२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

कर्णालीमा देउवा पक्षको वर्चस्व

सुर्खेत — कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत कर्णालीका ८ जिल्लामा शेरबहादुर देउवा पक्षका ६ र रामचन्द्र पौडेल पक्षका २ जना सभापतिमा विजयी भएका छन् । देउवा पक्षबाट डोल्पामा दिपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह, जुम्लामा कर्णबहादुर शाही, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली र मुगुमा ऐनबहादुर शाही जिल्ला सभापतिमा विजयी भएका हुन् ।

कर्णालीमा देउवा पक्षको वर्चस्व

पौडेल पक्षबाट भने कालीकोटमा अम्बहादुर शाही र जाजरकोटमा वेदराज सिंह विजयी भए । यसअघि पौडेल पक्षमा रहेका सिंहलाई दुवै पक्षले आफ्नो दाबी गर्दै आइरहेका छन् । सुर्खेत र दैलेखमा भने जिल्ला अधिवेशन हुन बाँकी छ । महाधिवेशन प्रतिनिधिमा पनि देउवा पक्षको वर्चश्व देखिएको छ ।

क्षेत्रीय अधिवेशन सकिएका ७ जिल्लाका २ सय ३० महाधिवेशन प्रतिनिधिमध्ये देउवा समूहका १ सय ३१ र पौडेल पक्षका ९९ जना निर्वाचित भएका छन् । जुम्ला र डोल्पामा मतगणना जारी छ भने रुकुम पश्चिममा निर्वाचन हुन सकेको छैन । सुर्खेतमा ५० र हुम्लामा २६ जना महाधिवेशन प्रतिनिधि सबै देउवा समूहमा छन् । जाजरकोटमा २७ मध्ये ८ देउवा र १९ पौडेल पक्षका, सल्यानमा २६ मध्ये ३ देउवा र २३ पौडेल पक्षका र मुगुमा २५ मध्ये १८ देउवा र ७ पौडेल पक्षका छन् । त्यस्तै कालीकोटमा २६ मध्ये १६ देउवा र १० पौडेल पक्षका र दैलेखमा ५० मध्ये १० देउवा र ४० पौडेल समूहबाट निर्वाचित भएका छन् ।

रुकुम पश्चिममा दोहरिए ओली

कांग्रेस रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश ओली दोहोरिएका छन् । छैटौं जिल्ला अधिवेशनमा निर्वाचित ओली सातौं अधिवेशनबाट सहमतिमार्फत सभापति चुनिएका हुन् । उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर, तथा सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन् । क्षेत्रीय सभापतितर्फ निर्वाचन क्षेत्र ‘क’ मा महेन्द्र केसी र ‘ख’ मा भद्रबहादुर विष्ट निर्वाचित भएका छन् ।

डोल्पा र जुम्लामा शाही

कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । २ सय ३७ मत प्राप्त गरी शाही सभापति बन्दा उनका प्रतिस्पर्धी अंगदकुमार बुढाको पक्षमा १ सय ५८ मत परेको थियो ।

उपसभातिमा पूर्णबहादुर शाही र लवकुमार शाही, सचिवमा दशरथ रोकाय र हिक्मतबहादुर शाही विजयी हुँदा सुरेन्द्रप्रसाद महत र लक्ष्मणकुमार शाही सहसचिव भएका छन् । ५ सय १९ मतदातामध्ये ४ सय ३९ मत खसेको थियो । महाधिवेशन प्रतिनिधितर्फको मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृत रामकुमार श्रेष्ठले बताए ।

यस्तै,कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जुम्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् । उनले निवर्तमान सभापति दिपबहादुर शाहीलाई ५ भोटले पराजित गर्दै सभापति बनेका हुन् । निर्वाचन अधिकृत हसिना प्रधानका अनुसार विजयी शाहीले ४ सय ७४ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी शाहीले ४ सय ६९ मत प्राप्त गरेका छन् ।

सल्यान सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै निर्वाचित भएका हुन् । विष्टले ६ सय १२ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी पुरीले ६ सय ७ मत ल्याएका छन् । उपाध्यक्षमा सन्तोष केसी र चक्र देवकोटा, सचिवमा प्रकास भण्डारी र एकराज वुढाथोकी, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १०, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?