कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लाखौंको आलु बिक्री, बीउ बाहिरबाट

जिल्लामा चिस्यान केन्द्र नहुँदा किसानलाई आफूले उत्पादन गरेको आलु सस्तोमा बिक्री गरी बीउ आलु महँगोमा किन्नुपर्ने बाध्यता 
विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–११ बाफुखोलाका ४६ वर्षीय वीरसिंह ओलीले वर्षमा करिब ५ लाख रुपैयाँको आलु बिक्री गर्छन् । उनले गत वर्ष झन्डै ८० क्विन्टल आलु बिक्री गरे । तर बीउका लागि बर्सेनि ६ देखि ८ क्विन्टल आलु किन्न बाध्य छन् । उनका छिमेकी कमानबहादुर ओलीले पनि उत्पादन गरेको सबै आलु बिक्री गरी वर्षेसाल बीउ आलु किन्दै आएका छन् ।

लाखौंको आलु बिक्री, बीउ बाहिरबाट

जिल्लाका अधिकांश ठाउँमा आलु उत्पादन हुन्छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार सल्यानमा २ हजार ३ सय ७० हेक्टर जग्गामा आलु उत्पादन हुन्छ । जिल्लाभरि २४ हजार १ सय १० मेट्रिक टन आलु उत्पादन हुने गरेको कार्यालयको तथ्यांक छ । गत वर्ष उत्पादित आलुमध्ये १६ हजार ७ सय ९५ मेट्रिक टन आलु जिल्लाभित्रै खपत भएको थियो भने ७ हजार ३ सय १५ मेट्रिक टन आलु जिल्ला बाहिर गयो । तर जिल्लामा चिस्यान केन्द्र नहुँदा किसानलाई आफूले उत्पादन गरेको आलु सस्तोमा बिक्री गरी बीउ आलु महँगोमा किन्नुपर्ने बाध्यता छ ।

आलु प्रतिकिलो २५ देखि ३० रुपैयाँमा बिक्री गरे पनि बीउ आलु ८० रुपैयाँ किलो किन्नुपर्ने बाध्यता भएको बाग्चौर नगरपालिका–१२ का किसान डिल्ली ओलीले बताए । ‘चिस्यान केन्द्र भए आफैले उत्पादन गरेको आलु बीउका रूपमा प्रयोग गर्न सकिन्थ्यो,’ उनले भने, ‘उत्पादन गरेको आलु १/२ महिनाभन्दा बढी राखे कुहिने जोखिम हुन्छ, त्यसैले बाहिरकै बीउ किन्न बाध्य छौं ।’

बाफुखोला बर्खे आलुका लागि कर्णालीमै प्रसिद्ध छ । तर किसानहरू उत्पादन गरेको आलु लामो समय राख्न सक्दैनन् । चिस्यान केन्द्र नबन्दा बर्सेनि आफूले उत्पादन गरेको एक तिहाइ आलु कुहिने गरेको शिवरथका किसान चित्रबहादुर बुढाथोकीले बताए । ‘आलु खनेको एक महिनाभित्र बजारमा नबेचे कुहिएर सबै नष्ट हुन्छ,’ उनले भने, ‘अरू तरकारीभन्दा छिटो कुहिने भएकाले आलुलाई भण्डारण गरी राख्नै समस्या छ ।’ चिस्यान केन्द्रको अभावकै कारण उत्पादन गरेको सबै आलु बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले करिब १० रोपनी क्षेत्रफलमा आलु उत्पादन गर्दै आइरहेका छन् । गत वर्ष ५० क्विन्टल आलु उत्पादन गरेका उनले करिब ५ क्विन्टल आलु कुहिएर खेर गएको गुनासो गरे । उनले यो वर्ष ६ क्विन्टल बीउ दाङबाट मगाएका छन् ।

कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले जिल्लाका किसानले गत वर्ष आलु उत्पादनबाट झन्डै २० करोड रुपैयाँ भित्र्याएको बताए । ‘चिस्यान केन्द्र नहुँदा किसानहरू सस्तो मूल्यमा आलु बिक्री गर्न बाध्य छन्,’ उनले भने, ‘विगत वर्षहरूमा खाल्डो खनेर आलु भण्डारण गर्ने गरिए पनि जलवायु परिवर्तनको असरले तापक्रम बढ्दा अहिले त्यो पनि सम्भव छैन ।’ यो वर्ष हिउँदे आलुका लागि मात्रै किसानलाई काठमाडौं, डडेल्धुरा र कोहलपुरबाट ल्याइएको ३७ मेट्रिक टन आलुको बीउ वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार किसानलाई ७० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको हो ।

किसानको मागअनुसार चिस्यान केन्द्र निर्माणको पहल भइरहेको सूचना अधिकारी बस्नेतले बताए । गत वर्ष कपुरकोटमा चिस्यान केन्द्र निर्माण गर्न प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३० लाख रुपैयाँ बजेट पठाएको थियो ।

प्रकाशित : मंसिर २५, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?