कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ महिनादेखि अक्सिजन प्लान्ट प्रयोगविहीन

राजबहादुर शाही

मुगु — ठिनीस्थित जिल्ला अस्पतालमा ५ महिनादेखि अक्सिजन प्लान्ट मेसिन प्रयोगविहीन बनेको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट गत वैशाखमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट खरिद गरिएको थियो । 

५ महिनादेखि अक्सिजन प्लान्ट प्रयोगविहीन

प्रतिघण्टा ४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको अक्सिजन प्लान्ट जडान हुँदा प्रयोगविहीन बनेको हो । अहिले प्लान्टको मुख्य मेसिन अस्पतालको एउटा कुनामा थन्क्याइएको छ । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि जडान हुन नसकेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । उनका अनुसार ४० लाख रुपैयाँमा प्लान्ट जडान गर्ने गरी हायात प्रालिले जिम्मा लिएको छ । उसले चीनबाट खरिद गरी ल्याएको मेसिन चार महिनादेखि थन्किएको उनले बताए ।

प्लान्ट जडान नहुँदा अहिले जुम्ला, सुर्खेत र नेपालगन्जबाट अक्सिजन सिलिन्डर ल्याएर कोरोना संक्रमितको उपचार भइरहेको छ । निषेधाज्ञा हटेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दैनिक ५ जनासम्म व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । अहिले जिल्ला स्वास्थ्य सेवा कार्यालयमा १ सय ३४ थान अक्सिजन सिलिन्डरमध्ये ९४ वटा खाली छन् । छायानाथरारा नगरपालिकामा ५, खत्याडमा १२ र मुगुमकार्मारोङ गाउँपालिकामा ५ वटा सिलिन्डर खाली भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाले बताए । उनका अनुसार खाली सिलिन्डर भर्न जुम्ला पठाउने तयारी गरिएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरको आशंका गरिए पनि अक्सिजन प्लान्ट जडान गर्न बेवास्ता भएको स्वास्थ्यकर्मीको गुनासो छ । जिल्ला अस्पतालमा करिब ३ करोड रुपैयाँ बजेटबाट कोरोना संक्रमितलाई लक्षित गरी आइसोलेसन तथा भेन्टिलेटर सेवा विस्तार गर्न लागिएको बुढाले बताए ।

१० हजारले लगाए खोप

मुगुका चार स्थानीय तहमा अहिलेसम्म १० हजार ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ४ हजार ७ सय जनालाई कोभिडसिल्डको पहिलो र १ हजार ४ सय ५१ जनालाई दोस्रो डोज दिइएको छ । त्यस्तै २ हजार ८ सय ६६ जनालाई भेरोसिलको पहिलो र ८ सय ९६ जनालाई दोस्रो डोज लगाइएको छ । जोन्सोन खोप २ हजार ४ सय ८० जनालाई लगाइएको जनस्वास्थ्य अधिकृत रितिजा रावलले बताइन । उनका अनुसार जिल्लामा ६ हजार १ सय ७२ डोज कोभिडसिल्ड, ६ हजार ८ सय २९ भेरोसिल र १ हजार १० डोज जोन्सोन खोप आएको थियो । त्यसमध्ये ६८ डोज भेरोसिल र २० डोज जोन्सोन खोप मौज्दात छ ।

प्रकाशित : आश्विन २०, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?