कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

रासस

काठमाडौँ — सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मर्स्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् ।  

सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेँसी झर्ने क्रममा गत मंगलबार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जिप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए ।

प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खस्दा भेडा बाख्रा मरेका उनले बताए । खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमन समेत गरेका थिए । स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचार समेत गरिएको कार्यालय प्रमुख कुसुमले बताए ।

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले बताए । आकस्मिक रुपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनःस्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

व्यावसायिक भेडाबाख्रापालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा हाल ५०० भेडाबाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्ने गरिन्छ । किसानले भेडीगोठबाट भेडाबाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् ।

प्रकाशित : मंसिर १४, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?