हावाहुरी चल्दा हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हावाहुरी चल्दा हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि चलेको हावाहुरी शुक्रबार पनि चलेकाले हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । 

हुम्लालाई अन्तरजिल्ला जोड्ने हवाई सेवा भए पनि दुई दिनदेखि बन्द हुँदा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान आउन सकेको छैन । उडान नहुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । घाम लागेपछि दिनहुँ उडान भर्ने निजी विमान कम्पनीका जहाज हावाहुरी चलेर अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए । ४५ मिनेट समय लगाएर दैनिक नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् ।

अहिलेसम्म राष्ट्रिय सडक संजालसँग नजोडिएको एकमात्र जिल्ला हुम्ला हो ।

प्रकाशित : पुस २२, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली क्षेत्रमा तोतङरी ल्होसार मनाइँदै

जनकबहादुर शाही

हुम्ला — हिमाली क्षेत्रका लामा समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५० शनिबारबाट सुरु भएको छ । पुष कृष्ण चतुर्दशीका दिनदेखि मनाउने गरिए पनि तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष पर्व भने पुष शुक्ल प्रतिपदाबाट विविध कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

तोतङरी ल्होसार पर्व पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतको रुपमा मनाउने गरिन्छ । ल्होतर पात्रो (लामा समुदायको पात्रो) अनुसार पुष शुक्ल प्रतिपदा शनिबारदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । पूर्वको सोलुखुम्बुदेखि चीनको स्वशासित तिब्बतको डिघर्चीसम्म हिमाली क्षेत्रमा बसोबास गर्ने लामा भोटे र ब्यासी समुदायमा यो पर्व प्रचलित रहेको लामा सांस्कृतिक मञ्च हुम्लाका अध्यक्ष धर्मानन्द लामाले बताए । हरेक वर्ष पुष शुक्ल प्रतिपदाका दिनदेखि मनाइने चाड लामा र ब्यासी जातिको मुख्य पर्व हो । यो पर्व वसन्त पञ्चमिसम्म मनाइने उनले जानकारी दिए ।

ल्होसारका १२ वट वर्ष मुसा, हात्ती, बाघ, खरायो, मेघ, सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुँगुर र भेडा गरी १२ वर्गमा तोतङरी ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले लामा र ब्यासी समुदाय प्रकृतिपूजक रहेको पनि बताइन्छ ।

सोनाम, तमु र ग्याल्बु ल्होसारमा नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको भए पनि तोतङरी ल्होसारमा सरकारले सार्वजनिक बिदा दिने गरेको छैन । तोतङरी ल्होसार तथा लामा र ब्यासी समुदायको नव वर्ष २१५० को अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना सन्देश दिँदै कर्णालीवासीसँगै सम्पूर्ण नेपालीहरुबीच एकता, सदभाव र सहिष्णु कायम गरी समृद्ध कर्णाली निर्माणमा सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

प्रकाशित : पुस १०, २०७९ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×