कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

घरघरमा थन्कियो अदुवा

त्रिवेणी गाउँपालिकालाई सरकारले अदुवा ब्लक घोषणा गरेको छ
हरि गौतम

रुकुम पश्चिम — बजार नपाउँदा त्रिवेणी गाउँपालिकाका किसानहरूको अदुवा गाउँगाउँमा थन्किएको छ । अदुवा बिक्री नभएपछि किसान निराश छन् । त्रिवेणी गाउँपालिकालाई सरकारले अदुवा ब्लक घोषणा गरेको छ । सबैभन्दा बढी अदुवा १ नम्बर वडाका किसानको घरघरमा थुप्रिएको हो ।

घरघरमा थन्कियो अदुवा

कतिले गाउँनजिकको बजार पुर्‍याएका छन् कतिले घरमै थुपारेका छन् । तर अदुवा बिक्री भइरहेको छैन । गत वर्ष कृषि विकास कार्यालयको २० लाख र किसानको २० लाख गरी ४० लाख रुपैयाँ बजेटबाट १ नम्बर वडामा अदुवा लगाइएको थियो । अदुवा ब्लकअन्तर्गत उत्पादन भएको अधिकांश अदुवा घरमै थन्किएको स्थानीय किसान प्रेमबहादुर ओलीले बताए । ‘घाटामा कसरी अदुवा बेच्ने ?’ उनले भने, ‘व्यापारीले १२ देखि १५ रुपैयाँमा अदुवा किन्न खोजेका छन् । तर लागतभन्दा कम मूल्यमा अदुवा बिक्री गर्न सकिएन ।’ उनका अनुसार १ नम्बर वडामा मात्रै करिब २५ सय क्विन्टल अदुवा उत्पादन भएको छ । तर यसबाट एक किलो अदुवा पनि बिक्री हुन सकेको छैन ।

विगतका वर्षमा घरघरै आएर अदुवा किन्ने व्यापारी यो वर्ष न्यून मूल्य सुनाएरै पन्छिने गरेको किसानहरूले बताएका छन् । सरकारको सहयोगपछि अदुवा उत्पादन र उत्पादन गर्ने क्षेत्र बढाएका किसान अब डराउनुपर्ने अवस्था आएको किसान रामबहादुर सुनारले बताए । ‘आफैं पनि अदुवा खेती गर्थ्यौं, यो पटक सरकारले समेत ५० प्रतिशत सहयोग गरेपछि खेती गर्ने क्षेत्र र उत्पादन दुवै बढायौं,’ उनले भने, ‘यसै वर्ष यो हालत व्यहोर्नुपर्ने भयो ।’

उत्पादन भएको अदुवाको व्यवस्थापन सरकारले गर्नुपर्ने स्थानीय मनकुमारी सुनारले बताइन् । ‘लागत मात्रै बेहोरेर भए पनि अदुवाको व्यवस्थापन भए हुन्थ्यो,’ उनले भनिन्, ‘तेत्रो दुःख गरेर फलाएको अदुवा कुहाउन चाहन्नौं ।’ गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले अदुवाका लागि बजारको अभाव भएको बताए । उनका अनुसार केही व्यापारीले बजारमा एकाधिकार जमाएर भाउ घटाएका हुन् । उनले अदुवाको बजारीकरणका लागि विभिन्न निकायसँग सहजीकरण गरिरहेको जानकारी दिए ।

प्रकाशित : पुस ८, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×