सल्यानमा आफ्नै मामाद्वारा भान्जाको हत्या

विप्लव महर्जन

सल्यान — सल्यानमा धारिलो हतियार प्रयोग गरेर आफ्नै मामाले ८ वर्षीय भान्जाको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका २४ वर्षीय डम्मर पुरीले ८ वर्षका भान्जा भिजन घर्तिलाई आइतबार दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 


गिरीले घर नजिकैको मन्दिरभित्र लगेर भान्जाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताएका छन् । गिरीले भान्जाको शरीरबाट टाउको अलग पारेको उनले जानकारी दिए ।

उनका अनुसार मानसिक सन्तुलन ठिक नभएका गिरीलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । भान्जाको हत्या गरेका गिरीले शव मन्दिरभित्रै खाल्डा खनी गाडेको प्रहरीले जनाएको छ । अहिले घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रनाउ केसीले बताए ।

हत्याको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएकै कारण हत्या गरेको हुन सक्ने बुझिए पनि हत्या गर्ने गिरी मानसिक रोगी भए नभएको स्वास्थ्य परीक्षणपछि मात्र खुल्ने उनले जानकारी दिए ।

उनका अनुसार स्थानीयले फोनमार्फत खबर गरेपछि घटनाबारे खुलेको थियो ।

प्रकाशित : माघ १, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्

यति विमान दुर्घटना : १२ शवको पहिचान, चार जनाको खोजी जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ४ जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा खटिएका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकरीले चार जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सेती नदीमा परिचालन गरेका छन्

दुर्घटनामा परेका ६८ जनाको शव संकलन गरिसकिएको छ । यति एयरलाइन्सले पनि ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा परेका अन्य चार जनाको खोजी भइरहेको छ ।

खोज तथा उद्धार समन्वयन केन्द्रले शव प्राप्त भएकामध्ये १२ जनाको सनाखत गरिएको जानकारी दिएको छ । बाँकीको पनि सनाखत प्रक्रिया जारी रहेको बताइएको छ ।

प्रकाशित : माघ १, २०७९ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×