कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई महिनामै भत्कियो सल्लीबजार–नाथेखोला कालोपत्र

विप्लव महर्जन

सल्यान — सल्लीबजार–चौरजहारी सडकअन्तर्गत सल्लीबजारदेखि नाथेखोलासम्म गरिएको कालोपत्र २ महिना नबित्दै वर्षाले भत्काएको छ । निर्माण कम्पनीले गुणस्तरहीन काम गरेपछि पिच भत्किएको हो ।  २०७२ मा सडक डिभिजन कार्यालय दाङले थेबिङ/गाल्भा जेभीलाई कालोपत्रेको जिम्मा दिएको थियो । जेभीले विशाल निर्माण सेवालाई पेटी ठेक्का दिएपछि कालोपत्रेको काम गुणस्तरहीन भएको हो ।

दुई महिनामै भत्कियो सल्लीबजार–नाथेखोला कालोपत्र

निर्माणको जिम्मा लिएको ५ वर्षमा सडकमा मुस्किलले आधा मात्र मात्र काम सकिएको छ । कार्यालयले सल्लीबजार–नाथेखोला खण्डको ५ किलोमिटर सडक कालोपत्र गर्न ९ करोड रुपैयाँमा ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । पिच उप्किएपछि सडकको ठाउँठाउँमा खाल्डाखुल्डी परेको स्थानीयले बताएका छन् । स्थानीय आनन्द बस्नेतका अनुसार ठेकेदार कम्पनीले जेठको अन्तिम साता ग्राभेलको काम सकेको थियो भने त्यसलगत्तै कालोपत्रको काम गरेको थियो ।

‘वर्षायाममै कालोपत्र गरिँदा पिच बगायो,’ उनले भने, ‘एक त कालोपत्र पनि गुणस्तरीय भएको थिएन, त्यसमा पनि कम गुणस्तरको सामग्री प्रयोग गरी कालोपत्र गरिएकाले सबै बगायो ।’ उनले कालोपत्रे बगाएपछि सडकमा यात्रा गर्न थप जोखिम भएको बताए । उनका अनुसार सडकको जताततै खाल्डा हुँदा यात्रा असहज बनेको छ ।

ठेकेदारले दुईपल्ट पिच गर्नुपर्नेमा एकपल्ट मात्र गरेकाले अधिकांश कालोपत्र उप्किएको स्थानीय हर्कबहादुर रावतले बताए । ‘गाभेल हालेको एक साता नबित्दै पिच गरियो, त्यो पनि पानी परेको समयमा,’ उनले भने, ‘अनि कसरी हुन्छ गुणस्तरीय विकास ?’ उनले ठेकेदारलाई गुणस्तरीय काम गर्न ताकेता गरे पनि बेवास्ता गरेको बताए । उनका अनुसार ठेकेदार कम्पनीका प्रतिनिधि जेठ अन्तिम सातायता देखिन छाडेका छन् । उनले यसमा सडक डिभिजनका कर्मचारीको समेत मिलेमतो भएको आरोप लगाए ।

सडकमा स्टमेटअनुसार कामै नभएको सडक डिभिजनका एक इन्जिनियरले बताए । उनका अनुसार ओटासिल पिच गर्ने क्रममा ठेकेदार कम्पनीले बिटोमिन (अलकत्रा) कम परिमाणमा हालेको भेटिएको छ । ‘पहिलो चरणको काम परिपक्व भए मात्र पिच गर्नुपर्ने हो,’ उनले भने, ‘तर ग्राभेल नै राम्ररी नगरी हतारहतारमा कालोपत्र गरियो ।’ विशाल निर्माण सेवाका प्रोप्राइटर प्रमोद श्रेष्ठले भने गुणस्तरीय काम गरिए पनि ठूलो वर्षा हुँदा केही ठाउँमा कालोपत्र बगाएको दाबी गरे । उनले वर्षा सकिएपछि भत्किएका ठाउँमा पुनः कालोपत्र गरिने बताए ।

सडक खुलेको १८ वर्षपछि सल्ली–चौरजहारी सडकमा कालोपत्रको काम सुरु गरिएको थियो । तर सुरुमै गरिएको कालोपत्रे भत्किएपछि ठेकेदार कम्पनीको कैफियत भेटिएको बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बताए । ‘एक त काम समयमै हुन सकेन,’ उनले भने, ‘त्यसमा पनि कालोपत्रे नै गुणीस्तरहीन भयो ।’ उनका अनुसार सडक कालोपत्रे नहुँदा वर्षौंदेखि सडकमा यात्रा गर्ने यात्रुले विभिन्न सास्ती भोग्दै आएका छन् । उनले सडक डिभिजन कार्यालयलाई यसबारे जानकारी गराइ ठेकेदार कम्पनीलाई कारबाही गर्न आग्रह गरिएको जानकारी दिइए ।

लामो समयदेखि ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् जीर्ण बनेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर नेत्र पौडेलले बताए । ‘ठेकेदार कम्पनीले पहिलो चरणको पिच गर्नेबित्तिकै कोरोना महामारीका कारण यातायात अवरुद्ध भयो र गाडी चल्न पाएनन्,’ उनले भने, ‘गाडीको भारले भुइँमा जमेको अलकत्रले चिप्स समाउथ्यो र बलियो हुन्थ्यो, तर राम्रोसँग जम्न नपाउँदै वर्षात लाग्यो पानी पर्‍यो र त्यही पानीले पिच बगायो’ । काम प्रभाव वर्षा सुरु भएपछि पिच भत्किएको हो ।’ उनले दोस्रो चरणको पिच गर्ने काम बाँकी रहेकाले ठेकेदार कम्पनीले दोहोर्‍याएर कालोपत्रको काम गर्ने बताए ।

सल्लीबजार–चौरजहारी सडकमा २०५९ मा सेनाले ट्रयाक खोलेको हो । ४२ किलोमिटर दूरीको सडकमा सरकारले बर्सेनि मर्मतको नाममा करोडौं रकम खर्च गरे पनि स्थानीयवासी हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?