कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय खुले, कोरोना जोखिम बढ्दै

‘अधिकांश सामुदायिक विद्यालयमा न सेनिटाइजर न साबुनपानीको व्यवस्था नै छ’
विप्लव महर्जन

सल्यान — कोरोना संक्रमणको दर घटेको भन्दै जिल्लाका १० वटै स्थानीय तहका विद्यालय खुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नहुँदा संक्रमणको जोखिम बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय खोल्न स्थानीय तहहरूलाई अनुमति दिएको थियो । 

विद्यालय खुले, कोरोना जोखिम बढ्दै

स्थानीय तहले पनि कार्यपालिकाबाट स्वास्थ्य मापदण्डसहित विद्यालय खोल्ने निर्णय गरे पनि अधिकांश विद्यालयले पालना नरेका हुन् । जसका कारण कोरोना संक्रमण बढ्ने अभिभावकको चिन्ता छ । ‘अधिकांश सामुदायिक विद्यालयमा न सेनिटाइजरको व्यवस्था छ न साबुनपानीको व्यवस्था नै,’ खलंगाका रामबहादुर नेपालीले भने, ‘धेरै विद्यार्थी त मास्क नलगाएरै विद्यालय जाने गरेका छन् ।’ उनले भौतिक दूरी कायम नगरेरै पढाइ भइरहेको जानकारी दिए । उनका अनुसार विद्यार्थीले सामूहिक रूपमा खेल्दा कोरोना संक्रमणको जोखिम उत्तिकै बढेको छ ।

पछिल्लो समय जिल्लामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढिरहेको जिल्ला अस्पतालका डा. प्रदिप शर्माले बताए । ‘ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएका बिरामी जताततै बढिरहेका छन्,’ उनले भने, ‘तत्काल नियन्त्रण गर्न नसकिए स्थिति भयाभह हुने देखिन्छ ।’ उनका अनुसार अस्पतालमा दैनिक एक सय जनासम्म बिरामी आउने गरेकोमा आधाभन्दा धेरै रुघाखोकी र ज्वरोका बिरामी छन् । उनले भौतिक दूरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने तथा साबुनपानीले हात धुने नै कोरोनाबाट बच्ने उपयुक्त विकल्प भएको बताए । अस्पतालमा आउने शंकास्पद बिरामीको कोरोना परीक्षण गर्ने गरिएको र दैनिक १/२ जनामा कोरोना देखिने गरेको जिल्ला अस्पतालले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार अहिले सल्यानमा झन्डै ५ सय विद्यालयमा करिब ६० हजार विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई सेनिटाइजर, मास्क र हात धुनका लागि साबुनपानीको व्यवस्था गरिए पनि प्रयोगमा अटेर गर्ने गरेको शिवजन माध्यमिक विद्यालय सितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । ‘अभिभावकले पनि बेवास्ताका साथ विद्यार्थीलाई विद्यालय पठाइरहेका छन्,’ उनले भने, ‘हामीले कडाइ गरिरहेका छौं, मास्क नलगाएका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाइएको छ ।’

मास्क, सेनिटाइजर र साबुनपानीको व्यवस्था गर्न विद्यालयमा बजेट नभएको कृष्ण मावि बालुवासंग्रहरीका प्रधानाध्यापक हिराबहादुर खत्रीले बताए । ‘दुर्गम गाउँमा मापदण्ड पालना गराउनै मुस्किल छ,’ उनले भने, ‘कोरोना संक्रमणको जोखिमबाट बचाउन अहिले २ सिफ्टमा विद्यालय चलाइरहेका छौं ।’

विद्यार्थीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गराउन मास्क र सेनिटाइजर वितरणको तयारी थालिएको स्थानीय तहले जनाएका छन् । दसैं बिदा हुनुअघि सबै विद्यार्थीको हातमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइने शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले बताए । कालिमाटी गाउँपालिकाका शिक्षा प्रमुख विन्दुर केसीले स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।

प्रकाशित : आश्विन १६, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?