२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

चिसो छल्न तातोपानी

मुगु — अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीयवासी चिसो छल्न तातोपानी कुण्ड जान थालेका छन् । पुस सुरु भएपछि छायाँनाथ–रारा नगरपालिकाको भुसेकुना तातोपानी कुण्ड र सोरु गाउँपालिकाको जिमा–कुलाहाँ तातोपानी कुण्डमा स्थानीयको भीड लाग्ने गरेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको जैर, लुमछहरा उनापानी खोला र सरीसल्ला तातोपानी कुण्डमा पनि जिल्लावासी जाने गरेका छन् । जाडो बढेसँगै तातोपानी कुण्डमा महिला पुरुष र बालबालिकाको भीड लाग्ने गरेको छ । लुमछहरा तातोपानी कुण्डमा जैर, तुम्च, श्रीनगर गल्फा, मुगुको फोतु, लिब्रु, नेहलगायत गाउँबाट स्थानीयको ओइरो लाग्ने गरेको छ ।

तातोपानीभन्दा टाढा बस्तीका स्थानीय बन्दोबस्ती र खाना बोकेर दुई/तीन दिन तातोपानी कुण्ड नजिकै बस्न आउने गरेका छन् । नगरपालिकाको भुसेकुना तातोपानी कुण्डमा रुघा, बाम, श्रीनगर, छत्याडबाडा, कार्कीबाडा, पिना, थार्प, लुम, रोवा, गमगढीलगायत बस्तीका स्थानीय आउन थालेपछि भीड बढ्दै गएको छ ।

केही स्थानीयवासी एक सातासम्म बसेर दैनिक कुण्डमा नुहाएर फर्कन्छन् । चिसोले धाराको पानीले नुहाउन र कपडा धुन नसकिने भएकाले तातोपानी कुण्डमा जाने गरेको रुघा गाउँका धनजित लावडले बताए । तातोपानीले गर्दा हिउँद कटाउन सजिलो भएको उनको भनाइ छ । अधिकांश बासिन्दाले बिहान–साँझ कुण्डमा बस्ने गरेका छन् । राति ओडारमा आगो बालेर ताप्दै तातोपानीमा नुहाउने गरेको स्थानीयको भनाइ छ । पुस लागेपछि तातोपानी कुण्डमा मानवीय चहलपहल निकै बढ्ने गरेको छ । जिमाकुलाहाँ तातोपानी कुण्डमा नार्थपु, भीई, सोरुकोट, सीप, रारा, गिलाहा, धैनकोट, खनायालगायत बस्तीका स्थानीय बर्सेनि नुहाउन आउने गरेका छन् ।

युवायुवती तातोपानी कुण्डमा गएर नुहाउँदै देउडा खेलेर रमाइलो गर्ने लावडले जनाए । बिदाको दिन तातोपानीमा पालो पाउनै मुस्किल हुने उनको भनाइ छ । पुस र माघ १५ सम्म जिमाको कुलाहा तातोपानी कुण्डमा नुहाउन पालो कुर्नुपर्ने विजय मावि कालैका शिक्षक वीरबहादुर बमले बताए । धेरै टाढाका बालबालिकादेखि वृद्धसम्म नुहाउन आउने गरेको उनको भनाइ छ । तातोपानीमा नुहाउँदा विभिन्न रोग निको हुने विश्वास रहेको उनले जनाए । तातोपानी कुण्डले गर्दा पुस/माघको चिसो महिनामा स्थानीयलाई नुहाउन र सरसफाइ गर्न निकै सुविधा भएको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताए । गत वर्ष भुसेकुना तातोपानी कुण्डलाई व्यवस्थित गरिएको उनले जनाए ।

हुम्लाको सर्केगार्डस्थित उनापानी गाउँका स्थानीयवासी रातिको समय तातोपानीमै बसेर जाग्राम हुन्छन् । उनापानी खोलाभरि तातोपानी कुण्ड भएकाले स्थानीय घर छोडेर राति तातोपानीमा बस्ने गरेका हुन् ।

प्रकाशित : पुस ८, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×