कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : स्थानीय तहमा युवा नेतृत्व

७९ स्थानीय तहमध्ये ५५ मा पालिका अधिवेशन सम्पन्न
४० स्थानीय तहमा सर्वसम्मत, १५ मा निर्वाचन

सुर्खेत — कर्णालीका ७९ स्थानीय तहमध्ये ५५ स्थानीय तहमा नेपाली कांग्रेसको पालिका स्तरको गाउँ/नगर अधिवेशन सम्पन्न भएको छ । त्यसमध्ये १५ स्थानीय तहमा निर्वाचन भएको हो भने अन्यत्र सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनबाट निर्वाचित हुनेहरू अधिकांश युवा छन् ।

कांग्रेस अधिवेशन : स्थानीय तहमा युवा नेतृत्व

डोल्पाका ८ र सुर्खेतका ९ गरी १७ स्थानीय तहमा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन नै हुन सकेको छैन । कर्णालीका थप ७ स्थानीय तहमा भने कतै सर्वसम्मतिको प्रयास भएको छ भने कतै निर्वाचनको तयारी गरिएको छ । निर्वाचनमा भाग लिएका उम्मेदवारहरू प्यालन बनाएरै अधिवेशनमा सहभागी भएका थिए । १० स्थानीय तह भएको सल्यानमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका ५/५ जना सभापतिमा निर्वाचित भएका छन् । सदरमुकामस्थित शारदा नगरपालिकाको सभापतिमा दीपक हमाल निर्वाचित भएका छन् ।

उनी १ सय ४५ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी हिमेन्द्रबाबु सेजवालले ८८ मत ल्याए । त्यस्तै बाग्चौर नगरपालिकामा दिपेन्द्र डिसीले निर्वाचित भएका छन् भने बन्गाडकुपिण्डे नगरपालिकामा पुरुषोत्तम आचार्य सभापति चुनिएका छन् । कपुरकोट गाउँपालिकामा यगराज ओली, कालिमाटीमा गणेश केसी, छत्रेश्वरीमा सीता केसीले र दार्मामा कृष्ण ओली निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै कुमाखमा ईश्वरी शाही, त्रिवेणीमा गंगाराम पुन र सिद्धकुमाख गाउँपालिकामा वीरबहादुर बुढाथोकी सभापति चयन भएका हुन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहमा सहमतिमा नेतृत्व चयन भएको छ । मुसीकोटमा निर्वाचनबाट प्रेम ओली विजयी भएका छन् । उनले १ सय ६० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी समिरजंग मल्लले ६६ मत मात्र पाए । चौरजहारीमा प्रेमबहादुर ओली, आठबीसकोटमा अमृत बोहरा, बाफिकोटमा जनककुमार बाँठा, त्रिवेणिमा दिपेन्द्र ओली र सानीभेरीमा सन्तोष रोका सभापतिमा निर्वाचित भएका छन् । जाजरकोटको कुशे गाउँपालिकामा क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा अधिवेशन सम्पन्न भएको छैन । अन्य ६ स्थानीय तहमा सर्वसम्मतिबाट सभापति र अन्य पदाधिकारी चयन भएका छन् । जुनेजुनीचाँदेमा वीरेन्द्रबहादुर शाही, भेरीमा शशि बुढा र शिवालय गाउँपालिकामा जस्बिर ओली निर्वाचित भएको कांग्रेस जाजरकोटले जनाएको छ । त्यस्तै छेडागाडमा टोपेन्द्र अधिकारी, नलगाडमा जयबहादुर सिंह र बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति सभापतिमा चयन भएका छन् ।

हुम्लाका ६ तहमा सर्वसम्मत

हुम्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा अधिवेशन सकिएको छ । ६ वटै स्थानीय तहमा सर्वसम्मतिमा अधिवेशन सकिएको हो भने सर्केगाडमा विवाद भएको छ । नाम्खामा सुनमबहादुर लामा, सिमकोटमा धर्मराज रोकाया, खार्पुनाथमा टक्कबहादुर शाही, अदानचुलीमा विष्णुबहादुर भण्डारी, ताजाकोटमा कृष्णबहादुर मल्ल र चंखेलीमा नर भण्डारीको नेतृत्वमा स्थानीय तह गठन भएको छ । ६ वटै पालिकामा देउवा समूहका सभापति चयन भएका छन् । सर्केगाडमा सहमतिको प्रयास भइरहेको जिल्ला सभापति जयपति रोकायाले बताए ।

