रुकुममा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुममा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते

हरि गौतम

रुकुम पश्चिम — जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ । बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको उक्त बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घाइते भए वा यसबारे केही नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार सुरु भएको छ ।

घटनाको कारणबारे केही खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीयहरूले भने ठूलो झरीका कारण उक्त सडक चिप्लो हुँदा बस चिप्लिएको हुनसक्ने आकलन गरेका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

पौडेल समूहका चार नेताको निष्कर्ष– ‘साझा उम्मेदवारीको विकल्प छैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षी चार नेताहरूले साझा उम्मेदवार छान्ने सहमति गरेका छन् । ६ प्रदेशमा भएको अधिवेशनमा चार वटा प्रदेशमा पराजय बेहोरेपछि सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सोमबार साँझ बोहराटारमा छलफलमा बसेका थिए ।

‘नेताहरूबीच प्रदेश अधिवेशनको समिक्षा भयो, अहिलेलाई साझा उम्मेदवारीको विकल्प छैन भन्ने नै निष्कर्ष हो,’ एक नेताले भने, ‘मंगलबार हाम्रो टिमका केन्द्रीय सदस्यहरूसहित बसेर छलफल गर्ने भनेर उठेका छौं ।’ स्रोतका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय सदस्यहरूसहित नेताहरूबीच साझा उम्मेदवारीको विषयमा छलफल हुनेछ ।

कांग्रेसको महाधिवेशन आगामी शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । अधिवेशन आउन तीन दिनमात्रै बाँकी हुँदा नेताहरूले उम्मेदवारीको टुंगो लगाउन सकेका छैनन् ।


प्रकाशित : मंसिर २०, २०७८ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×