कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा क्षेत्रका प्रहरी चौकी विस्थापित

हिमपातको मौसम सुरू भएपछि चौकीमा कार्यरत प्रहरीलाई हुम्ला सदरमुकाम सिमकोट र मुगु सदरमुकाम गमगढी बोलाइएको छ ।
राजबहादुर शाही

मुगु — अत्यधिक जाडो बढेपछि नेपाल र चीन सीमास्थित हुम्लाको लिमी, डोल्पाको थार्का र मुगुको मुगुगाउँस्थित प्रहरी चौकी विस्थापित भएका छन् । हिमपातको मौसम सुरु भएपछि चौकीमा कार्यरत प्रहरीलाई हुम्ला सदरमुकाम सिमकोट र मुगु सदरमुकाम गमगढी बोलाइएको हो ।

चिसोका कारण आसपासका गाउँहरू सुनसान बनेपछि प्रहरी चौकी विस्थापित भएका हुन् । जाडो कटाउन सीमावर्ती गाउँका बासिन्दा बेंसीतिर झरेका छन् । सदरमुकाम आएका प्रहरीहरू गर्मी सुरु भएपछि चैत महिनामा मात्र चौकीमा फर्किने मुगुका डीएसपी सुवास हमालले बताए । उनका अनुसार चिसो बढेपछि चौकीमा कार्यरत ११ प्रहरी सदरमुकाम आएका हुन् । ‘गाउँमा जताततै बरफ जमेको छ,’ उनले भने, ‘स्थानीयवासी पनि नभएपछि प्रहरीहरूलाई सदरमुकाम बोलाएका हौं ।’

छिमेकी जिल्ला हुम्लाको लिमीमा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि दुई साताअघि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा २५ जनाको दरबन्दी रहेको लिमी प्रहरी चौकी चिसोका कारण करिब ५ महिनासम्म बन्द हुने गरेको छ । डोल्पाको तिब्बत सीमा क्षेत्रमा राखिएको थार्का प्रहरी चौकी पनि चिसो बढेपछि डेढ साताअघि सदरमुकाम दुनै सारिएको डोल्पाका डीएसपी निरञ्जन थापाले बताए ।

चीन सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न र राजस्व संकलन गर्न सरकारले स्थापना गरेका प्रहरी चौकीहरू चिसोका कारण बेमौसमी बनेका हुन् । गर्मी सुरु भएपछि प्रहरीलाई फेरि गाउँमा पठाइने मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताए । ‘मानिस नभएपछि प्रहरी पनि यता आए,’ उनले भने, ‘चैतपछि गाउँमा हिउँ पग्लन्छ, स्थानीय गाउँ फर्किएपछि प्रहरी पनि सँगसँगै त्यहाँ जानेछन् ।’ उनले सीमा क्षेत्रमा स्थापना गरिएका भन्सार, स्वास्थ्यचौकी र सामुदायिक विद्यालयलाई पनि बेंसीमा झारिएको जानकारी दिए । झन्डै ६ महिना सदरमुकाम र ६ महिना गाउँमा हुँदा सुरक्षा व्यवस्था भरपर्दो बन्न नसकेको स्थानीयको गुनासो छ ।


प्रकाशित : मंसिर १६, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?