कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

स्याउ उत्पादन घट्यो

छपाल लामा

हुम्ला — जिल्लामा यो वर्ष स्याउ उत्पादनमा कमी आएको छ । यो वर्ष स्याउ फूल्ने समयमा जेठ/असारमा असिनापानी परेपछि स्याउको उत्पादनमा कमी आएको हो । उत्पादन घटेपछि किसानलाई जीविकोपार्जनको चिन्ताले सताएको छ ।

स्याउ उत्पादन घट्यो

असिनाले फूल झारेपछि फल राम्रो नलाग्दा किसान चिन्तित बनेका हुन् । यो वर्ष झण्डै आधा उत्पादन घटेको सिमकोट गाउँपालिका–३ बरगाउँका किसान पदमबहादुर लामाले बताए । उनले बारीमा झन्डै ५ सय बोट स्याउ लगाएका छन् । ‘फूल लाग्ने बेलैमा असिना पानी पर्‍यो,’ उनले भने, ‘फलेका स्याउमा पनि राम्रो दाना लागेको छैन ।’ गत वर्ष स्याउ बेचेर १० लाख रुपैयाँ कमाएका उनले यो वर्ष ३ लाख रुपैयाँका मात्र स्याउ बिक्री गरेको बताए ।

गत वर्ष करिब १४ क्विन्टल स्याउ फलेको उनको बारीमा यो वर्ष ५ क्विन्टल मात्र स्याउ उत्पादन भयो । बर्षेनि स्याउ उत्पादनमा कमी आउँदा आम्दानी घट्दै गएको बरगाउँका अर्का किसान हरिहर रोकायाले बताए । उनको बारीमा पनि स्याउका ५ सय बोट छन् । गत वर्ष १३ क्विन्टल स्याउ उत्पादन भएको उनको बारीमा यो वर्ष ६ क्विन्टल मात्र स्याउ फल्यो । उनका अनुसार असिनापानी, सेतो ढुस्सी लाग्ने, अरिङगलको प्रकोप, वन्यजन्तुको बिगबिगीलगायत कारण स्याउ उत्पादनमा कमी आएको छ । उनले भाउमा एकरुपता नहुँदा पनि स्याउबाट पर्याप्त फाइदा लिन नसकेको बताए ।

स्थानीय बजारमा यो वर्ष १० रुपैयाँ प्रतिदाना स्याउ बिक्री भइरहेको छ । स्याउ उत्पादन कम भएकोले यो वर्ष नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा पठाउन समस्या भएको स्थानीय व्यापारी धर्मराज रोकायाले बताए । ‘यहाँको अर्गानिक स्याउको माग बढी छ,’ उनले भने, ‘तर यो वर्ष उत्पादन कम भएकाले पठाउन सकिएको छैन ।’ हुम्लाका ७ वटै गाउँपालिकामा स्याउ उत्पादन हुन्छ ।

सबैभन्दा बढी नाम्खा गाउँपालिकामा उत्पादन भए पनि बजार नपाउँदा अधिकांश स्याउ कुहिएर खेर जाने गरेको छ । सडक सुविधा नहुँदा त्यहाँको स्याउले बजार पाउन नसकेको हो । नाम्खाका अधिकांश ठाउँबाट सदरमुकाम सिमकोट पुग्न ५ दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार हुम्लामा २८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष करिब १५ मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले यो वर्ष जिल्लामा झण्डै ३५ प्रतिशतले स्याउको उत्पादन घटेको बताए । उनका अनुसार स्याउ उत्पादनको तथ्यांक संकलन गर्न प्राविधिकहरूलाई स्थानीय तहमा पठाइएको छ ।

प्रकाशित : आश्विन १५, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×