कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राउटे समुदायले गराए जनगणना

विप्लव महर्जन

सल्यान — कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायमै पुगेर पहिलो पटक जनगणना गरिएको छ । विगतमा जंगलमा बस्दै आएका उनीहरू मानिसको नजिक पर्न नचाहने, कसैलार्ई आफ्नो जानकारी दिन मान्दैनथे ।

राउटे समुदायले गराए जनगणना

बनगाड कुपिन्डे नगरपालिका–३ कारागाउँमा बसिरहेका उनीहरूले यसपालि बस्तीमै पुगेको गणकको टोलीसमक्ष जनगणना गराएका छन् । राउटे समुदायमा कार्यरत शिक्षक लालबहादुर खत्रीले सहजीकरण गरेपछि उनीहरू जनगणना गर्न राजी भएका हुन् । राउटे समुदायका प्रत्येक घरमा जान समस्या भएकाले नामावलीलगायत अन्य कुरामा शिक्षक खत्रीले सहयोग गरेको र भत्ताको कुरा उठाएपछि उनीहरू आफ्नो विवरण दिन सहमत भएको जिल्ला जनगणना अधिकारी धर्मराज ढकालले बताए ।

केही महिनासम्म १ सय ४२ जनसंख्या रहेको राउटेको प्रारम्भिक गणनामा १ सय ४५ जना पुगेको उनले बताए । यहाँ राउटे समुदायमा ६९ पुरुष र ७६ महिला छन् । गणक टोलीले दुई दिन लगाएर राउटेको गणना गरेको थियो । उनीहरू डेढ महिनादेखि त्यहाँ बसिरहेका छन् । दैलेखको एक गैरसरकारी संस्थाले राउटेका बालबालिकालाई पढाउनका लागि खत्री दम्पतीलाई ‘जोडी शिक्षक’ नियुक्त गरेको छ ।

शिक्षक खत्रीले विगतमा जनगणना भए पनि राउटे समुदायको संख्या मात्र रहेको र यसपालि भने नाम, उमेर सबै खुलेको बताए । गणकहरू बस्तीमा आए पनि घरघरमा जान हिच्किचाएपछि नाम र उमेरका लागि आफूले सहयोग गरेको खत्रीले बताए । ‘नाम र उमेर खुलाएर गरेको जनगणना राउटे समुदायको यो पहिलो हो,’ उनले भने । उनीहरूमा अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको अभाव, लालनपालनमा समस्या छ । पछिल्नो समयमा ४१ घरधुरीमा रहेका राउटे समुदायको संख्या १ सय ४२ मा सीमित रहेकोमा अहिले बढेर १ सय ४५ पुगेको उनले बताए । राउटे समुदायका मुखिया ४५ वर्षीय सूर्यनारायण शाहीले गणकको टोलीसँग आफ्नो चाड नजिक आइरहेकाले भत्ता छिटो दिलाइदिन माग गरेको शिक्षक खत्रीले बताए ।

प्रकाशित : मंसिर १२, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?