कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

ब्लड बैंक सञ्चालनमा आएन

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पताल परिसरमा ब्लड बैंक सञ्चालन गर्न एक वर्षअघि भवन निर्माण भए पनि अन्य पूर्वाधार नहुँदा रक्तसञ्चार केन्द्र सञ्चालनमा आउन सकेको छैन । आवश्यक उपकरण तथा जनशक्ति अभावमा ब्लड बैंकको काम अलपत्र परेको हो । 

ब्लड बैंक सञ्चालनमा आएन

गम्भीर अवस्थाका बिरामीको अस्पतालमै सहज उपचार गराउने गरी ब्लड बैंक सञ्चालन गर्न खोजिएको थियो । तर भवनबाहेक अन्य पूर्वाधार नहुँदा रक्तसञ्चार केन्द्र अलपत्र परेको हो । रेडक्रस सोसाइटीले प्रदेश सरकारको २० लाख रुपैयाँ अनुदानमा गत वर्ष ३ कोठे भवन निर्माण गरेको थियो । रेडक्रसकै समन्वयमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने अस्पतालको तयारी छ ।

ब्लड बैंक सञ्चालनमा नआउँदा गम्भीर अवस्थाका बिरामी, दुर्घटनाका घाइते र गर्भवती तथा सुत्केरी महिलाले सास्ती भोग्दै आइरहेका छन् । अहिले रगत चाहिएमा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सेनालाई गुहार्नुपर्ने बाध्यता छ । भनेको समयमा सहज रुपमा रगत नपाउँदा बिरामीलाई तत्काल उपचार गर्न कठिनाइ हुने गरेको अस्पतालका डा. प्रदिप शर्माले बताए । ‘गम्भीर दुर्घटनाका घाइतेलाई बाहिर रिफर गर्नुको विकल्प छैन,’ उनले भने, ‘गर्भवती र सुत्केरी अवस्थामा रक्तश्राव हुने महिलाहरू पनि रगत अभावकै कारण समस्यामा छन् ।’ उनले कतिपय बिरामीलाई डाक्टर र स्वास्थ्यकर्मीले नै रगत दिनुपर्ने बाध्यता भएको बताए । उनका अनुसार अहिले अस्पतालले पठाएको एसएमएस तथा फोनको आधारमा स्थानीय, सेना र प्रहरीले रगत दिँदै आएका छन् ।

अस्पतालमा सातामा १० जनासम्म रगत चाहिने बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार उपकरण र आवश्यक सामग्री रेडक्रसले उपलब्ध गराउने भने पनि अझै खरिद प्रक्रिया अघि बढेको छैन । जनशक्ति व्यवस्थापनमा पनि समस्या भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए । ‘ब्लड बैंक भए रगतका लागि दैनिकजसो रक्तदातालाई गुहार्नुपर्ने थिएन,’ उनले भने, ‘कहिलेकाँही त कसको ग्रुप के हो भन्दै सोधेर रक्तदान गराउनुपर्ने बाध्यता छ ।’ उनले रगतको मौज्दात भए आकस्मिक अवस्थाका बिरामीले अस्पतालमै सहज उपचार पाउने बताए ।

केन्द्रीय कार्यालयले खरिद प्रक्रिया अघि नबढाउँदा रक्तसञ्चार केन्द्र सञ्चालनमा समस्या भएको रेडक्रस सभापति यौवनप्रकाश श्रेष्ठले बताए । ‘भवन बनिसकेको भन्दै हामीले बारम्बार केन्द्रीय कार्यालयसँग उपकरण माग गरिरहेका छौं,’ उनले भने, ‘पहिले केन्द्रकै सल्लाहमा ब्लड बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको हो, अहिले बेवास्ता भएपछि समस्या भएको छ ।’ उनले अस्पतालको स्तरबृद्धि भएकाले तत्काल बैक आवश्यक परेको बताए ।

प्रकाशित : आश्विन १५, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×