१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

सुन्तलामा रोग–किराको प्रकोप

‘गाउँका अधिकांश परिवारले अन्नबाली छोडेर सुन्तला खेती गर्न थालेको वर्षौं भयो तर उत्पादन घट्दा जीविकोपार्जनमा समस्या भएको छ’ 
विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–९ कोटमौलाका भरतनाथ योगीले ४७ रोपनी जग्गामा ९ सय ५० बोट सुन्तला लगाएका छन् । उनी जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुन् । उनले लगाएका करिब ७ सय बोट सुन्तला फल्ने गरेकामा यो वर्ष ४० प्रतिशत बोटमा सुन्तला फलेको छैन ।

सुन्तलामा रोग–किराको प्रकोप

बोट पहेंलिँदै पात र फल झर्ने गरेपछि उनी चिन्तित बनेका छन् । ७ सय बोटमा सुन्तला फल्दा दुई वर्षअघि उनले ३४ लाख रुपैयाँ कमाए । तर यो वर्ष सबै बोटमा सुन्तला नफल्दा आम्दानी झन्डै ५० प्रतिशतले घटेको छ । उनका छिमेकी अंगेश्वर डाँगीको बगैंचामा गत वर्ष झन्डै ४ सय बोटले फल दिएकोमा यो वर्ष करिब १ सय बोट सुन्तला फलेनन् ।

उनीहरू मात्र होइन, अधिकांश सुन्तला उत्पादक किसान बर्सेनि उत्पादन घट्दै गएपछि समस्यामा परेका छन् । ‘फूल झरेर सुन्तला नै फल्न छाड्यो,’ योगीले भने, ‘फले पनि पाक्न नपाउँदै झर्ने गरेको छ ।’ उनका अनुसार केही वर्षयता ‘सिट्रस गिनिङ’ रोगका कारण सुन्तला उत्पादन घटेको हो । रोग–किराको प्रकोपका कारण सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको बाग्चौर नगरपालिका–९, कोटमौलाका ५ सय र अन्य पालिकाका ७ सय किसान परिवार प्रभावित भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार सल्यानका किसानहरूले १ हजार ५ सय २० हेक्टरमा सुन्तला लगाएका छन् । जसमध्ये २०७५ सम्ममा १ हजार ४० हेक्टरमा सुन्तला फलेकामा गत वर्ष ९ सय ८० हेक्टरमा मात्र फलेको थियो । यो वर्ष ६० हेक्टर जग्गामा लगाएको १८ हजार बोटमा सुन्तला फल्न छोडेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार रोगले प्रत्येक वर्ष ५.७ प्रतिशतका दरले उत्पादन क्षमता घट्दै गएको हो ।

गत वर्ष १ सय २० क्विन्टल सुन्तला उत्पादन गरी ८ लाख रुपैयाँ कमाएका डाँगीले यो वर्ष मुस्किलले ४ लाख रुपैयाँ मात्र आम्दानी भएको बताए । ‘अनेक प्रयास गर्दा पनि रोग नियन्त्रण भएन,’ उनले भने, ‘गाउँका अधिकांश परिवारले अन्नबाली छोडेर सुन्तला खेती गर्न थालेको वर्षौं भयो, तर उत्पादन घट्दा जीविकोपार्जनमा समस्या भइरहेको छ ।’

३५ रोपनी जग्गामा ५ सय सुन्तलाका बोट लगाएका कोटमौलाकै रेशम डाँगीले करिब आधा बोट यो वर्ष नफलेको बताए । ‘पोहोर फलेका बोटमा पनि यो वर्ष फल लागेन,’ उनले भने, ‘पात र फल पहेंलिँदै झर्ने समस्या छ ।’ रोग नियन्त्रण नहुँदा करिब ५० बोट काटेर फालेको उनले गुनासो गरे । ‘सिट्रस ग्रिनिङ’ रोग जिल्लाका सबै पालिकामा फैलिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । उनका अनुसार रोग र जलवायु परिवर्तनका कारण यो वर्ष सुन्तलाको उत्पादन करिब ४० प्रतिशतले घटेको छ । ‘जति मलजल गरे पनि सुन्तलाका बोट कुपोषित हुन थालेका छन्,’ उनले भने, ‘हामीले किसानलाई वितरण गरेको विषादीले कामै गरेन ।’

शारदा नगरपालिकास्थित खलंगा, सेजवालटाकुरा, मार्के, कजेरी, छत्रेश्वरी गाउँपालिकाको दमाचौर, बाग्चौर नगरपालिकाको पिपलनेटालगायत गाउँमा सुन्तलाको राम्रो उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ हजार ५ सय २० हेक्टरमा लगाइएको सुन्तलाबाट सल्यानमा गत वर्ष करिब १० करोड रुपैयाँ आम्दानी भएको थियो । यो वर्ष सुन्तला उत्पादनको यकिन तथ्यांक आइनसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ७, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?