सुर्खेतमा देउवा पक्षको वर्चश्व- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

सुर्खेतमा देउवा पक्षको वर्चश्व

चाँदनी कठायत

वीरेन्द्रनगर — नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ र २ को निर्वाचनमा देउवा पक्षले वर्चश्व कायम गरेको छ । क्षेत्र नम्बर १ मा देउवा समूहका झकबहादुर डाँगीको प्यानल विजय भएको छ । डाँगीले ७१९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन् । जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।

फाइल तस्बिरः रासस

क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले ७१७ मत प्राप्त गरे । सह–सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रत्यक्ष तर्फको महिला सदस्यमा भद्राकुमारी योगी, प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन् । खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन् ।

यस्तै, क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का विजयी भएका छन् । उनले ७ सय ३६ मत प्राप्त गरे । केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वत: महाधिवेशन प्रतिनिधि हुने विधानत: व्यवस्था भएपनि महामन्त्री खड्काले आफ्नो क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए ।

महाधिवेशन प्रतिनिधिमा खड्कासहित उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन् ।

यस्तै, सुर्खेत क्षेत्र नम्बर २ को अधिवेशनमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षको प्यानलले नै वर्चश्व जमाएको छ । क्षेत्रीय सभापतिका लागि भएको मतदानमा देउवा पक्षका ईन्द्रबहादुर रावलले ६४८ मत ल्याएर विजयी भएका छन् । रावलले रामचन्द्र पौडेल पक्षका उम्मेदवार ललित भट्टराईलाई १ सय ९८ भारी मतान्तरले हराएका हुन् । भट्टराईले २८८ मत ल्याएका छन् । सभापतिका उम्मेदवार लालवीर भण्डारीले भने ६ मत मात्रै पाए ।

प्रकाशित : मंसिर ८, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

मल अभावले किसान मारमा

कृषकहरु भन्छन्– ‘सरकारले मल दिन सक्दैन । भारतबाट ल्याउँदा पुलिसले खोस्छ । यो कस्तो नियम हो ?’ 
ठाकुरसिंह थारु, कमल पन्थी

नेपालगन्ज, बर्दिया — खेत जोतेर तयार छ । यहाँका किसानले गहुँ छरेका छैनन् । ‘डीएपी मलबिना कसरी गहुँ छर्ने ? उब्जनी हुँदैन,’ बाँकेको जानकी गाउँपालिका मानपुरका किसान उद्धव यादवले भने, ‘दुई सातादेखि मलका लागि दौडधुप गरिरहेको छु । भेटेको छैन ।’ उद्धवमात्रै होइन, बाँके र बर्दियाका हजारौं किसान अहिले मलका लागि दौडधुप गरिरहेका छन् । तर, मल नपाउँदा हिउँदे बाली लगाउने समय घर्किंदै गएको उनीहरूले गुनासो छ । 

यतिबेला पश्चिम मधेसमा मलको चरम अभाव छ । मल अभाव भएको यो पहिलो वर्ष होइन । हरेक वर्ष मल अभावका कारण किसानहरू समस्यामा पर्दै आएका छन् । नेपालमै मल किन्न नपाउँदा किसानले भारतबाट चोरी गरेर ल्याउने गरेका छन् । ‘सरकारले मल दिन सक्दैन । भारतबाट ल्याउँदा पुलिसले खोस्छ । यो कस्तो नियम हो ?’ बर्दिया बढैयाताल गाउँपालिका–५ का रामवृक्ष चौधरीले भने, ‘खेतीपाती गर्नु भनेको अपराधी बन्नुजस्तै भएको छ । यहाँ मल नपाएपछि पैसा तिरेर भारतबाट ल्याउँदा पक्राउ गर्छ ।’

भारतबाट मल ल्याउन नपाउँदा किसानले गहुँ छर्न सकेका छैनन् । भारतबाट तस्करी गरी ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो मारमा पर्दै आएका हुन् । कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँके र बर्दियाले खरिद गरेर ल्याएको मल एक दिनमै सकिने गरेको छ । ६० मेट्रिक टन मल आएको र उक्त मल एकै दिनमै सकिएको कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले बताए ।

‘मागभन्दा निकै थोरै मल आउँछ । एकै दिनमा सकिन्छ,’ उनले भने, ‘पछिल्लो पटक आएको मल राप्तीसोनारी र डुडुवा गाउँपालिकाका किसानलाई थोरथोरै वितरण गर्न सहकारीलाई दियौं ।’ उनका अनुसार बाँकेका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन डीएपी र १ सय टन पोटास आवश्यक पर्छ । मल बिक्रीका लागि ढेड सय सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् । त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डीएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल बिक्रीका लागि १ सय २० सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् ।

कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका प्रमुख मोहनसिंह केसीले यस वर्ष ५ सय मेट्रिक टनमात्रै मल आउने बताए । आएको मल तुरुन्तै सकिने उनले जनाए । ‘बर्दियाका लागि १३ हजार मेट्रिक टन मल माग छ । हामीले पाउने कोटा ५ सय हो । अनि, कसरी पुर्‍याउन सकिन्छ ?’ उनको प्रश्न छ । कृषि सामग्री कम्पनी लिमिटेडले यस वर्ष प्रतिबोरा युरिया ८ सय ४६, डीएपी २ हजार २ सय ९६ र पोटास १ हजार ६ सय ९६ रुपैयाँ तोकेको छ । भारतबाट तस्कारी गरी ल्याएको सरदार नामक डीएपी मल १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा किसानहरू किन्न बाध्य छन् । त्यसरी किनेर ल्याएको मल पनि घरसम्म ल्याउन किसानलाई मुस्किल छ । मल ल्याइरहेको अवस्थामा प्रहरीको निगरानीमा परे पक्राउ पर्ने डर उनीहरूलाई छ ।

‘नेपालमा मल पनि नदिने, भारतबाट ल्याउँदा प्रहरीले पक्राउ गरेर दुःख दिने, यो कस्तो न्याय हो ?’ खजुरा गाउँपालिका रनियापुरका जाबेद खाँले भने । यतिबेला किसानहरू धान काटेर धमाधम हिउँदे बाली छरिरहेका छन् । सरकारले मल समयमै नदिँदा किसानलाई दुःख छ । स्थानीय कृषि सहकारीमा तीन/चारपल्ट धाए पनि मल पाउन सकेका छैनन् । मल नहाल्दा उत्पादन घट्ने कृषि अधिकारीहरू बताउँछन् ।

बर्दियामा रासायनिक मलको अभावले यस वर्ष पनि उत्पादनमा ह्रास आउने किसानले गुनासो पोख्न थालेका छन् । जिल्लामा गहुँका लागि चाहिने डीएपी मल अभाव भएपछि यहाँका किसान स्थानीय सहकारी संस्था, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा धाउन थालेका छन् । कतिपय भारतीय सीमा नाकामा मल पाइन्छ भन्दै व्यवसायीसँग सम्पर्क गरिरहेका छन् । गुलरिया–११ का किसान जावेद गद्दीले सरकारले नेपालमै मल उपलब्ध गराउन नसके भारतबाट ल्याउन दिनुपर्ने बताउँछन् । ‘मल अभावमा खेत जोतेर के गर्ने ?’ उनले भने, ‘धान लगाउने समयमा पनि यस्तै भयो र अहिले पनि उस्तै ।’

प्रकाशित : मंसिर ८, २०७८ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×