कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीले दिए फेरि सत्याग्रहको चेतावनी

हरि गौतम

रुकुम पूर्व — डा.गोविन्द केसीले सत्याग्रह गर्ने चेतावनी दिएका छन् । रुकुम पूर्बबाट बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले यसअघि उठाएका माग सम्बोधन नभए जतिबेला पनि सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीले दिए फेरि सत्याग्रहको चेतावनी

आठ दिन पहिला यहाँ आएको डा.केसीले सिस्ने गाउँपालिका–५, स्थित जिल्ला अस्पतालमा बसेर बिरामीको उपचार गरिरहेका छन् । आफ्नै खर्चमा यहाँ आएर नि:शुल्क उपचार गरिरहेका केसीले यसअघि पटक-पटक उठाइएका र सम्बोधन गर्ने प्रतिबद्धता भएका सबै माग तत्काल सम्बोधनको माग गरेका हुन् ।

गत असोज २१ गते सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्तीको माग हालसम्म पनि पूरा नभएको डा.केसीले भनेको भनाइ छ । तर त्यसयता उपाध्यक्ष अधिकारीले चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगका निर्णयहरु उल्लंघन गरेको डा. केसीको भनाइ छ । त्यसमा शिक्षामन्त्री तथा सीटीईभीटीका अध्यक्षले खेलेको भूमिकालाई भने केसीले सकारात्मक भनेका छन् । डा. केसीले अधिकारीलाई सीटीईभीटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गर्नुपर्ने, नर्सिंगलगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरश: कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर काम थाल्नुपर्ने, सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्न कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिष्ठाहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने, २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गर्नुपर्ने माग उनको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्नुपर्ने र २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्‍याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्ने लगायतका माग पनि डा.केसीले उठाएका छन् ।

प्रकाशित : मंसिर १६, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?