कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा हिमपात

उच्च हिमाली क्षेत्रमा ३ फिटसम्म हिउँ
सदरमुकाम सिमकोटकै तापक्रम माइनस ११ डिग्री
छपाल लामा

हुम्ला — पहिलेको हिउँ नपग्लिँदै पुनः हिमपात भएपछि हुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम सिमकोटसहित जिल्लाभर सोमबार बिहानबाट हिमपात जारी छ । हिमपातकै कारण तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको हुम्ला विमानस्थलले जनाएको छ । उच्च हिमाली क्षेत्रको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म पुगेको अनुमान छ ।

हुम्लामा हिमपात

हिउँ परिरहेकोले घर बाहिर निस्कनै समस्या भएको यारीका छोजुम लामाले बताए । उनका अनुसार यारी आसपासका गाउँमा एक सातादेखि बादल लाग्ने र सामान्य हिमपात हुने गरेको थियो । ‘सोमबार त दिनभरि हिउँ पर्‍यो छ,’ उनले टेलिफोनमा भने, ‘बस्तुभाउ बाहिर निकाल्न सकेका छैनौं, दिनभर आगो तापेर र झोलिलो खानेकुरा खाएर घरभित्रै बसिरहेका छौं ।’ सोमबार सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ भने माथिका गाउँहरूमा झन्डै ३ फिटसम्म हिउँ जमेको अनुमान छ ।

नाम्खा गाउँपालिकाका लिमी, मुचु, खगालगाउँ, स्याडा, हेप्क्कालगायत गाउँहरू सेताम्मे भएका छन् । नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले गाउँमा परेको हिउँ बिलाउन कम्तीमा एक महिना लाग्ने बताए । ‘एक फिटजति हिउँ पहिल्यै थियो, अहिले झन् थपिएपछि कम्तीमा एक महिना घरभित्रै थुनिनुपर्ने भयो,’ उनले भने, ‘हिमपातअघि नै कम्तीमा २ महिनाका लागि खाद्यान्न र अन्य सामानको जोहो गरेकाले समस्या भने हुँदैन ।’

हिमपात भएपछि बाली सप्रिने हुँदा किसान भने उत्साहित देखिएका छन् । हिउँ परेपछि खडेरीले सुक्न लागेको बालीमा राहत पुगेको खार्पुका जयबहादुर रावलले बताए । ‘हिउँ परेपछि हिमाली बस्तीमा सुविकाल आउँछ,’ उनले भने, ‘अब बालीनाली, स्याउ र अरू फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ पशुचौपाया चरन गर्न र घाँसदाउरा ल्याउन भने समस्या भएको उनको भनाइ छ ।

हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि असोज अन्तिम साता र दुई साताअघि पनि भारी हिमपात भएको थियो । औंलतिरका बस्तीमा पहिले परेको हिउँ बिलाए पनि उच्च हिमाली क्षेत्रमा पहिलेको हिउँ नबिलाउँदै फेरि हिमपात भएको हो । हिमपातका कारण सोमबार कुनै उडान नभएको सिमकोट विमानस्थल प्रमुख मोहन गिरीले बताए । सिमकोट बजारक्षेत्र पनि सुनसान छ । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको संख्या पनि न्यून भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘बर्सेनि हिउँ पर्ने भएकाले स्थानीयले आवश्यक बन्दोबस्त यसअघि नै गरिसकेका छन्,’ उनले भने, ‘हिउँ पर्न रोकिएपछि विमानस्थलको हिउँ पन्छाएर उडान सुरु गरिनेछ ।’

प्रकाशित : पुस १३, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?