कामविहीन यातायात कार्यालय- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामविहीन यातायात कार्यालय

कर्मचारी भन्छन्– ‘कार्यालय खोलिए पनि कार्यादेश दिइएन, २९ दिन कटाएर ३० औं दिनमा तलब लिने काम मात्र भइरहेको छ’
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकामा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय झन्डै २ वर्षदेखि कामविहीन बनेको छ । कर्मचारीहरू सरुवा मिलाउँदै अन्यत्र जान थालेका छन् भने सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज गएर सेवा लिन बाध्य छन् ।

२०७६ भदौ २६ गते चौरजहारीमा कार्यालय स्थापना भएको हो । कार्यार्लय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको कर्मचारीको गुनासो छ । कार्यालयलाई कार्यादेश नहुँदा कामविहीन हुनुपरेको निमित्त प्रमुख प्रदीपकुमार रेग्मीले बताए ।

‘कार्यालय स्थापना गरियो, कार्यादेश दिइएन,’ उनले भने, ‘हामी कामका लागि तयार छौं, तर २९ दिन कटाएर ३० औं दिनमा तलब लिने काम मात्र भइरहेको छ ।’ आफूहरूको काम भनेको तलब निकाल्न जिल्ला सदरमुकाम पुग्ने मात्रै भइरहेको उनले बताए । कार्यादेशका लागि पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा आग्रह गरिए पनि बेवास्ता भएको उनको भनाइ छ ।

कार्यालयमा उपसचिवसहित एक/एक प्रशासन अधिकृत, लेखा अधिकृत, २ जना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । सुरुमा दरबन्दीअनुसारका कर्मचारी कार्यालय पुगेका थिए । अहिले भने ४ जना कर्मचारी कार्यालय रुँघेर मात्र बसिरहेको निमित्त कार्यालय प्रमुख रेग्मीले बताए । उनीसहित अहिले कार्यालयमा एक/एक जना लेखा अधिकृत, कम्प्युटर अपरेटर र सहयोगी मात्रै छन् । ‘काम नहुने भएपछि अरू कर्मचारी अन्यत्रै सरुवा भएर गए,’ उनले भने, ‘कार्यालय नै बन्द गर्न नमिल्ने भएपछि हामी रुँघेर बसिरहेका हौं ।’

कार्यालय स्थापना भएलगत्तै यातायात व्यवस्था विभागले सफ्टवेयर जडान गर्न नमिल्ने भनेर चिठी लेखेको थियो । त्यसपछि कार्यालयको काम अघि बढेन । दुई वर्षअघि प्रदेश सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीमा राख्ने निर्णय गरेको थियो ।

अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ । कार्यालय खुलेको लामो समय भइसक्दा पनि काम नहुँदा सुर्खेत, नेपालगन्ज र दाङ जानुपर्ने बाध्यता भएको स्थानीय लीलाप्रसाद ढकालले बताए । ‘संघीयताले सजिलो हुने भयो भनेर सोचे पनि व्यवहारतः त्यो कार्यान्वयन भएन,’ उनले भने, ‘घर नजिकै कार्यालय छ, तर कामका लागि जिल्लाबाहिर जान बाध्य छौं ।’

प्रकाशित : आश्विन ३१, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

ऐतिहासिक हात्तीसारको रूप फेरिँदै

बेलायती महारानी एलिजाबेथ द्वितीय, जंगबहादुर राणालगायतले सिकार खेल्दा प्रयोग गरेका सामग्रीको संरक्षण गरिँदै, आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा उपयोगविहीन अवस्थामा रहेको ऐतिहासिक सम्पदा हात्तीसारको संरक्षणसहित पर्यटकीय गन्तव्य बनाइँदै छ । वाग्मती प्रदेश सरकारले चितवन राष्ट्रिय निकुञ्जको अधिनमा रहेको हात्तीसारलाई आफ्नो मातहत ल्याई संग्रहालयको रूपमा संरक्षण गर्ने र स्वदेशी एवं विदेशीहरूको आकर्षणको केन्द्र बनाउने योजनाअनुरूपको काम भइरहेको हो ।

संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको हात्तीसारको प्रवेशद्वारबाटै संरक्षणको काम थालिएको छ ।

डिभिजन वन कार्यालयमार्फत ९७ लाख रुपैयाँ खर्चेर गत आर्थिक वर्षमा पर्खाल निर्माण, तत्कालीन बेलायतकी महारानी एलिजावेथ द्धितीय र तत्कालीन राजा महेन्द्रसहित जंगबहादुर राणाले शिकारका लागि प्रयोग गरेका हौदा संरक्षण गरिएको छ । परिसरमा बगैंचा बनाइएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायका अनुसार ३२ रोपनी जग्गामा फैलिएको हात्तीसार प्रवेशसँगै आगन्तुकले फोटो खिच्न मिल्नेसहित २ वटा हात्तीको मूर्ति बनाउने र ति हात्तीमाथि महारानी एलिजावेथ द्धितिय र जंगबहादुर राणाको शालिक निर्माण गर्ने योजना छ । यसका लागि चालु आवमा प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सन् १९५२ मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी बेलायती महारानी एलिजाबेथ द्धितीयले हात्ती चढेर चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा सयर गरेकी थिइन् । ‘महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुर राणाले प्रयोग गरेका पिँजडा हौदा छन्,’ संग्रहालयका हेरालु भरतसिं लामाले भने, ‘शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारे हौदासहित सबै गरेर ४२ वटा हौदा यहाँ राखिएको छ ।’

त्रिभुवन राजपथ बन्नुअघि स्वदेशी र विदेशी उच्च पदस्थ अधिकारी तथा पर्यटकहरु भीमफेदीबाट हात्ती चढेर शिकार खेल्न चितवन र पर्सा निकुञ्ज जाने गर्थे । ‘त्यतिबेला भीमफेदीको चहलपहल धुनधान थियो, बाटोमा हात्ती आउजाउ गरिरहन्थे,’ भीमफेदी सुपिङका ८१ वर्षीय नलशिह लामाले सम्झिए, ‘हात्तीसारमा १०–१५ वटासम्म हात्ती हुन्थे । अहिले सुनसान छ ।’ भीमफेदी–६ स्थित हात्तीसारमा हौदाहरु राख्न अर्को छुट्टै भवन पनि छ ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार २०४५ सालसम्म राजपरिवारका सदस्यले शिकार खेल्न यहाँबाट हौदालगायत सामग्रीहरू लैजाने गर्थे । ‘बहुदल आएपछि मात्रै यस्ता सामग्री प्रयोग गर्न छाडेका हुन्,’ उनले भने । ऐतिहासिक यो स्थलको संरक्षण र प्रचारप्रसार गर्नु जरुरी रहेकोमा उनले जोड दिए । तर यसअघि यसको संरक्षणमा उतिसारो चासो दिइएको थिएन । २०६५ मा स्थानीय भरतसिंह लामालाई चितवन निकुञ्जले हात्तीसारको हेरालुको रुपमा खटाएको थियो । उनी अहिले पनि यही काजमा छन् तर हात्तीसार संरक्षणमा गत वर्षसम्म अरु केही पनि काम भएको थिएन ।

प्रकाशित : आश्विन ३१, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×