कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पतालमा आइतबारदेखि शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएको हो । जसका कारण सल्यानसहित रुकुम पश्चिम र रोल्पाको केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।

सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

उपचारका लागि आउने अधिकांश बिरामी पनि जिल्लाबाहिरै रेफर हुन थालेका छन् । श्रीमती कमलालाई सुत्केरी गराउन आएका बन्गाडकुपिण्डे–९ जयतपानीका शेरबहादुर बुढाथोकीले अस्पतालले नेपालगन्ज रेफर गरिदिएको सुनाए । ‘घरको आर्थिक अवस्था कमजोर छ, कसरी नेपालगन्ज लैजाने ?,’ उनले भने, ‘जिल्ला अस्पतालमै उपचार र सुत्केरी सेवा बन्द हुँदा हामीजस्ता विपन्न नागरिक मर्कामा परेका छौं ।’ उनले नेपालगन्जसम्म एम्बुलेन्स भाडा मात्र ३० हजार लाग्ने सुनाए ।

‘दुर्घटनाका कारण टाउको र ढाडमा केही चोट छ,’ आइतबार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका कुमाख गाउँपालिकाकाका वीरबहादुर खड्काले भने, ‘चिकित्सकले नेपालगन्ज रेफर गरेका छन् ।’ अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बाहिर जिल्ला जानु पर्ने र यसले उपचार खर्च महँगो बनाएको उनको भनाइ छ ।

अस्पतालमा १३ जना स्टाफनर्स र अनमीको दरबन्दी छ । एक वर्षअघि ७ जनालाई करार सेवामा भर्ना गरिएको थियो । तर प्रदेश सरकारले बजेट नपठाएको भन्दै उनीहरूलाई हटाइएपछि स्वास्थ्यकर्मीको अभाव भएको हो । अहिले ६ जना महिला स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । ‘सबैलाई डबल ड्युटीमा खटाउनुपरेको छ,’ अस्पतालकी क्लिनिकल इन्चार्ज डा. एन्जिला श्रेष्ठले भनिन्, ‘६ जनाले कहाँकहाँ भ्याउने ?’ उनले दैनिक २/३ जना बिरामी रेफर गर्नुपरेको सुनाइन् । उनका अनुसार जटिल प्रसूति सेवा बन्द भए पनि सामान्य अवस्थाका गर्भवतीले भने अस्पतालबाटै सेवा लिइरहेका छन् । स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न पटक–पटक माग गरे पनि शारदा नगरपालिका र स्वास्थ्य सेवा कार्यालयले बेवास्ता गरेको उनको गुनासो छ ।

जिल्ला अस्पतालमा ८ चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना कार्यरत छन् । सबै करारका चिकित्सक हुन् भने विशेषज्ञ नहुँदा शल्यक्रिया गर्न समस्या भएको हो । १५ शय्याको अस्पतालमा अहिले ४० बेड राखेर उपचार भइरहेको छ । बिरामीको चाप हेर्दा अस्पतालमा कम्तिमा २५ जना महिला स्वास्थ्यकर्मी हुनुपर्ने डा. श्रेष्ठले बताइन् । ‘एक महिनाअघि १३ जनाले समेत भ्याइनभ्याइ सेवा दिइरहेका थिए,’ उनले भनिन्, ‘अहिले ६ जनाले इमर्जेन्सीमा भ्याउने कि प्रसूति वार्डमा ?’

विभिन्न कार्यक्रमबाट करारका स्वास्थ्यकर्मी भर्ना गरे पनि बजेट आउन छोडेपछि उनीहरूलाई हटाउनु परेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए । उनका अनुसार स्वास्थ्यकर्मी अभावकै कारण अस्पतालमा बिरामीको संख्या घटिरहेको छ । एक महिनाअघिसम्म दैनिक १ सय जनासम्म बिरामी आउने गरेकोमा अहिले २०/२५ जना बिरामी मात्र आइरहेका छन् । इमरजेन्सीमा दैनिक १० जनासम्म बिरामी र १५ जनासम्म गर्भवती प्रसूति सेवाका लागि आउने गरेका छन् । गत वर्षसम्म विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रममार्फत वार्षिक ५० लाख बजेट आउने गरेकोमा यो वर्ष १० लाख रुपैयाँ मात्र आएको उनले बताए ।

‘बजेट बर्सेनि घट्दा समिति घाटामा छ,’ अस्पताल विकास समिति अध्यक्ष चन्द्रप्रकाश ओलीले भने, ‘पूर्वाधार निर्माण तथा औषधि र उपकरण खरिदलगायतका काम अवरुद्ध भएका छन् ।’

प्रकाशित : आश्विन १९, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?