स्थानीय तहमा विगतदेखि २ हजार हेक्टरभन्दा बढी ऐलानी जग्गा अतिक्रमण गरी घर निर्माण तथा जग्गा बनाइ जिल्लावासीले बसोबार तथा खेतीपाती गर्दै आएका छन् । केहीले ब्यापार व्यवसायसमेत गर्दै आएका छन् तर शारदा नगरपालिका भन्दा अन्य पालिककाले ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन कुनै प्रक्रिया अगाडि बढाएका छैनन् ।


प्रकाशित : माघ २, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा आफ्नै मामाद्वारा भान्जाको हत्या

विप्लव महर्जन

सल्यान — सल्यानमा धारिलो हतियार प्रयोग गरेर आफ्नै मामाले ८ वर्षीय भान्जाको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका २४ वर्षीय डम्मर पुरीले ८ वर्षका भान्जा भिजन घर्तिलाई आइतबार दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 


गिरीले घर नजिकैको मन्दिरभित्र लगेर भान्जाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताएका छन् । गिरीले भान्जाको शरीरबाट टाउको अलग पारेको उनले जानकारी दिए ।

उनका अनुसार मानसिक सन्तुलन ठिक नभएका गिरीलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । भान्जाको हत्या गरेका गिरीले शव मन्दिरभित्रै खाल्डा खनी गाडेको प्रहरीले जनाएको छ । अहिले घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रनाउ केसीले बताए ।

हत्याको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएकै कारण हत्या गरेको हुन सक्ने बुझिए पनि हत्या गर्ने गिरी मानसिक रोगी भए नभएको स्वास्थ्य परीक्षणपछि मात्र खुल्ने उनले जानकारी दिए ।

उनका अनुसार स्थानीयले फोनमार्फत खबर गरेपछि घटनाबारे खुलेको थियो ।

प्रकाशित : माघ १, २०७९ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×