कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्खा क्षेत्रमा खाद्य कचहरी

तुलाराम पाण्डे

कालीकोट — सुक्खा खडेरीग्रस्त पलाता गाउँपालिकामा नियमित रुपमा खाद्य कचहरी सञ्चालन गर्न थालिएको छ । पलाताको खाद्य संकट समाधान गर्न समुदाय स्तरमा छलफल गरेर वडास्तरीय कचहरी सञ्चालन गर्ने गरिएको हो । 

वडाका समस्यालाई सामूहिक रुपमा सरोकारवालासँग राखेर साझा कार्य योजना निर्माण गर्ने गरिएको पलाता–२ का वडाध्यक्ष बिरी विश्वकर्माले बताए । उनका अनुसार कचहरीले स्थानीय उत्पादन वृद्धि गर्न पनि सकारात्मक भूमिका खेलेको छ । वार्षिक २ पटक आयोजना हुने कचहरीलाई मासिक रूपमा सञ्चान गर्न पहल थालिएको उनले जानकारी दिए ।

डेनिस रेडियोको सहयोगमा गाउँपालिकाकामा खाद्य कचहरी, किशोरी समूहमा संवाद कक्षा, विद्यालय पढ्ने बालिका लक्षित गरेर होमवर्क (गृहकार्य) सेसनलगायत कार्यक्रम सञ्चालन भइरहेको हो । सरोकारवालालाई जवाफदेही बनाउँदै विपन्न समुदायका लागि साक्षरता कक्षा, सशक्तीकरण र आयआर्जनका कार्यक्रम कचहरीमार्फत भइरहेको पलाता २ राडुनेटाकी संगीता बमले बताइन् । एक महिनाअघि भएको कचहरीमा पलाताको खाद्य सुरक्षालाई प्रभावकारी बनाउन समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने, पानीका मुहान संरक्षण गर्न वृक्षारोपण गर्ने, खाद्यान्न अभावका कारण समस्यामा परेका बालबालिका, किशोरी र महिलाको आयआर्जनमा टेवा पुर्‍याउनेलगायत प्रतिबद्धता गरिएको थियो । त्यस्तै, सरोकारवालाले किसानलाई फलफूल तथा नगदेबालीमा संलग्न गराउन बजेट विनियोजन गर्ने, किशोरीहरूको विद्यालय नियमित गराउन उनीहरूका अभिभावकलाई आयआर्जनका क्रियाकलापमा सहभागी गराउने, खाद्यसुरक्षासम्बन्धी असल अभ्यासलाई संरक्षण गर्न प्रोत्साहित गर्नेलगायत प्रतिबद्धता गरेको गाउँपालिकाले जनाएको छ ।

खाद्यान्न खरिदको लागि सदरमुकाम मान्म, जितेलगायत बजार धाउन बाध्य पलातावासी क्रमशः कृषिमा आत्मनिर्भर बन्न थालेको स्थानीय बुद्धिजीवी पहलसिंह बमले बताए । उनका अनुसार थिर्पूको तुलनामा खिस्न र धौलागोहमा बढी खाद्यान्न समस्या हुने गरेको छ । यो वर्षअनुकूल वर्षा भएकाले खाद्यान्नको उत्पादन राम्रो हुने देखिएको उनले बताए । खाद्य कचहरीको सुझावअनुसार खडेरीविरुद्ध लड्न आकाशेपानी संकलन, कर्णाली नदीको पानी लिफ्टमार्फत पम्पिङ, सिँचाइ पोखरी निर्माणलगायत योजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । दुरदराजका बासिन्दाको चेतनास्तर बढाउन र गलत मूल्य मान्यतालाई हटाउन कचहरी प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘वर्षौदेखि अशिक्षा, अभाव र भोकमरीको चपेटामा परेका स्थानीयहरू आत्मनिर्भर बन्न थालेका छन्,’ उनले भने । आइतबार थिर्पूमा आयोजित सिकाइ आदानप्रदान कार्यक्रममा बमले जनताको चेतना बढाउँदै उन्नत कृषि प्रविधि अपनाउन सके पलातालाई आत्मनिर्भर बनाउन सकिने बताए ।

प्रकाशित : आश्विन १२, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?