अधिवेशनले बढ्यो चहलपहल- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिवेशनले बढ्यो चहलपहल

कान्तिपुर संवाददाता

सुर्खेत — पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिवेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चहलपहल बढेको छ । मातहतका समितिको अधिवेशन गरेर कांग्रेस प्रदेश अधिवेशनको तयारीमा जुटेको हो । शुक्रबार हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरूले कार्यकर्तालाई भेट्न सम्पर्क कार्यालयसमेत खोलेका छन् । जिल्ला अधिवेशन सकिएसँगै नेता–कार्यकर्ताहरू प्रदेश राजधानी सुर्खेतमा केन्द्रित हुन थालेका हुन् ।

सुर्खेतमा नेता–कार्यकर्ताको जमघट बढ्न थालेपछि वीरेन्द्रनगरका होटलहरू भरिभराउ हुन थालेका छन् । प्रदेश सभापतिमा मुख्यमन्त्री तथा केन्द्रीय सदस्य जीवनबहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानी, पूर्वसांसद राजीवविक्रम शाह, पूर्वसांसद ललितजंग शाही, भूपेन्द्रजंग शाही, कालीबहादुर सहकारीको नाम चर्चामा छ ।

युवा नेता भूपेन्द्रजंग शाहीले आफू प्रदेश सभापतिका लागि २ वर्षदेखि तयारीमा जुटेको बताए । तरुण दलको महामन्त्री र नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका शाहीले आफू बलियो उम्मेदवार रहेको बताए । ‘यसबारेमा नेताहरूबीच छलफल चलाइरहेको छु,’ उनले भने, ‘सम्भवतः म नै प्रदेश सभापतिको उम्मेदवार हुन्छु ।’

प्रदेश अधिवेशनमा कर्णालीका १० वटै जिल्लाका झन्डै ७ सय बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । मुगुका पार्टी सभापति ऐनबहादुर शाहीले प्रदेश अधिवेशनका लागि ६० जना प्रतिनिधिसहित शनिबार नै सुर्खेत पुगेको बताए । उनका अनुसार सुरुमा बुधबारका लागि प्रदेश अधिवेशन तोकिएको थियो । ‘अहिले अधिवेशन २ दिनका लागि पछि सरेको छ,’ उनले भने, ‘जसले कार्यकर्तामा केही अन्योल बनायो ।’

हुम्ला, कालीकोट, जुम्ला, डोल्पा, दैलेखलगायत विभिन्न जिल्लाका प्रतिनिधिहरू सुर्खेत पुगिसकेका छन् । जिल्लाबाट आएका नेता–कार्यकर्ता अहिले महामन्त्री पूर्णबहाुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीसँग भेटघाटका लागि व्यस्त छन् । १० जिल्ला रहेको कर्णालीमा ८ जिल्लामा देउवा पक्षले सभापति जितेको छ । दैलेख र कालीकोटमा पौडेलपक्षीय सभापति निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा बढ्दै शिशु मृत्युदर

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा ५ सय ७८ नवजात शिशुको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष आव ०७५/०७६ मा १ सय ५२ शिशुको मृत्यु भयो ।

यस्तै, आव ०७६/७७ मा २ सय ८ र गत आव ०७७/७८ मा २ सय १८ शिशुको मृत्यु भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो ३ वर्षमा ५ वर्षमुनिका ५ सय ८६ जना बालबालिकाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आव ०७४/७५ मा १ सय ९९ जना ५ वर्षमुनिका बालबालिकाको मृत्यु भयो । आव ०७५/७६ मा १ सय ३६ बालबालिकाको मृत्यु भएकोमा आव ०७६/७७ त्यो संख्या बढेर १ सय ८६ पुग्यो ।

कर्णालीमा सुत्केरीहरू अँझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर पनि बढ्ने गरेको छ । स्वास्थ्य सेवा

निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णालीमा दुर्गम भेगमा स्वास्थ्य संस्था पुग्न लामो समय लाग्ने भएकाले पनि आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×