युवाको वर्चस्व

मुगुका चार स्थानीय तहमध्ये ३ स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । नेतृत्व चयन भएका ३ वटै पालिकामा युवाहरूको वर्चस्व देखिएको छ ।

वडा र स्थानीय तह दुवैको अधिवेशनमा युवाहरूको वर्चस्व देखिएको स्थानीय अगुवा कमल शाहीले बताए । उनका अनुसार यसअघि सम्पन्न ४५ वटै वडा अधिवेशमा पनि युवाको संख्या उल्लेख्य देखिएको थियो । ‘धेरै वर्षपछि स्थानीय तहको निर्वाचन हुँदा पनि युवाहरूले राजनीतिमा आफ्नो उपस्थिति जनाउन खोजेका छन्,’ उनले भने, ‘राजनीतिमा पुस्तान्तरण हुनु नमुना काम हो ।’

जिल्ला सभापति ऐनबहादुर शाहीका अनुसार मुगुको छायानाथ रारा नगरपालिकामा नेतृत्व चयनमा विवाद भएपछि मतदान गर्न लागिएको छ । उनका अनुसार सोरु गाउँपालिकामा कुवेरजंग शाही, खत्याडमा लोकराज दाहाल र मुगुमकार्मारोङ गाउापालिकामा गारा तामाङ निर्विरोध सभापति पदमा निर्वाचित भएका हुन् । छायानाथरारामा४७ सदस्यीय समिति निर्माण भए पनि सभापति, उपसभापति र सचिव पदमा निर्वाचन हुन थालेको उनले जानकारी दिए ।

वडा र पालिकाका अधिवेशनबाट झन्डै ५० प्रतिशत युवा निर्वाचित भएको कांग्रेस हुम्लाका सभापति रोकायाले बताए । ‘युवाहरूको आकर्षण एकाएक बढेको पाइयो,’ उनले भने, ‘निर्वाचित भएका अधिकांश युवाहरू १८ देखि ४० वर्षका छन् ।’ जाजरकोटको नेतृत्व चयन भएका ६ वटामध्ये दुइटा स्थानीय तहमा चुनाव भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा चुनाव भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि इलम बहादुर शाहीले जानकारी दिए ।

महिला कोटामै सीमित

दैलेखमा पनि १२ वटै स्थानीय तहमा अधिवेशन सकिएको छ । दुल्लुमा लालबहादुर रावत निर्विरोध निर्वाचित भए भने चामुन्डाविन्द्रसैनिमा जगत शाही, ठाँटिकाधमा विष्णुप्रसाद रिजाल र आठबीस नगरपालिकामा अर्जुनबहादुर शाही सभापति चुनिएका छन् । त्यस्तै नारायणमा मनोज थापा, महावुमा कर्णबहादुर शाही, नौमुलेमा गंगबहादुर शाही, भगवतीमाईमा खगेन्द्रबहादुर शाही, डुगेश्वरमा भीमबहादुर भट्ट, गुँरासमा चन्द्रप्रसाद भट्टराई र भैरवीमा हेमलाल जैसी निर्वाचित भए ।

अधिवेशनमा महिलाको संख्या न्यून देखिएको कांग्रेस महाधिवेशन प्रतिनिधि वासना थापाले बताइन् । उनका अनुसार सबै स्थानीय तहमा महिलालाई आरक्षण कोटामै सीमित पारिएको छ । ‘११ वटा पालिकामा पुरुष–पुरुषबीच नै नेतृत्वको लडाइ भयो,’ उनले भनिन्, ‘महिलाहरूले चुनाव लड्छु भन्दा पनि टिमका नाममा प्रतिस्पर्धा नै गर्न दिइएन ।’ महिलाहरूलाई जहिले पनि पुरुषको विकल्पमा लिँदा राजनीतिमा उल्लेख्य उपस्थिति हुन नसकेको उनको आरोप छ । वडामा केही स्थानमा महिलालाई स्थान दिए पनि स्थानीय तहमा महिला सभापतिको संख्या शून्य भएको उनले जानकारी दिइन् ।

राजबहादुर शाही (मुगु), विप्लव महर्जन (सल्यान), ज्योति कटुवाल (दैलेख) र छपाल लामा (हुम्ला)

प्रकाशित : आश्विन १२, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?